काठमाडौंः ललितपुरको सानेपास्थित गुसिटोल राम मन्दिर नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
भारत घर भएका ५९ वर्षीय सत्यनारायण भनिने पुरुष मृत फेला परेका हुन्। भाडामा बस्दै आएको कोठामा घोप्टो परेको अवस्थामा प्रहरीले उनको शव फेला पारेको हो। उनको मृत्यु कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ।
'घोप्टो परेको अवस्थामा भेटिएको हो। कोठाको झ्याल खुल्लै देखिन्छ। विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौँ,' महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्रचार्याले भनिन्।
सत्यनारायण इलेक्ट्रिकको काम गर्दै आएका थिए। उनी केही समयदेखि एक्लै कोठामा बस्दै आएका थिए। राति साढे ८ बजेसम्म उनको एक जना मानिससँग फोनमा कुराकानी भएको खुलेको छ।
अनुसन्धानमा सहयोगका लागि घटनास्थलमा नेपाल प्रहरीको तालिम प्राप्त कुकुरसमेत प्रयोग गरिएको छ।
