PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

वाग्मती प्रदेशसभामा ३ वटा विधेयक पेश, प्रदेश सरकारले सञ्चारगृह चलाउन खोजेकोमा सांसदको आपत्ति



निशा गुरुङ

वाग्मती प्रदेशसभामा ३ वटा विधेयक पेश, प्रदेश सरकारले सञ्चारगृह चलाउन खोजेकोमा सांसदको आपत्ति

हेटौँडा : वाग्मती प्रदेशको बिहीवारको प्रदेशसभा बैठकमा ३ विधेयक पेश भएका छन्। बैठकमा अर्थ तथा विकास समितिका सदस्य सांसद विजय सुवेदीले सार्वजनिक सडक तथा परिवहनसम्बन्धी समितिको प्रतिवेदनसहितको विधेयक पेश गरेका हुन्।

त्यस्तै, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री सरेश नेपालले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सामाजिक विकास मन्त्री सरस्वती बस्नेत प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरेकी छिन्। बैठकमा आन्तरिक मामिला तथा योजना मन्त्री केशवराज पाण्डेले प्रदेशका विभिन्न जिल्लामा वर्षाका कारण भएको जनधनको क्षति र उद्धार कार्यबारे जानकारी दिएका थिए।

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले सिन्धुपाल्चोकमा गएको असार १ गते आएको बाढी तथा पहिरोले २ सय ९३ घरपरिवार विस्थापित र ४ सय ९४ घरपरिवार जोखिममा परेको जानकारी दिएका छन्। मन्त्री पाण्डेले असार १ गते सिन्धुपाल्चोकमा वर्षाको कारण आएको बाढी तथा पहिरोले पाँचपोखरी थाङपालका ६५ परिवार, हेलम्बुमा २ सय ४ परिवार र मेलम्चीमा २४ घरपरिवार गरेर २ सय ९३ घरपरिवार विस्थापित भएको बताए।

यसैगरि, मन्त्री पाण्डेले पाँचपोखरीमा अहिले पनि ४ घर, हेलम्बुमा १ सय २० घर, मेलम्चीमा २० घर र भोटेकोशीमा ३ सय ५० घर गरी ४ सय ९४ घरपरिवार जोखिममा रहेको बताए। मन्त्री पाण्डेले असार १ गतेको बाढी तथा पहिरोमा परि ५ जनाले ज्यान गुमाएको बताए। ज्यान जानेमा चिनियाँ नागरिक र भारतीय नागरिक २/२ जना तथा एक जना नेपाली नागरिक रहेको उनले बताए।

मन्त्री पाण्डेले उक्त बाढीमा अहिलेसम्म २० जना सम्पर्कविहीन रहेको बताए। उनले बाढी आइरहेको अवस्थमा सेना, प्रहरी तथा स्थानीयको सहयोगमा १२३ जनाको उद्धार गरिएको र ५ जना घाइते भएको तथा हाल उपचारपछि स्वास्थ्य अवस्था सामान्य भएको बताए। मन्त्री पाण्डेले सिन्धुपाल्चोकको बाढी तथा पहिरोबाट प्रभावितहरुको लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिए।

उनले प्रभावितहरुको लागि तत्काल प्रदेश सरकारबाट ५० थान टेण्ड र १ सय थान त्रिपाल पठाइएको जानकारी गराए। मन्त्री पाण्डेले असार २ गतेनै प्रदेश विपद् व्यवस्थापनको बैठक बसेर मेलम्ची हेलम्बु क्षेत्र लगायतमा उद्धार सामग्री तथा खाद्यन्न पुर्‍याउने काम गरेको बताए।

त्यसैगरी, मन्त्री पाण्डले बैठकमा प्रदेशस्तरीय तत्काल विपद् व्यवस्थापनको लागि प्रदेश सरकारले ५ करोड रुपैयाँ दिने निर्णय गरेको जानकारी गराए।

मन्त्री पाण्डेले भने, ‘तत्काल विपद् व्यवस्थापनको लागि प्रदेश सरकारले ५ करोड रुपैयाँ दिने निर्णय गरेको छ। जसमा १ करोड रुपैयाँ सिन्धुपाल्चोकको विपद् व्यवस्थापन समिति मार्फत खर्च हुने, सिन्धुपाल्चोक, चितवन रसुवामा ५०/५० लाख रुपैयाँ भौतिक पूर्वाधार मन्त्रालयको जलस्रोत तथा सिँचाई डिभिजन मार्फत खर्च हुने र बाँकी जिल्लाहरुमा २५ लाखको दरले सोहि डिभिजन मार्फत खर्च हुने गरी रकम पठाएका छौँ।’

त्यसैगरी, वाग्मती प्रदेशका सांसद प्रभात तामाङले सरकारको बजेटको राजस्व र व्यय अनुमान काल्पनिक भएको बताएका छन्। प्रदेश सभामा उनले चालू आर्थिक वर्षको ५२ अर्बको बजेटमा ३२ प्रतिशत खर्च भएको देखिएकोले असारसम्ममा ८६ प्रतिशत खर्च हुन्छ भनेर प्रक्षेपण गर्नु काल्पनिक भएको बताए। उनले असारसम्ममा बढी खर्च भए ६० प्रतिशत मात्रै खर्च हुने देखिएको दावी गरे।

उनले आगामी आर्थिक वर्ष ०७८/०७९ मा ३१ अर्ब मात्रै खर्च गर्न सक्ने भन्दै ५७ अर्ब बजेट काल्पनिक भएको बताए। उनले सरकारले राजस्व उठाउन र खर्च गर्न नसक्ने भन्दै आय र व्यय दुवै अनुमान सक्षम नभएको दावी गरे। राजस्व अनुमान बढाएर ल्याए पनि आर्थिक विधेयक गत वर्षकै हुबहु रहेको उनको भनाइ छ।

त्यस्तै, सांसद बुद्धिमान माझीले वाग्मती प्रदेश सरकारले सञ्चारगृह चलाउन खोजेकोमा आपत्ति जनाए। उनले सरकारले सञ्चारगृह चलाउन नहुने बताए। बजेटमा सञ्चारमाध्यमको प्रवर्द्धन गर्नुको सट्टा प्रदेश सरकार सञ्चार क्षेत्रलाई लगाम लगाउने कामतर्फ अग्रसर भएको भन्दै उनले निन्दा गरे।

सरकारले सञ्चारगृह सञ्चालन गरेर प्रेस स्वतन्त्रता खोस्ने काम थालेको उनको भनाइ छ। उनले प्रदेश सरकारले सञ्चारगृह सञ्चालन गर्ने बुँदा फिर्ता गर्न अपिलसमेत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell