PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

कर्णाली कांग्रेसमा देउवा भर्सेस् पौडेल: महामन्त्री खड्काको उपसभापतिमा दाबी, पदका लागि बाक्लियो काठमाडौं आउजाउ



पी बी खड्का

कर्णाली कांग्रेसमा देउवा भर्सेस् पौडेल: महामन्त्री खड्काको उपसभापतिमा दाबी, पदका लागि बाक्लियो काठमाडौं आउजाउ

सुर्खेत : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै नेतृत्व हत्याउन शीर्ष तहदेखि गाउँका नेताकार्यकर्ता लबिङमा जुटिरहेका छन्। लामो समयपछि हुन लागेको महाधिवेशनमा कांग्रेसभित्र संस्थापन पक्ष र संस्थापन पक्षइतर दुवै खेमा सक्रिय भएका छन्।

जसरी केन्द्रमा सभापतिका लागि गुटगत भेला र छलफल भइरहेका छन्, त्यसैगरी वडादेखि प्रदेशसम्म आन्तरिक रुपमा लबिङ तथा छलफललाई तिव्रता दिएका छन्।

कर्णालीमा दुई खेमाविचको छलफल भइरहेको छ। सभापति शेरबहादुर देउवा पक्षका र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताकार्यकर्ता छुट्टाछुट्टै भेटघाट तथा छलफल गरिरहेका हुन्।

महमान्त्री खड्का उपसभापतिको दाबेदार छन् भने, हृदयराम थानी कुन पदमा दावी गर्ने माथिल्ला तहका नेताहरुसँग लबिङमा छन्। केन्द्रिय तहको नेतृत्वमा पुग्न कर्णालीबाट महामन्त्री खड्का, थानी, शिवराज जोशी, जीवनबहादुर शाही, राजीवविक्रम शाह लगायतका दर्जन बढी नेताहरु अहिले लबिङमा छन्।

‘संगठनमा आवद्ध भइसकेपछि नेतृत्वमा जान खोज्नु र चाहना हुनु स्वभाविक हो’ कांग्रेसका एक नेता भन्छन्, ‘महाधिवेशनमा नगरेको दौडधुप कहिले गर्ने, केन्द्रीय नेतृत्वमा जान चाहेका नेताहरु काठमाडौंमा आउनेजाने भइरहेको छ ।’

उनका अनुसार तल्लो वडा तहदेखि कन्द्रिीय तहका नेताहरु महाधिवेशनमा केन्द्रित हुन सुरु गरेका छन्।  वडा, गाउँ तहमा आ–आफ्नो पक्षका कार्यकर्ताहरुमाझ भेला, छलफल र अन्र्तक्रियाका लागि पुगेको उनी बताउँछन्।

सभापति देउवा पक्षका महामन्त्री खड्का र वरिष्ठ नेता पौडेल पक्षका केन्द्रीय सदस्य थानी पक्षवीचका नेता कार्यकर्ता जिल्लाको नेतृत्वका लागि दौडधुप सुरु गरेका छन्, भने, केन्द्रीय नेतृत्वका लागि महामन्त्री खड्का र सदस्य थानी केन्द्रमा शीर्ष नेताहरुसँग लबिङमा जुटिरहेका छन्।

केन्द्रीय नेतृत्वका लागि दौडधुप चले पनि प्रदेश, जिल्ला, क्षेत्र, लगाएतका नेतृत्वका लागि भने सदस्यताको टुंगो लागेमात्रै थप पेचिलो बन्ने छ। यद्यपि, अहिले पनि आन्तरिक छलफलमा भने जुटिरहेकै छन्।

‘महाधिवेशनका लागि सामान्य छलफल हुने नै भयो,’ सुर्खेतका कांग्रेस जिल्ला सभापति कमलराज रेग्मी भन्छन्, ‘अहिले नै दौडधुप भन्दा पनि क्रियाशिल सदस्यताको बाँकी काम टुंगियो भने नेतृत्वका लागिको अगाडी बढ्ने त्यसपछिको कुरा हो।’ अगाडि थप्छन्, ‘अहिले नै को कुन पदका लागि उठ्ने त्यस्तो केही टुंगो छैन।’

जिल्ला नेतृत्वका लागि आधा दर्जन आकंक्षी

जिल्लाको नेतृत्वका हाकिरहेका रेग्मी पुनः नेतृत्व हत्याउने दाउमा लागेका छन् भने, प्रदेशसभा सदस्य यज्ञबहादुर विसीसमेत नेतृत्व लिने कसरतमा छन्। रेग्मी थानी पक्षका हुन भने, विसी महामन्त्री खड्का पक्षका।

सामाजिक विकास मन्त्रीसमेत रहेका विसीको नाम टप वानमा छ भने, उनले उम्मेदवारी नदिए उनीपछि वर्तमान पार्टी सचिव टोपबहादुर रावत, यसअघि प्रदेशसभाको निर्वाचनमा पराजित भएका झकबहादुर डाँगी, युवा नेता निरन्जन केसी लगाएतका व्यक्ति आकांक्षी देखिएका छन्।

पार्टीको क्रियाशिल सदस्यता टुंगियो भने थप नेतृत्वमा जाने आकांक्षी बढ्ने पार्टीभित्र आंकलन गरिएको छ। दुई वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा क्षेत्रीय सभापतिका लागि दुवै पक्षका नेताहरु भिड्ने तयारीमा छन्।

निर्वाचन क्षेत्र नम्बर एकमा महामन्त्री खड्का पक्षबाट वर्तमान सभापति खड्ग पोखरेलले उम्मेदवार नबने गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन आकांक्षी देखिएका छन् भने, थानी पक्षबाट वर्तमान कोषाध्यक्ष अनन्तराज पौडेल क्षेत्रीय सभापतिका लागि आकांक्षी छन्।

त्यस्तै, क्षेत्र नम्बर दुईको सभापतिका लागि महामन्त्री खड्का पक्षका लालवीर भण्डारी सभापतिमा दोहोरीने भन्दै लबिङमा छन् भने, सोही पक्षबाट थप अन्य दुई जना नेताहरु समेत लबिङ सुरु गरिसकेका छन्। यता, थानी पक्षबाट सभापतिका लागि नारायण कुमार कोइरालाले दावी गरिरहेका छन्। उनी उपसभापति समेत हुन्। जिल्ला र क्षेत्रीय नेतृत्वका लागि नेताहरु गाउँ घर चहार्दै आइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell