काठमाडौं : ललितपुरको सानेपास्थित गुसिटोल राम मन्दिर नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन्। भारत घर भएका ५९ वर्षीय सत्यनारायण भनिने पुरुष मृत फेला परेका हुन्।
भाडामा बस्दै आएको कोठामा घोप्टो परेको अवस्थामा प्रहरीले उनको शव फेला पारेको हो। उनको मृत्यु कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ।
घटनास्थलमा हम्मर
घटनास्थलमा मृतक नजिकै हम्मर भेटिएको प्रहरीले जनाएको छ। मृतकलाई चार पाँच पटक प्रहार गरिएको देखिएकोले यो हत्या हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।
'हत्याको आशंका छ। यद्यपि अनुसन्धान पुरा नभइ भन्न सकिन्न। घटनास्थलमा हम्मर भेटिएको छ भने मृतकको शरीरमा चार पाँच चोटि प्रहार गरेको जस्तो देखिएको छ,' महामनगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्रचार्याले भनिन्, 'दराजको सिसा फुटेका छन्। फोडिएका छन्।' दराज फोडिएको अवस्थाले चोरीको प्रयास हो कि भन्ने आशंका पनि प्रहरीले गरेको छ।
मृतक काठमाडौंको न्युरोडमा रहेको एट्लान्टिक कम्प्युटरमा सेल्स्म्यानको काम गर्दै आएको खुलेको छ।
अढाई तल्ले घरमा कोठा भाडामा बस्थे उनी। उनी बस्ने घरमा एक जना महिला काम गर्न आउने पनि खुलेको छ।
ती महिलाले हिजो आफु आउँदा घरको ढोका नखुलेको र आज पनि नखुलेको बयान दिएकी छिन्। ढोका नखुलेपछि छिमेकीलाई खबर गरी प्रहरीसम्म पुगेको ती महिलाले बताएको प्रहरीले जनाएको छ।
मृतक केही समयदेखि एक्लै कोठामा बस्दै आएका थिए। पछिल्लोपटक राति साढे ८ बजेसम्म उनको एक जना मानिससँग फोनमा कुराकानी भएको खुलेको छ।अनुसन्धानमा सहयोगका लागि घटनास्थलमा नेपाल प्रहरीको तालिम प्राप्त कुकुरसमेत प्रयोग गरिएको छ।