PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

६ बुँदे प्रस्ताव पारित गरेको एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी नेताले के भने?



प्रकाश भण्डारी

६ बुँदे प्रस्ताव पारित गरेको एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी नेताले के भने?

काठमाडौं: नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठक भोलि (शनिवार) फेरि बस्ने गरी सकिएको हो।

आजको बैठकले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि एमालेका पूर्व सांसदहरूले गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ। हस्ताक्षर फिर्ता लिनका लागि नेपाल पक्षका नेताहरुलाई दुई दिनको 'अल्टिमेटम' समेत दिइएको बैठकमा सहभागी नेताले जानकारी दिएका छन्।

वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूहका २३ सांसदले अदालतमा रिट दर्ता गराउन हस्ताक्षर गरेका थिए। उक्त हस्ताक्षर फिर्ताका लागि बैठकले निर्देशन दिएको हो।

बैठकमा कसले के भने?

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालाई आफूले एकता र सहमति गर्नका लागि भेट्न आग्रह गरे पनि अस्वीकार गरेको गुनासो गरेका थिए।

स्थायी कमिटी सदस्य सुवास नेम्वाङले ओलीले हिजो (बिहिबार) राति १० बजे नेपाललाई फोन गरेको बताए।

'मैले फोन गरेर भेटौँ भने तर नेपालले तपाईंको फोन नै उठाउने मन थिएन भन्नुभयो,' ओलीलाई उद्धृत गर्दै नेम्वाङले भने।

यस्तै ओलीसँग असन्तुष्ट रहँदै एमालेको एकता चलाइरहेका उपाध्यक्ष वामदेव गौतम पनि  बैठकमा सहभागी भएका थिए। उनले एमाले एकताको जिम्मा आफूलाई दिन आग्रह गरेका थिए। बालुवाटारमा आइसेकेकाले अब फर्केर नजाने गौतमले बताए। अध्यक्ष ओलीले पनि गौतम आइसकेकाले फेरि आउँदिन नभन्न आग्रह गरेका थिए।

यस्तै बैठकमा ओलीले कोभिड-१९ को खोपको बारेमा पनि ब्रिफिङ गरेका थिए। दुई दिनपछि खोप आउने अध्यक्ष ओलीको दाबी थियो।

६ बुँदे प्रस्ताव पारित

केन्द्रीय सदस्य विशाल भट्टराईका अनुसार बैठकले ६ बुँदे प्रस्ताव पारित गरेका छ।  उनले पार्टीका अग्रजप्रति बैठकले सम्मान व्यक्त गरेको बताए। यस्तै, बाढी पहिरोबाट ज्यान गुमाउनेहरु प्रति श्रद्धासुमन, घाइतेहरूको स्वास्थ्य लाभको कामना र विस्थापितहरुको दिगो पुनर्स्थापना गर्ने प्रस्ताव पनि बैठकले पारित गरेको छ।

वरिष्ठ नेता झलनाथ खनालको शीघ्र स्वास्थ्य लाभको कामना र पार्टीको तर्फबाट उपचार खर्चको व्यवस्था गरिने प्रस्ताव पनि पारित भएको छ।

पार्टीको आन्तरिक समस्या समाधानका लागि सहमतिको वातावरण बनाउनका लागि आह्वान गर्ने बैठकले निर्णय गरेको उनले बताए। चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्ष पुरा गरेको धन्यावाद ज्ञापन बैठकले गरेको छ।

आजको बैठकमा गौतम समूहमा रहेका केन्द्रीय सदस्य हरि पराजुली, नेपाल समूहका नेता तथा केन्द्रीय सदस्य गणेश पहाडी लगायतका नेता पनि उपस्थित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell