PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

ओलीले नेपाललाई दिन खोजेको सन्देश के? बालुवाटारको विश्लेषण, ‘माधव नेपालले नयाँ पार्टी बनाउँछन्’



प्रकाश भण्डारी

ओलीले नेपाललाई दिन खोजेको सन्देश के? बालुवाटारको विश्लेषण, ‘माधव नेपालले नयाँ पार्टी बनाउँछन्’

काठमाडौँ: शुक्रबार नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठकले सात बुँदे प्रस्ताव पारित गर्‍यो। वरिष्ठ नेता झलनाथ खनालको उपचार, बाढी पहिरो, चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्ष पूरा गरेकोमा बधाई ज्ञापन, पार्टी एकताका लागि आह्वान लगायतका प्रस्ताव बैठकमा पारित भएका थिए। केन्द्रीय सदस्य विशाल भट्टराईका अनुसार सहमतिका लागि फेरि पनि आह्वान गर्ने बैठकले निर्णय गरेको छ।

शनिबार बस्नेगरि सकिएको शुक्रबारको बैठकमा महाधिवेशनका मितिका विषयमा छलफल भए पनि निर्णय भने भएन। महाधिवेशनको मिति तोक्नेबारे शनिबार निर्णय हुने छ। एमालेको असन्तुष्ट समूह वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल पक्षले बहिष्कार गरेको बैठकमा ओलीसँग असन्तुष्ट रहँदै आएका उपाध्यक्ष बामदेव गौतम भने सहभागी भए।

हस्ताक्षरको बार्गेनिङ

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा नेपालप्रति आक्रोश व्यक्त गरेका थिए। ओलीले आफूविरुद्ध लागेको भन्दै नेपालको आलोचना गरेका हुन्। हस्ताक्षर फिर्ताको सर्त ओलीले बैठकमा पनि दोहोर्‍याएका थिए। जुन जेठ २३ गतेको ओलीको ६ बुँदे प्रस्तावमा पनि उल्लेख गरिएको थियो। एमाले प्रवक्ता प्रदीप ज्ञवालीले हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन बैठकले आग्रह गरेको बताए।

'प्रधानमन्त्री रहनुभएको अध्यक्षलाई हटाएर विपक्षीलाई प्रधानमन्त्री बनाइयोस् भनेर हस्ताक्षर र मुद्दाको पक्ष बनेर सर्वोच्चसम्म जानु संविधान र राष्ट्रको चाहना अनुसार मेल खाँदैन भनेर अध्यक्षले भन्नुभएको छ। सोमबार ५ बजेसम्म हस्ताक्षर फिर्ता लिनुस् भनेर आह्वान गर्नुभएको छ, 'ज्ञवालीले भने।

हस्ताक्षर फिर्ता नलिए पार्टी एक नरहने ओलीको चेतावनी छ। हस्ताक्षर राजनीतिक रूपमा फिर्ता लिएको निर्णय लिनुपर्ने ओली समूहको अडान छ।

'हस्ताक्षर फिर्ता लिनुस् भन्ने कुरा राजनीतिक कुरा हो। यसमा राजनीतिक निर्णय हुनुपर्‍यो,'ज्ञवालीले भने।

हस्ताक्षर फिर्ताका लागि नेपाल समूहले पनि सर्त राखेको छ। ओलीले प्रतिनिधिसभा विघटनको निर्णय गलत भएको भन्दै आत्मालोचना गर्नुपर्ने नेपाल समूहको अडान छ। दुबै समूहका अडान यथावत् भएकाले शुक्रबारको बैठकमा नेपाल समूहले सहभागिता जनाएन।

'भनाई र गराइ एकताका लागि भएन'

एमाले एकताका लागि भन्दै ओली र नेपाल समूहका दोस्रो तहका नेताहरू लामो समयदेखि संवादमा छन्। उनीहरूले एकताका लागि हदैसम्मको लचकता अपनाउनुपर्ने अडान राख्दै आएका छन्। ओली समूहले नेपाल समूहका भनाई र गराइमा भिन्नता भएको आरोप लगाएको छ।

पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले ओलीले हदैसम्मको लचकता अपनाए पनि नेपाल लचक नभएको आरोप लगाए। 'अध्यक्षले आफ्नो तर्फबाट गर्नुपर्ने सबै गर्नुभएको छ। अन्तिमसम्म पनि उहाँले पहल गर्नुहुन्छ। तर एकताका लागि भएका पहलमा एउटाले मात्रै लचक भएर हुन्न,' उनले भने।

ओलीले आफूले बिहीबार नेपाललाई फोन गरेर भेट्न प्रस्ताव गरे पनि नेपालले नमानेको बताएका थिए। नेपालले आफूसँग कुरा गर्ने नचाहेको भन्दै ओलीले बैठकमा नेपाल संवाद चाहने मान्छे नभएको आरोप लगाएको केन्द्रीय सदस्य विशाल भट्टराईले बताए।

'हिजो राति फोन गरेर भटौँ भनेँ उहाँले तपाईंको फोन उठाउने इच्छा नै थिएन साथीहरूको बाध्यताले उठाएको हुँ भन्नुभो भनेर अध्यक्षले बैठकमा भन्नुभएको थियो,'उनले भने।

नेपाल समूहका दोस्रो तहका नेताहरू सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्टले शुक्रबार बिहान ओलीलाई भेटेर केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गरेका थिए। उनीहरूको आग्रह भने ओलीले अस्वीकार गरे।

'ओली कमजोर हुँदा गठबन्धन उत्साहित'

प्रवक्ता ज्ञवालीले नेपाल समूहले पार्टी अध्यक्ष ओलीलाई साथ नदिएर गठबन्धनमा सामेल हुँदा ओली कमजोर बनाएको बताए। उनले ओली कमजोर भएकाले विपक्षी गठबन्धनमा उत्साह आएको टिप्पणी गरे।

'नेकपा एमालेको एकतामा मुलुकको भरोसा धेरै हदसम्म जोडिएकाले सबै नेतालाई एकताका लागि आह्वान गरेका छौँ। देशभर निराशा पनि छ र विपक्षमा अली उत्साह छ। कार्यकर्ताका भावनालाई आधार मानेर एकतामा आउन अपिल गरेका हौँ,' उनले भने।

हाल गठबन्धन ओलीप्रति थप आक्रामक भएको छ। ओली समूहका नेताहरूले गठबन्धनमा सहभागी दलहरूलाई एमालेको विवादमा हात नहाल्न चेतावनी दिइरहेका छन्। ज्ञवालीले पनि आफ्नो पार्टी र आफ्नो पार्टीको सरकारलाई कमजोर बनाएर विपक्षीसँग हातेमालो गर्ने परिपाटी विश्वमै नौलो भएको आरोप लगाए। नेपाल समूह विपक्षी मोर्चासँग मिलेपछि हाल ओली दबाबमा परेका छन्। उनी नेतृत्वको सरकार ४ मन्त्रीमा सीमित हुनुपरेको छ भने प्रदेशमा पनि ओली समूहले पराजय भोगिरहेको छ।

२६४ जनाकै केन्द्रीय कमिटी वैधानिक

नेपाल समूहले एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित कमिटी मात्रै मान्य हुने बताउँदै आएको छ। तर ओली समूहको बुधबारको महाधिवेशन आयोजक कमिटीको बैठकले १०औँ महाधिवेशन आयोजक कमिटीलाई नै केन्द्रीय कमिटीमा रूपान्तरण गरेको थियो। जसलाई नेपाल समूहले ओली २०७५ जेठ ३ गते भएको एमाले र माओवादी केन्द्रको एकताअघि ओली नफर्किएको आरोप लगाइरहेको छ।

ओलीले गत फागुन २८ गते माओवादी परित्याग गरेका २३ नेतालाई समेटेर २६४ जनाको महाधिवेशन आयोजक कमिटी बनाएका थिए। एकता पूर्व एमालेको केन्द्रीय सदस्यको सङ्ख्या २४१ रहेको थियो। आज बालुवाटारमा बसेको बैठकले महाधिवेशन आयोजक कमिटीबाट रूपान्तरण हुँदै बनेको केन्द्रीय कमिटी नै वैधानिक भएको निष्कर्ष निकालेको छ।

'महाधिवेशनबाट निर्वाचित कमिटीको वैधानिकता हुँदैन भने वैधानिकता खोज्न कहाँ जाने। यो एकमात्र आधिकारिक कमिटी हो,' ज्ञवालीले भने।

बालुवाटारको सन्देश - नेपाल एमालेमा फर्कँदैनन्।

एमाले एकताको पहल भइरहेको भए पनि बालुवाटारले अब नेपाल समूहका केही नेता मात्रै एमालेमा फर्कने भन्दै वार्ताको प्रयास भइरहेको हो। नेपाल अब एमालेमा नफर्कने बरु उनी विपक्षी गठबन्धनसँग तालमेल गरेर चाँडै नयाँ पार्टी बनाउने बालुवाटारको विश्लेषण छ। जति प्रयास गरे पनि नेपालले अब गठबन्धनलाई नछाडने भएकाले उनीसँग एकता सम्भव नभएको ओली समूहको ठम्याइ छ।

दोस्रो तहका नेताहरूको वार्ता पनि नेपाल समूहका सबै नेताहरूलाई फर्काउनका लागि नभएको ओली निकट नेताहरूको भनाई छ। वार्ता टोलीका सदस्य तथा पार्टी प्रवज्ञा ज्ञवाली नेपाल समूहमा रहेका एकता चाहने नेताहरूलाई एकताका लागि प्रयास भइरहेको बताउँछन्।

'केही साथीहरू एकताका लागि भनेर लागि पनि रहनुभएको छ। त्यहाँभित्र एकता चाहने साथीहरू सफल हुनेछन् भन्ने आसा गरौँ,' उनले भने।

नेपाल समूहमा औपचारिक वार्ता टोलीमार्फत् ओलीले वार्ता नगरेको भन्दै दोस्रो तहका नेताहरूप्रति यसअघि नै आशंक व्यक्त भएका थिए। तर, उनीहरूले त्यतिबेला आफूहरू नेपाल-खनालकै इच्छा अनुसार वार्तामा सहभागी भएको बताएपछि उनीहरूबारे नेपाल-खनाल समूह सकारात्मक भएको थियो। ओलीले पनि नेपाल समूहका दोस्रो तहका नेताहरूलाई मात्रै एमालेमा सहभागी गराउने रणनीति तय गरेको उनी निकट नेताहरू बताउँछन्।

खोपको चर्चा

बालुवाटारमा शुक्रबार चर्चा भएको अर्को विषय हो कोभिड-१९ को खोप। सरकारले खोप ल्याउन नसकेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले भने एमालेका नेताहरूलाई चाँडै सरकारले खोप ल्याउने भन्दै ढुक्क हुन आश्वासन दिए। ओलीले एक दुईदिनभित्रै खोप आउने दाबी गरेका थिए। 'प्रधानमन्त्रीले खोप चाँडै आउँछ भनेर भन्नुभएको छ,' प्रवक्ता ज्ञवालीले भने।

हाल विपक्षी पाँच दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, एमालेको खनाल-नेपाल समूह र राष्ट्रिय जनमोर्चाले सरकारले बिचौलियाका कारण खोप ल्याउन नसेकेको आरोप लगाएको छ। गठबन्धनले आफ्नो सरकार बनेमा पहिलो प्राथमिकता खोप हुने दाबी गर्दै आएको छ।

बामदेव फर्के बालुवाटार

एमालेको तेस्रो शक्ति भएको दाबी गर्दै आएका उपाध्यक्ष बामदेव गौतमले पनि अब ओली समूहमा फर्किएको घोषणा गरेका छन्। शुक्रबारको बैठकमा गौतम आफ्नो समूहका केन्द्रीय सदस्य हरि पराजुलीसहित सहभागी भएका थिए। गौतमले एमाले एकताको जिम्मा आफूलाई दिन माग गरेको बैठकमा सहभागी नेताहरूले बताएका छन्। केन्द्रीय सदस्य भट्टराईले बामदेवले अब बालुवाटारमा आइसकेकाले एमालेबाट टाढा नजाने वाचा गरेको बताए।

'उहाँले अब म आइसकेँ एमालेबाट जान्न भन्नुभएको थियो,' गौतमलाई उद्धृत गर्दै भट्टराईले भने।

यस्तै, गौतमले नेताहरूको अपमान गरेर एकता सम्भव नहुने बताएका थिए। उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि एकता गर्नुपर्ने विचार राखेका थिए। नेपालसँग एकता नगरी एमाले नजोगिने गौतमले बताएका थिए। यसअघि गौतमले एमाले विभाजन भए आफ्नो साथ माधव नेपाललाई हुने बताउँदै आए पनि शुक्रबार भने उनी यू-टर्न भएका छन्। उनले अब ओलीलाई साथ दिने घोषणा गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell