विश्व फुटबलको महारथी जर्मनी जारी युरो कपको अन्तिम १६ बाट बाहिरी सकेको छ। र, यो सँगै १५ वर्ष जर्मनीको प्रशिक्षण सम्हालेका योआखिम लो पनि प्रशिक्षकको जिम्मेवारीबाट बाहिरिएका छन्। लामो समयसम्म जर्मनीको टिमको कन्सिस्टेन्सीलाई जोगाएर राखेका उनले सन् २०१४ मा जर्मनीलाई विश्वकपको उपाधिसमेत दिलाउन सफल भएका थिए। जारी युरो कपमा जर्मनीले इङ्ग्याण्डविरुद्ध खेल्दा ल प्रशिक्षकका रुपमा १९८ औं र अन्तिम खेलमा थिए।
उनले खेलाएका खेलमध्ये १२४ त जित नै थियो। ४० बराबरी र ३४ पराजय ब्यहोर्यो।
उनको प्रशिक्षणमा सबैभन्दा माथिल्लो स्तरको उपाधि सन् २०१४ को विश्वकप हो। त्यतिबेला सेमिफाइनलमा ब्राजिलमाथिको ७-१ को फराकिलो जितले निकै चर्चा पाएको थियो। तर सन् २०१८ को रसिया विश्वकपमा भने जर्मनी समूह चरणबाटै बाहिरिन पुग्यो।
जर्मनीको राष्ट्रिय टिमलाई सबैभन्दा लामो समय प्रशिक्षण दिने दोस्रो प्रशिक्षकको रेकर्ड पनि बनाए उनले। सन् २००६ देखि २०२१ सम्म १५ वर्ष प्रशिक्षण सम्हाले। यद्यपि खेलका हिसाबले भने उनी नम्बर वान प्रशिक्षक बने।
'यो १५ वर्षमा धेरै कुरा यस्ता छन् जो धेरै सकारात्मक छन्,' ६१ वर्षे ल ले भने, 'हामीले छिटो विकास गर्न सक्यौं, २०१४ को विश्वकप जित्यौं, त्यस्तै सन् २०१७ मा युवा खेलाडीलाई जितेर कन्फिडरेसन कप जित्यौ।'
यद्यपि सन् २०१८ यता जर्मनीले केही नराम्रा नतिजा पनि सामना गर्यो। खासगरी स्पेनसँगको ६-० को पराजयले पनि उनलाई प्रशिक्षकको भूमिकाबाट बाहिरिने सोच दियो। र, मार्चमा उनले घोषणा गरे: युरो कप २०२० उनका लागि अन्तिम प्रतियोगिता हुनेछ।
योसँगै अब जर्मनीको प्रशिक्षक बन्नेछन् बायर्न म्युनिखका पूर्व प्रशिक्षक हान्सी फ्लिक।
'महत्वकांक्षा, इच्छाशक्ति र फाइटिङ स्पीरिटको कमी भएको देखिएको थियो,' सन् २०१४ को विश्वकप विजेता लुकास पोडेलस्कीले भनेका छन्,' यो अन्धकारमय लागिरहेको छ। खेलाडीको अनुहारमा हेर्दा लाग्छ- केही पनि भइरहेको छैन।'
प्रशिक्षकका रुपमा ल
युरो कप २००८: फाइनल
विश्वकप २०१० : सेमिफाइनल
युरो कप २०१२: सेमिफाइनल
विश्वकप २०१४: विजेता
युरो कप २०१६: सेमिफाइनल
कन्फिडरेसन कप २०१७: विजेता
विश्वकप २०१८: समूह चरण
युरो कप २०२०: अन्तिम १६
आइकन
खेलाडीका रुपमा अधिकांश समय दोस्रो डिभिजनमा बिताएका उनी राष्ट्रिय टोली प्रशिक्षणमा सन् २००४ मा योर्गेन क्लिन्स्मनको एसिस्टेन्ट कोचका रुपमा आएका थिए। सन् २००६ मा मुख्य प्रशिक्षकको जिम्मेवारी पाएपछि उनले सन् २००८ को युरोमा जर्मनीलाई फाइनलसम्म पुर्याउन सफल भए। त्यस्तै सन २०१० को विश्वकप र २०१२ को युरो कपमा सेमिफाइनलसम्म टिमलाई पुर्याएका उनले २०१४ को विश्वकप उपाधि दिलाउन सफल भए। उनको प्रशिक्षणमा रक्षात्मक खेल खेल्ने जर्मनीलाई फास्ट टेम्पोमा खेल्ने टिम बनाए।
त्यसपछि त जर्मनीमा उनी आइकन बन्न थाले। विज्ञापनहरुमा उनी देखिन थाले। निभियाको स्किन केयरलगायतका विज्ञापनमा उनी देखिए।
त्यस्तै २०१६ को युरोमा सेमिफाइनलसम्मको यात्रा जर्मनीले गर्यो। लगत्तै २०१७ मा कन्फिडरेसन कपको उपाधि जर्मनीले उचाल्यो। २०१८ को विश्वकपमा भने जर्मनीको प्रदर्शन बिर्सन लायक रह्यो। विश्वकपको साबिक विजेता समूह चरणबाटै बाहिरियो। र, ल को अन्तिम प्रतियोगिता युरो कप २०२० मा अन्तिम १६ बाट जर्मनी बाहिरियो।
पछिल्लो समयमा भने ल ले आफ्नो लेगेसी जोगाउन नसकेको बताउँछन् जर्मन फुटबलका जानकार राफेल होनिङस्टेइन भन्छन्: युरो कपको अन्तिम १६ बाट बाहिरिनु जर्मनीका लागि नराम्रो पक्ष हो त्यो भन्दा पनि नराम्रो विश्वकपमा समूह चरणबाटै बाहिरिनु थियो। यो उनको अन्तिम समयको दुखद अभियोग हो।
'१५ वर्षमध्ये पहिलो १० वर्षमा सानदार रह्यो। खासगरी विश्वकप उपाधि। पछिल्लो पाँच वर्ष भने मेरो विचारमा समयको बर्वादी रह्यो,' उनी भन्छन्, 'मलाइ लाग्छ उनले र जर्मन फुटबल एसोसिएसनले पनि महसुस गर्नेछ उनले २०१४ पछि या २०१६ को सुरुमा पछि हट्नु आदर्श हुने थियो।'
