काठमाडौं : नेकपा एमालेको असन्तुष्ट समूहले शुक्रवारको बालुवाटारको बैठक बहिष्कार गर्ने निर्णय गरेको छ। वरिष्ठ नेता माधव कुमार नेपाल-झलनाथ खनाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने निष्कर्ष निकालेको हो।
बानेश्वरमा बसेको नेपाल-खनाल समूहको स्थायी कमिटीको बैठकले अहिलेकै अवस्थामा बैठकमा सहभागी नहुने निर्णय गरेको स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए।
‘महाधिवेशन आयोजक कमिटीले बोलाएको बैठक हो। त्यो वैधानिक छैन्। त्यसमा हामी सहभागी हुँदैनौँ,’ उनले भने।
बैठक बहिष्कार गर्ने निर्णय सर्वोसम्मत भएको ज्ञवालीले बताए। वार्ताको प्रयास जारी राख्ने र सहमतिका लागि औपचारिक वार्ता टोली गठन गर्नुपर्ने नेपाल-खनाल समूहको माग छ।
कुनै औपचारिक छलफलबिना बैठक बोलाइएको भन्दै नेपाल-खनाल समूहले आक्रोश व्यक्त गरेको छ। सहमतिका लागि प्याकेजमा वार्ता गर्नुपर्ने ज्ञवालीले बताए। ओलीले बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकबाट केन्द्रीय कमिटीको बैठक बोलाएका थिए।
ओलीले एमालेलाई माओवादी-एमाले एकता अघिकै अवस्थामा फर्काउन भन्दै केन्द्रीय कमिटीको बैठक बोलाइएको भएपनि पूर्व माओवादीका नेताहरुलाई समेटेर केन्द्रीय कमिटी बनाएका हुन्। २६४ जनाको महाधिवेशन कमिटीलाई नै केन्द्रीय कमिटीमा रुपान्तरण गरिएको थियो। नेपाल-खनाल समूहले ओली जेठ २ मा नफर्किएर आफ्नो पुरानो निर्णय २०७७ फागुन २८ मा फर्किएको आरोप लगाएको छ।
