PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

काठमाडौं उपत्यकाको निषेधाज्ञा : के ठूला सार्वजनिक सवारीमा लगाइएको जोरबिजोर प्रणाली हट्ला ?



पहिलोपोस्ट

काठमाडौं उपत्यकाको निषेधाज्ञा : के ठूला सार्वजनिक सवारीमा लगाइएको जोरबिजोर प्रणाली हट्ला ?

काठमाडौं : पछिल्लो केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको थपिने सङ्ख्यामा उल्लेख्य कमी आएको देखिएको छैन। तर काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि जारी रहेको निषेधाज्ञा भने खुकुलो भइसकेको छ। अहिले सडकदेखि विभिन्न पसलहरूमा मानिसको चहलपहल देखिन थालेको छ।

काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा खुकुलो बनाउँदै एक साताको लागि निषेधाज्ञा थप गरेका थिए। थप भएको निषेधाज्ञा सोमबार राति १२ बजेबाट सकिदैंछ। तर कोरोना संक्रमितको सङ्ख्यामा कमी नआएकाले काठमाडौं उपत्यकाभित्र जारी रहेको निषेधाज्ञा थप लम्बिने देखिएको छ।

'संक्रमण बढेकै भन्ने त छैन। तर पछिल्लो तथ्याङ्क र सम्बन्धित निकायका व्यक्तिहरूसँग बसेर छलफलपछि निषेधाज्ञाको थप मोडालिटी तयार हुन्छ,' काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने।

प्रजिअ पराजुलीका अनुसार काठमाडौं उपत्यकाभित्र जारी रहेको निषेधाज्ञा अहिले नै हट्ने छैन। अहिले प्रायजसो पसलहरू खुलेका छन्। सार्वजनिक सवारी पनि सञ्चालन गर्न दिइएको छ।

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्र्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न भने दिइएको छैन। शैक्षिक पठनपाठन पनि बन्द रहेको छ। अब थपिने निषेधाज्ञामा पनि यी क्षेत्रलाई खुल्ला गरिने छैन।

हाल सार्वजनिक सवारीलाई समय, सिट र जोरबिजोरको आधारमा चल्न दिइएको छ। तर २५ सिट क्षमता भन्दा कम भएका सवारीहरूलाई भने रोक लगाइएको छ। अहिले टेम्पु, माइक्रो बस व्यवसायीहरूले आफूहरूको सवारीसाधनलाई पनि चल्न दिनुपर्ने माग गरिरहेका छन्। त्यस्तै ठुला सवारी साधनहरूमा लगाइको जोरबिजोर प्रणाली समेत हटाउनुपर्ने माग व्यवसायीहरुको छ। 

सडकमा आधा मात्र सवारी चल्दा यात्रुहरू भिडभाड भएर यात्रा गर्नुपर्ने अवस्था सिर्जना भएको छ। जसले गर्दा संक्रमण झनैं बढ्ने विज्ञहरूको तर्क रहेको छ।

'ठुला सवारी साधनमा लगाइएको जोरबिजोर हटाउने माग भइरहेको छ। यस विषयमा हामी छलफल गरिरहेका छौँ। के गर्ने भन्ने कुनै निर्णय भइसकेको छैन,' प्रजिअ पराजुलीले भने।

अहिले निजी सवारी साधन पनि जोरबिजोर प्रणालीका आधारमा नै सञ्चालन भइरहेका छन्। खाद्यान्नका पसलहरू भने बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खुल्ने दिइएको छ। त्यस्तै अन्य पसलहरूलाई भने बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुल्न दिइएको छ।

'भोलिदेखि सम्बन्धित निकायसँग छलफल गर्छौं। भोलि वा पर्सी निषेधाज्ञा सम्बन्धि थप निर्णय हुने छ,' सिडिओ पराजुलीले भने।

होटेल, रेष्टुरेष्टको हकमा भने टकेअवे र होम डेलिभरी सेवा मात्र दिइरहेका छन्। देशभर कोरोना संक्रमण बढेपछि त्यसलाई नियन्त्रण गर्न भन्दै काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा गरिएको छ। देशका अन्य ६८ जिल्लामा पनि निषेधाज्ञा जारी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell