काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको आग्रहलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन्।
बालुवाटारमा केन्द्रीय कमिटीको बैठक सुरु हुनु अघि एमालेको माधवकुमार नेपाल समूहका नेता सुरेन्द्र पाण्डे, भीम आचार्य लगायतले अध्यक्ष ओलीलाई भेटेर बैठक रोक्न आग्रह गरेका थिए। तर अध्यक्ष ओलीले भने बैठक नरोकिने बताएपछि नेपाल समूहले पनि बैठकमा सहभागी हुन नसक्ने जवाफ फर्काएको थियो।
ओली निकट नेताहरूका अनुसार सहमतिका लागि केही भाषा मिलाउन मात्रै बाँकी रहेको भन्दै नेपाल समूहका नेताहरूले ओलीलाई आग्रह गरेका थिए। तर, ओलीले बैठक रोक्न नसकिने अडान लिएका छन्।
ओलीको अडानपछि एमालेको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ। हलमा ठाउँ नभएपछि पालभित्र बैठक सुरु भएको हो। पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार एमालेका उपाध्यक्ष बामदेव गौतम भने बैठकमा सहभागी भएका छन्।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल समुहले बिहीबार स्थायी कमिटीको बैठक मार्फत बालुवाटारको बैठक बहिष्कार गर्ने निर्णय गरेका थिए। अध्यक्ष ओलीले एमालेको २०७५ जेठ ३ गतेको माओवादीसँगको एकताअघिको केन्द्रीय कमिटीको बैठक बोलाएको दाबी गरिरहेका छन्।
नेपाल समूहले भने २६४ जनाको महाधिवेशन कमिटीलाई केन्द्रीय कमिटी भन्न नमिल्ने भन्दै उक्त कमिटीलाई अवैधानिक भएको आरोप लगाएको छ। एकता अघि एमालेको केन्द्रीय कमिटी सदस्य सङ्ख्या २४१ रहेको थियो। ओलीले फागुन २८ गते माओवादीबाट आएका २३ जनालाई थपेपछि महाधिवेशन आयोजक कमिटीको २६४ सदस्यीय छन्।
