PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

कांग्रेस क्रियाशील सदस्यको फाइनल गर्ने म्याद दुई दिन बाँकी, अझै टुंगो लागेन पाँच जिल्लाको 'इन्ट्री'



पहिलोपोस्ट

कांग्रेस क्रियाशील सदस्यको फाइनल गर्ने म्याद दुई दिन बाँकी, अझै टुंगो लागेन पाँच जिल्लाको 'इन्ट्री'
शुक्रवार सानेपामा बसेको केन्द्रीय पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक। फोटो : रोशन सापकोटा

काठमाडौं : नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ। पटकपटक मिति सारेर हुन लागेको महाधिवेशनको मुख्य काम क्रियाशील सदस्यताको टुंगो भने अझै लाग्न सकेको छैन।

कार्यतालिकाअनुसार भोलि आइतवार क्रियाशिल सदस्यताको टुंगो लगाएर सभापति शेरबहादुर देउवालाई बुझाउने अन्तिम मिति हो। त्यसपछि असार ३० गते देउवाले फाइनल गरेर केन्द्रीय निर्वाचन समितिलाई बुझाउने कार्यसूची रहेको छ।

तर, सिन्धुपाल्चोक, बर्दिया, पर्सा, बारा र सप्तरीको क्रियाशिल सदस्यता कांग्रेसको वेबसाइटमा अझै इन्ट्री भएको छैन। यसै विषयमा शुक्रवार कांग्रेस केन्द्रीय पदाधिकारीको बैठक बस्यो।

सानेपास्थित कांग्रेस कार्यालयमा दिउँसो २ बजे शुरु हुने भनिएको बैठक गुट भेलाका कारण सवा ५ बजेमात्र शुरु भयो। बैठक अघि देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आआफ्नो समूहमा क्रियाशीलबारे छलफल चलाए।

क्रियाशील सदस्यको मनोनयनमा नेता अनुकुलको नाम आएको भन्दै वरिष्ठ नेता पौडेल पक्षले सभापति देउवाले एकलौटी नाम सिफारिस गरेर पठाएको भन्दै  निष्पक्ष छानवीनको दबाव दिए।

त्यसपछि बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले देशभरिबाट प्रक्रिया पुरा गरेर आएको क्रियाशील सदस्यको नामलाई समावेश गर्ने सहमति जुटाएको छ। शुक्रवार भएको सहमतिमा नविकरण हुने क्रियाशील सदस्य र नयाँ सदस्यको छनौटको प्रक्रिया हेरी छानवीन समितिले निर्णय गर्न सक्ने गरि मापदण्ड पनि बनाएको छ।

यस्तै विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा आएकाहरुमा जिल्लादेखि सबै प्रक्रिया पुरा गरेर आएको नाम स्वीकृत गर्ने पनि सहमति भएको छ। प्रदेश जिल्ला र वडास्तरमा विवाद नै कायम रहेको क्रियाशील सदस्यको नाममा एकपटक सहमति जुटाउन प्रयास गर्ने सहमति हुननसके छानवीन समितिले आवश्यक प्रक्रिया र कागजपत्र हेरेर निर्णय गर्न सक्ने पनि बैठकमा सहमति जुटेको छ। 

बैठक पछि क्रियाशील सदस्य छानवीन समितिका संयोजक रमेश लेखकले लामो समय देखि विवादित बनेको क्रियाशील सम्बन्धि बिषयले निकाश पाएको दाबी गरे।  यो निर्णय सँगै क्रियाशील सदस्य छानवीन सम्बन्धि कुनै समस्या नरहेको र केहि दिनमा छानविनको काम सम्पन्न गर्न सकिने संयोजक लेखकले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell