PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अविरल वर्षा : पर्सा जिल्ला समन्वय समितिको कार्यकक्षमै पस्यो पानी



राधेश्याम पटेल

अविरल वर्षा : पर्सा जिल्ला समन्वय समितिको कार्यकक्षमै पस्यो पानी

वीरगंज : अविरल वर्षाका कारण जिल्ला समन्वय समिति समन्वय समिति पर्साको कार्यालयका भुँइतल्लामा रहेको कार्यकक्षमा पानी पस्न थालेको छ। बर्खा र नालाको पानी कार्यकक्षमा पसेपछि दैनिक कामकाज असहज बनेको छ।

कार्यालय मर्मत सम्भार गर्न नसक्दा यस्तो स्थिति सिर्जना भएको निमित्त जिल्ला समन्वय अधिकारी छबीरमण भट्टराईले बताए। कार्यालय सञ्चालनको लागि तीन वटै सरकारले चासो नदिएको भट्टराईको भनाई छ। ‘कार्यालय पूर्ण रुपमा जीर्ण छ, बर्खामा पानी पनि चुहिन्छ, सिलिङबाट सिमेन्टको डल्ला पनि खस्छ,’ उनले भने, ‘एक घण्टा पानी परे सबै कोठामा २ फिट पानी जम्छ।’

यस्तो अवस्थामा काम गर्न निकै कठिनाई हुने गरेको उनी बताउँछन्। समितिकै कार्यालय परिसरमा रहेको भूमि सम्बन्धी आयोगको जिल्ला कार्यकक्षमा पनि पानी पसेको छ। सरकारले कार्यालय सञ्चालन खर्च, कर्मचारीको तलब भत्ता, तथा पदाधीकारीको तलब भत्ता मात्रको वार्षिक थोरै बजेट भएकोले कार्यालय मर्मत वा नयाँ निर्माण गर्न नसकिएको भट्टराईको भनाई छ।

प्रदेश २ का आठ जिल्लामा केही जिल्लामा नयाँ भवन निर्माण भए तपानि पर्सामा जिविसको पुरानै भवनबाट काम गर्नु पर्दा समस्या भएको कर्मचारीहरु बताउँछन्। जिल्ला समन्वय समितिमा अहिले कार्यालय प्रमुखमा उपसचिव, शाखा अधिकृत, नायब सुब्बा, लेखापाल, खरिदार, इन्जिनियर, सब इन्जिनियर १–१ जना, कार्यालय सहयोगी र चालक ३–३ जना गरी कुल १३ जना कर्मचारी रहेका छन्। जिल्ला समन्वय समितिले जिल्लामा लाग्ने खोलाको टेण्डरमा अनुगमन, संघीय सांसदका वार्षिक ४ करोडको बजेट खर्चको लागि योजना छनौट प्रकृयालगायत कामहरु मात्र गर्ने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell