PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

एनएसएलको सर्वाधिक गोलकर्ता मेसुके र बिनोङ एनआरटीमा, लिगको तयारीमा जुट्दै क्लबहरु



पहिलोपोस्ट

एनएसएलको सर्वाधिक गोलकर्ता मेसुके र बिनोङ एनआरटीमा, लिगको तयारीमा जुट्दै क्लबहरु

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगको घोषणा भएसँगै पछिल्लो समय नेपाली क्लबहरु खेलाडी अनुबन्धनमा जुटेका छन्। यसैक्रममा पाँच पटक ए डिभिजन लिगको उपाधि जितेको न्युरोड टिम 'एनआरटी' ले दुई जना विदेशी खेलाडीलाई अनुबन्धित गरेको छ। जेठमा सम्पन्न नेपाल सुपर लिग 'एनएसएल' का सर्वाधिक गोलकर्ता काठमाडौं रेजर्सबाट ८ गोल गरेका मेसुके ओलोमोउ र ३ गोल गरेका स्टेफेन बिनोङ समीरलाई क्लबमा अनुबन्धित गरिएको छ।

क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीले अघिल्लो लिग खेलेका अधिकांश खेलाडी आफूसँग रहेको बताउँदै यस पटक आफूहरुको लक्ष्य उपाधि जित्ने रहेको बताए।

एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले सुपर लिगमा राम्रो खेलेका यी खेलाडीबाट ए डिभिजनमा पनि राम्रो प्रदर्शनको आशा रहेको बताए। त्यस्तै ओलोमोउले आफ्नो लागि लिग नयाँ चुनौती भएको भन्दै आफ्नोतर्फबाट भरपुर प्रयास गर्ने बताए।

अखिल नेपाल फुटबल संघले यसपटक असोज ३ गतेबाट लिग सुरु गराउने निर्णय गरिसकेको छ।

यसअघि पनि केही क्लबहरुले खेलाडी अनुबन्धनको अघि बढाइसकेका थिए। यसअघि 'बी' डिभिजनबाट माथि उक्लिएको सातदोबाटो युथ क्लबले नाइजेरियन डिफेन्डर पिटर सेगुनलाई अनुबन्धन गरेको थियो। त्यसबाहेक अन्य क्लबहरुले पनि नेपाली र विदेशी खेलाडी भित्र्याउने पहल थालेका छन्।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले यसपटक लिग केही फरक संरचनामा गराउन लागिएको भन्दै राष्ट्रिय लिग र ए डिभिजन लिगलाई सँगै लैजाने तयारी रहेको बताए। त्यस्तै विभिन्न क्लबहरुले एकेडेमी चलाउनका लागि तदारुकता देखाएको भन्दै शेर्पाले एन्फाको लामो लिग गराउने प्रयास रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell