PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

आर्थिक वर्ष सकिन १४ दिन बाँकी छँदा नयाँ योजनामा गण्डकी सरकारको १६ करोड, कार्यान्वयनमा उठ्यो प्रश्न



रिना थापा

आर्थिक वर्ष सकिन १४ दिन बाँकी छँदा नयाँ योजनामा गण्डकी सरकारको १६ करोड, कार्यान्वयनमा उठ्यो प्रश्न
फाइल फोटो।

पोखरा : गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष सकिन १४ दिन बाँकी रहँदा १६ करोड रुपैयाँ रकमान्तर गरेको छ। अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रवार नयाँ योजना र बजेट सम्बन्धी निर्णय गरी १६ करोड रुपैयाँ विनियोजन गरेका हुन्।

प्रदेश सरकारले १३० नयाँ योजनाका लागि भन्दै १६ करोड रुपैयाँ विनियोजन गरेको छ। १३० योजनाका सूचीमध्ये ८३ वटा आयोजना भौतिक पूर्वाधार मन्त्रालयको छ।

यस आर्थिक वर्षमा सम्पन्न योजनाका भुक्तानी गर्नुपर्ने समयमा प्रदेश सरकारले गरेको बजेट रकमान्तरमाथि प्रश्न उठेको छ। कोष तथा लेखा नियन्त्रकको कार्यालयले चालु आर्थिक वर्षको भुक्तानी गर्न २५ गतेको समयसीमा दिएको छ। कार्यालयले जम्मा १० दिनमा योजना सम्पन्न गर्न नसकिने सुझाएको छ।

गण्डकी प्रदेश सरकारले अन्तिम समयमा ठूलो रकम विनियोजन गर्दा लेखा नियन्त्रक कार्यालय गण्डकी प्रदेशका प्रमुख इन्द्रप्रसाद पौडेल भने आफूलाई यस विषयमा प्रष्ट थाहा नभएको बताउँछन्। प्रमुख पौडेलले रकमान्तरका विषयमा आफूलाई प्रष्ट थाहा नभएपनि अन्तिम समयमा रकमान्तर गर्नु सहि नभएको बताउँछन्।

‘२५ गते हाम्रो खाता बन्द हुने समयसँग अब यो ठूलो-ठूलो रकमान्तर यदि भएको छ भने अहिले गरेर कहिले सक्ने?’, पौडेलले भने, ‘त्यो यदि कार्यान्वयन हुन सक्ने होकि होइन? कार्यान्वयन हुन नसक्ने हो भने चाहिँ अब अन्तिम समयमा यत्रो रकम रकमान्तर कसरी भयो? मलाई थाहा भएन।’

प्रदेश सरकारको उक्त कदममा मन्त्री पनि असहमत छन्। विनाविभागीय मन्त्री हरिशरण आचार्यले मुख्यमन्त्रीले आफ्नो निर्णयमा रकमान्तर गरेको बताए।

उनले भने, ‘मलाई त यस विषयमा मिडियामा समाचार आइसकेपछि थाहा भएको हो। माओवादी र कांग्रेसले आफ्नै हिसाबले गरे वा कसरी गरे त्यो बजेट गएपछि मात्र हामीलाई थाहा भयो।’

प्रदेश सरकारले रकमान्तर गर्नु अगावै आफूले यस विषयमा अलिकति मेसो पाएर गलत रहेको भन्दै सम्झाएको मन्त्री आचार्यको भनाइ छ।

‘मैले यसअघि अलिकति सुइँको पाएँ, यो गलत छ भन्दाभन्दै कार्यकर्ता लिएर जानुपर्छ भन्ने हिसाबले उहाँहरु जानुभयो, अथवा कसरी के गर्नुभयो थाहा भएन,’ उनले भने।

कांग्रेस सरकारमा आएपछि एक्सन लिनुपर्छ भन्ने बुझाइ रहेको हो कि भन्नेमा आफू अलमलमा रहेको मन्त्री आचार्य बताउँछन्। यस विषयमा थप बुझ्न खोज्दा प्रदेश सरकारका प्रवक्ता तथा मन्त्री कुमार खड्काको फोन भने उठेन।

उसो त पोखरेल सरकारले मात्र होइन यसअघि पनि केन्द्रदेखि प्रदेश सरकारले आर्थिक वर्षको अन्तिम असार महिनामा बजेट रकमान्तर गर्दै आएका छन्। आर्थिक र वित्तीय अनुशासनका हिसाबले अन्तिम समयमा हुने ठूलो बजेट रकमान्तर राम्रो नहुने अर्थविद् बताउँछन्।

यसरी रकमान्तर भएका बजेट पूर्व तयारी नभएका आयोजनामा खर्च हुन्छ। रकमान्तर बजेट उपभोक्ता समिति र ठेक्का-पट्टामा खर्च गर्न सहज र सरल हुन्छ। रकम खर्चलाई मात्र प्राथमिकतामा राखेर, कामको गुणस्तर नहेरी अन्तिम समयमा विनियोजन भएको बजेट दुरुपयोग हुने सम्भावना पनि बढी हुने अर्थविद्हरुको बझाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell