PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

किन बढिरहेको छ तरकारीको मूल्य ? किलोमा ३० रुपैयाँसम्म बढ्यो



सरला सुवेदी

किन बढिरहेको छ तरकारीको मूल्य ? किलोमा ३० रुपैयाँसम्म बढ्यो

काठमाडौंः पछिल्लो समय तरकारीको मूल्य बढ्न थालेको छ।

सिजन अनुसार तरकारीको उत्पादन हुँदा यसको असर मूल्यमा पर्ने गरेको हो। हाल अफसिजनका कारण तरकारीको आपूर्तिमा उतारचढाव हुँदा तरकारीको भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ।

निषेधाज्ञा खुकुलो भएसँगै हाल बजारमा चहलपलह बढ्न थालेको छ। अहिले बजार बेलुकीसम्म खोल्न पाइने हुनाले तरकारीको खपत बढ्न थालेको छ। तर तरकारीको आपूर्तिमा कमी आएकाले मूल्य पनि सातामै प्रतिकेजी २ रुपैयाँबाट ३० रुपैयाँसम्म बढेको समितिका सुचना अधिकारी विनय श्रेष्ठले बताए।

केही समय तरकारीको मूल्य उकालो लाग्ने उनको आँकलन छ।  

'बजारमा तरकारीको उत्पादन र आपूर्तिका आधारमा मूल्य निर्धारण गरिन्छ। धेरै आपूर्ति भए मूल्य घट्छ र थोरै आपूर्ति भए मूल्य बढ्छ,'सुचना अधिकारी श्रेष्ठले भने।

यति बेला ठूलो परिमाणमा तरकारी उत्पादन हुँदैन।  उत्पादन कम भएपनि बजारको माग धानिरहेको उनले जानकारी दिए। हाल दैनिक ५ सय देखि ६ सय टनसम्म स्वदेशी उत्पादन हुने गरेको छ भने भारतबाट पनि आलु प्याज कागती लगायतका तरकारी आयात भैरहेको उनले बताए।

केही अघि निषेधाज्ञा कडा भएकोले तरकारीको खपत र मूल्य दुबै बढ्न सकेको थिएन। गत सातादेखि निषेधाज्ञा खुकुलो हुँदा बजारमा तरकारीको खतप सँगै मूल्य पनि बढ्न थालेको थियो। अहिले यति बेला उत्पादन हुने घिरौला, बोडी, स्कुस र कुरिलोको भाउमा भने केही कमी आएको छ।

स्वदेशी तरकारीको सिजन सकिन थालेपछि मूल्य बढेको हो। वर्षा याममा तरकारीको उत्पादन कम हुन्छ। हरेक वर्ष अफसिजनको समयमा तरकारीको मूल्य बढ्ने गरेको छ।

हाल बजारमा  भिण्डि प्रतिकेजी ६५ रुपैयाँबाट ८० रुपैयाँसम्म पुगेको छ भने घिरौला प्रतिकेजी ६० रुपैयाँबाट प्रतिकेजी ७० रुपैयाँ कायम भएको छ।

यस्तै तने बोडी ५० रुपैयाँबाट प्रतिकेजी ७० रुपैयाँ नाघिसकेको छ भने भन्टा ३५ रुपैयाँबाट ४० रुपैयाँ पुगेको छ। हरियो फर्सी ५० रुपैयाँबाट ६० रुपैयाँ भएको छ। ब्रोकाउली  प्रतिकेजी १ सय २० बाट प्रतिकेजी १ सय ५० रुपैयाँ पुगेको छ।

सिजनका तरकारीको मूल्य भने केही कमी भएको छ। ठूलो गोलभेडाको मूल्य प्रतिकेजी ५ रुपैयाँले घटेर प्रतिकेजी ६० रुपैयाँ भएको छ। यस्तै बन्दाको मूल्य एक सातामा प्रतिकेजी ७० रुपैयाँबाट घटेर प्रतिकेजी ४५ रुपैयाँ भएको छ।

भटमास ११० रुपैयाँबाट एक सय रुपैयाँ,  प्याज प्रतिकेजी ५५ रुपैयाँबाट ५२ रुपैयाँ,  सानो र टनेलको  गोलभेडा प्रतिकेजी ३० रुपैयाँ र ३७ रुपैयाँमा रहेको छ । त्यस्तै प्रतिकेजी ६ सय रुपैयाँ रहेको कुरिलोको मूल्य अहिले  घटेर ३ सय ५० देखी ४ सय रुपैयाँमा आइपुगेको छ।  कतिपय तरकारीको मूल्य भने घट्ने बढ्ने भएको छैन।

बजारमा स्वदेशी उत्पादन आलु भित्रिन थालेपछि मूल्य पनि घट्न थालेको पाइएको छ।

उत्पादनको सिजन नभएकोले बजारमा भट्मास, टाटे सिमी,गाजर, काउली, घिउ, सिमीको,  बन्दा लगायतका तरकारीको मूल्य बढ्न थालेको थियो भने यस बाहेकका  घिरौला, करेला ,फर्सी , लौकाको र कुरिलो सिजन भएकोले मूल्य घट्न  थालेको छ। तरकारीहरुको उत्पादन सकिन थालेपछि सातामा ५० रुपैयाँसम्म मूल्य बढ्ने क्रम रहेको सुचना अधिकारी श्रेष्ठले बताए।

गत सातासम्म बजारमा थोक कारोबार मात्र भइरहेको थियो। गत आइतबारदेखि थोकसँगै खुद्रा कारोबार सुरु भएको छ। खुद्रा किन्ने उपभोक्ताहरुको चलहपल बढ्न थालेपछि खपत बढेको देखिएको हो।

सामान्य अवस्थामा दैनिक ८ सय टन भन्दा बढी तरकारीको बजारमा भित्रिने गरेकोमा निषेधाज्ञा अवधिभर दैनिक ६ सय टनसम्म तरकारी भित्रिदै आएको थियो।

उत्पादन कम भएका कारण गत वर्ष जस्तो तरकारीको मूल्यमा कमी आएन।  निषेधाज्ञाको समयमा दैनिक ३ सय भन्दा माथि तरकारीको खपत भएको थियो। तरकारी बजार मात्र होइन बाहिर बजार समेत सिमित समयमात्र खुलेपछि आपूर्ति अनुसार तरकारीको खपत भएन।

अहिले कालिमाटी बजारमा किसान बजार बन्द छ। निषेधाज्ञाले किसान बजार खुल्न सकेको छैन। लकडाउन खुलेपछि समितिले कृषक बजारलाइ भने निरन्तरता दिएको छ। खुद्रा बजार खुलेसँगै उपभोक्ताहरु बढ्न थालेको समितिले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell