PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

अपराधको प्रकृतिमा कोभिड-१९ संक्रमण र लकडाउनको प्रभाव: संगठित तथा सामाजिक अपराधमा कमी, आत्महत्या र महिला हिंसा बढे



विधुर ढकाल

अपराधको प्रकृतिमा कोभिड-१९ संक्रमण र लकडाउनको प्रभाव: संगठित तथा सामाजिक अपराधमा कमी, आत्महत्या र महिला हिंसा बढे

काठमाडौं : कोभिड-१९ महामारी र यसको नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन तथा निषेधाज्ञाका कारण अपराध संख्यामा उतारचढाव देखिएको छ। संगठित अपराधहरुमा भने कमी आएका छन्। त्यस्तै चोरीसम्बन्धी घटनाहरुमा पनि कमी आएको नेपाल प्रहरीको तथ्यांकमा उल्लेख छ।

यद्यपि सोही अवधिमा आत्महत्या तथा ज्यानसम्बन्धी अपराधमा भने कमी आएको देखिदैन। बरु महिला तथा बालबालिकासम्बन्धी हिंसाका घटनाहरु भने अघिल्ला वर्षहरुमा भन्दा बढेका छन्।

चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा ३६ हजार २२१ अपराधसम्बन्धी मुद्दाहरु नेपाल प्रहरीमा दर्ता भएका छन्।

यसरी दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सामाजिक अपराधसम्बन्धी मुद्दाहरु रहेको नेपाल प्रहरीको तथ्यांकमा उल्लेख छ। यो अवधिमा सात हजार ४४१ वटा सामाजिक अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन्। जुन कुल दर्ता भएका मुद्दाको २०.५ प्रतिशत हो।

त्यस्तै ज्यानसम्बन्धी अपराधका सात हजार १४४ मुद्दा नेपाल प्रहरीमा दर्ता भएका छन्। जुन कुल मुद्दाको १९.७ प्रतिशत हो। त्यसपछि यस अवधिमा आत्महत्यासम्बन्धी १७.४ प्रतिशत, महिला तथा बालबालिका सम्बन्धी ११.९ र संगठित तथा आर्थिक अपराधसँग सम्बन्धी ११.८ प्रतिशत मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकमा उल्लेख छ। चोरीसम्बन्धी ५.९ प्रतिशत र सवारीसम्बन्धी ५.६प्रतिशत मुद्दा दर्ता भएका छन्। दर्ता भएका मुद्दामध्ये ७.२ प्रतिशतलाई विविध अपराध शीर्षकमा राखिएको छ।

गत आर्थिक वर्ष २०७६/०७७ मा भन्दा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा ५.७ प्रतिशत कम अपराधिक मुद्दाहरु नेपाल प्रहरीमा दर्ता भएका छन्। गत आर्थिक वर्षमा दैनिक औसतमा ११४.८ वटा मुद्दा दर्ता भएकोमा चालु आर्थिक वर्षको २०७७/०७८ को पहिलो ११ महिनाको तथ्यांक हेर्दा औसतमा दैनिक १०८.२५ वटा मुद्दा नेपाल प्रहरीमा दर्ता भएका छन्।

यसरी विभिन्न प्रकृतिका अपराधका संख्यामा उतारचढाव आउनुमा कोभिड-१९ को संक्रमण र यसको नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन र निषेधाज्ञा प्रमुख कारण रहेको नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवर बताउँछन्।

आत्महत्या तथा महिलामाथि हुने हिंसामा वृद्धि

गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षको जेठ मसान्त म्ममा आत्महत्यासम्बन्धी घटनामा वृद्धि भएको देखिन्छ। कोभिड-१९ को संक्रमण तथा संक्रमण नियन्त्रणका लागि लागू गरिएको लकडाउन तथा निषेधाज्ञाका कारण मानिसहरुमा सामाजिक तथा आर्थिक समस्यासँगै मानसिक समस्या जटिल बन्दै गएपछि आत्महत्याका घटना बढेको त्रिवि शिक्षण अस्पतालका साइकिआर्टिस्ट तथा सुसाइड प्रिभेन्सन हेल्पलाइन नम्बरका स्रोत व्यक्ति डा. श्रीराम उपाध्याय बताउँछन्।

गत आर्थिक वर्षमा औसतमा हरेक दिन १७.१० जनाले आत्महत्या गरेको देखिएको छ। तर, चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो ११ महिनाको तथ्यांक हेर्दा आत्महत्याका घटनामा वृद्धि भएको देखिन्छ। यस अवधिमा औसतमा दैनिक १८.८७ जनाले आफ्नो ज्यान आफैले लिएका छन्।

'रोजगार भएकाभन्दा बेरोजगारले आत्महत्या बढी गरेका छन्। कोभिड-१९ नियन्त्रणका लागि गरिएका लकडाउनका कारण मानिसहरुले रोजगारी गुमाए। त्यस्तोमा उनीहरुमा आर्थिक समस्या देखियो। आर्थिक तथा सामाजिक समस्यासँगै आत्महत्याका घटना पनि बढेका छन्,' डाक्टर उपाध्याय भन्छन्, 'मानिसहरुले आत्महत्या किन गर्छन् भन्ने प्रश्न नै जटिल छ। यसमा अध्ययन अनुसन्धान हुन जरुरी छ। नेपालमा अध्ययनको कमी छ। अर्को तिर आत्महत्याको कारण के हो भन्ने अध्ययन हुँदैन्। नेपाल प्रहरीसँग तथ्यांक त छ- कसरी मरे भन्ने तर, कारण भने छैन।'

उनका अनुसार लकडाउनका कारण मानसिक स्वास्थ्य सेवामा पहुँच नपुग्दा पनि केही व्यक्तिले आत्महत्या गरेका छन्। 'पहिल्यै कुनै न कुनै मानसिक समस्या भएका व्यक्तिहरु कोभिड-१९ का कारण थप समस्यामा परेका छन्,' उनी भन्छन्, 'महामारी रोकथाम र नियन्त्रणका लागि लकडाउन र निषेधाज्ञा लगाइँदा पहिल्यै मानसिक समस्या भएकाहरु परामर्श सेवाबाट वञ्चित भए। मानसिक समस्या बढेपछि कतिपयले आत्महत्या रोज्न सक्छन्।'

त्यस्तै ज्यानसम्बन्धी मुद्दा पनि यस आर्थिक वर्षमा बढेका छन्।  गत आर्थिक वर्षमा १९.६ जनाको औसतमा दैनिक ज्यानसम्बन्धी मुद्दा दर्ता भएकामा यस आर्थिक वर्षको पहिलो ११ महिनाको तथ्यांक हेर्दा दैनिक औसतमा २१.३५ ज्यानसम्बन्धी मुद्दा दर्ता भएको नेपाल प्रहरीको तथ्यांकमा उल्लेख छ।

त्यस्तै चालु आर्थिक वर्षको पहिलो ११ महिनामा महिला तथा बालबालिकासम्बन्धी मुद्दामा समेत वृद्धि भएको देखिन्छ। यो अवधिमा दैनिक औसतमा १२.५८ वटा महिला तथा बालबालिकासम्बन्धी हिंसाका घटना नेपाल प्रहरीमा दर्ता भएको छ। गत आर्थिक वर्षमा औसतमा दैनिक ११.२१ घटना दर्ता भएका थिए।

'लकडाउनसँगै मानिसहरु घरमा थुनिएर बसे यसले केही पारिवारिक हिंसाका घटना बढेको देखिन्छ। विशेष गरी महिला तथा बालबालिकाहरुमाथि हुने अपराधको संख्या बढेको छ,' नेपाल प्रहरीका प्रवक्ता कुँवर भन्छन्, 'महिला बालबालिकासम्बन्धी अपराध र आत्महत्या बढ्नुको मुख्य कारण कोभिड-१९ को संक्रमण र लकडाउन हो।'

परिवारमा आर्थिक समस्या बढ्दा परिवार भित्रका घटना बढेको उनी बताउँछन्। आर्थिक समस्याले मानसिक समस्या बढ्दा आत्महत्याका घटना पनि बढेको उनको भनाई छ।

संगठित तथा सामाजिक अपराधमा कमी

कोभिड-१९ को कहरकाबीच लागू भएको लकडाउनका कारण संगठित अपराधमा भने कमी आएका छन्। चालु आर्थिक सुरुवतामा भएका निषेधाज्ञा तथा वैशाखपछि लगाइएको निषेधाज्ञाका कारण संगठित अपराधमा कमी आएको प्रहरीको भनाई छ।

आर्थिक वर्ष २०७५/०७६ मा दैनिक औसतमा १४.५२ वटा संगठित अपराधसम्बन्धी मुद्दा दर्ता भएकोमा गत आर्थिक वर्ष २०७६/०७७ मा यो संख्या घटेर दैनिक औसतमा १२.६२ वटा मुद्दा दर्ता भएका थिए। गत आर्थिक वर्षको अन्तिम चौमासिकमा लगाइएको लकडाउनका कारण संगठित अपराधको संख्या घटेको देखिन्छ।

त्यस्तै चालु आर्थिक वर्षको पहिलो ११ महिनामा भने केहीले बढेको देखिन्छ। यो अवधिमा औसतमा दैनिक १२.७३ संगठित अपराधसम्बन्धी घटना दर्ता भएका छन्। चालु आर्थिक वर्षको सुरुवातमै (साउन ४) मा लकडाउन हटाइ केही मात्रामा निषेधाज्ञा जारी गरिएको थियो।

कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि सरकारले गत आर्थिक वर्षको चैत ११ देखि चालु आर्थिक वर्षको साउन ४ सम्म लकडाउन जारी गरेको थियो। त्यस्तै यो आर्थिक वर्षको सुरुमा लकडाउन खुले पनि असोजसम्म कुनै न कुनै अवस्थामा निषेधाज्ञा जारी भएको थियो। साथै वैशाख १४ देखि पुन: निषेधाज्ञा लगाइएको थियो।  

त्यस्तै सामजिक अपराधमा पनि कमी आएका छन्। चालु आर्थिक वर्षमा दैनिक २२.२३ घटना दर्ता भएका छन्। नेपाल प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्षमा सामाजिक अपराध सम्बन्धी मुद्दाहरु औसतमा दैनिक ३१.४५ दर्ता भएका थिए।

अघिल्ला आर्थिक वर्षहरुमा यो संख्या निरन्तर बढिरहेको थियो। आर्थिक वर्ष २०७२/०७३ मा दैनिक औसतमा २३.८ रहेको सामाजिक अपराधसम्बन्धी मुद्दाहरु दर्ता भएकोमा निरन्तर बढ्दै आर्थिक वर्ष २०७३/०७४ मा दैनिक औसतमा २८.१ र २०७५/०७६ मा दैनिक औसतमा ३९.५९ पुगेको थियो।

चालु आर्थिक वर्षमा अघिल्ला वर्षभन्दा चोरीसम्बन्धी मुद्दामा पनि कमी आएको छ। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म औसतमा दैनिक ६.४ चोरीसम्बन्धी मुद्दा दर्ता भएका छन्। सो अवधिमा दुई हजार १४४ वटा चोरीसम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएको तथ्यांकमा उल्लेख छ। जुन गत वर्षको सोही अवधिभन्दा ४.६ प्रतिशतले कम हो।  गत आर्थिक वर्षमा दुई हजार ४५१ चोरीसम्बन्धी मुद्दा दर्ता भएका थिए। जुन औसतमा दैनिक ६.७१ हुन आउँछ।

लकडाउनसँगै मुभमेन्टहरु रोकिँदा संगठित, सामाजिक, आर्थिक तथा चोरीका घटनाहरुमा कमी आएको नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक कुँवर बताउँछन्। 'एकातिर संक्रमणको डर रह्यो अर्कोतिर लकडाउन र निषेधाज्ञाले मुभमेन्ट हुन पाएन। त्यसैले यस्ता अपराधहरुमा कमी आएका हुन्,' कुँवर भन्छन्, 'संगठित अपराध हुनका लागि भेला हुन पर्‍यो। योजना बनाउनुपर्‍यो। लकडाउनले भेला हुन रोकियो। योजना बन्न पाएनन्। अनि संगठित अपराधमा कमी आएको हो।'

यस समयमा प्रहरीको निगरानी बढेका कारण पनि अपराधमा कमी आएको उनी बताउँछन्। 'चोरी गर्नका लागि पनि चोर एक ठाउँबाट अर्को ठाउँमा जानुपर्‍यो। यसबीच प्रहरीको निगरानी बढ्यो,' उनी भन्छन्, 'प्रहरीको निगरानी बढ्दा चोरीका घटनामा पनि कम आएका हुन्।'

सवारीसम्बन्धी मुद्दामा वृद्धि

चालु आर्थिक वर्षमा गत आर्थिक वर्षभन्दा सवारीसम्बन्धी मुद्दा बढेका छन्। चालु आर्थिक वर्षको पहिलो ११ महिनामा दुई हजार १६ वटा सवारीसम्बन्धी मुद्दा दर्ता भएका छन्। जुन औसतमा दैनिक ६ हुन आउँछ। जुन गत आर्थिक वर्षमा दैनिक औसतमा ५.४ मुद्दा दर्ता भएका थिए। गत आर्थिक वर्ष २०७६/०७७ मा नेपाल प्रहरीमा एक हजार ९७१ सवारीसम्बन्धी मुद्दा दर्ता भएका थिए।

(यो रिपोर्ट सेन्टर फर डेटा जर्नलिजम् नेपालको सहयोगमा तयार पारिएको हो।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell