काठमाडौं : केही दिनदेखि देशभर भइरहेको अविरल वर्षासँगै आएको बाढी पहिरोमा परेर जेठ ३० गतेदेखि आज बिहानसम्म ३४ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले उपलब्ध गराएको तथ्याङ्क अनुसार मृत्यु हुनेहरूमा १९ जना पुरुष, ९ जना महिला, ३ जना बालक र ३ जना बालिका रहेका छन्।
बाढी पहिरोमा परेर सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पामा ३ जना, चितवन, तनहुँ, प्युठान र रौतहटमा २/२ जना, ललितपुर, सप्तरी, काभ्रे, सिन्धुली, गोरखा, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १/१ जनाको मृत्यु भएको छ।
त्यसै गरी ४४ जना घाइते भएका छन् । तीमध्ये २४ जना पुरुष, ११ जना महिला, ६ जना बालक र ३ जना बालिका रहेका छन्। उनीहरूमध्ये तनहुँमा १० जना, सिन्धुपाल्चोक र रोल्पामा ५/५ जना, म्याग्दी, सर्लाही, कास्की र डोटीमा ३/३ जना, जुम्ला र गोरखामा २/२ जना, पाँचथर, रौतहट, स्याङ्जा, चितवन, हुम्ला, अछाम, दार्चुला र सल्यानमा १/१ जना रहेका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ।
बाढी पहिरोमा परी २४ जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ १५ जना पुरुष, ६ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन्। उनीहरूमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना र बाजुरामा १ जना रहेका छन्।
