काठमाडौं : कोभिड-१९ संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा खुकुलो पारिएको साता वित्दा पनि संक्रमण दर भने नियन्त्रणमा आएको छैन।
पछिल्लो साता ७६ हजार ५०६ नमुना परीक्षण गरिएकोमा १७ हजार २७९ जनामा संक्रमण पुष्टि भएको छ। असार १३ गते देखि असार १९ गते सम्मको तथ्यांक विश्लेषण गर्दा संक्रमण दर २२.६ प्रतिशत रहेको छ। यो दर पीसीआर तथा एन्टिजेन दुबै परीक्षणको हो।
पीसीआर परीक्षणको क्रममा पुष्टि हुने संक्रमण दर २४.१ प्रतिशत रहेको छ।
यस्तै, निषेधाज्ञा खोल्नुभन्दा केही दिनअघिसम्म एन्टिजेन परीक्षणबाट दिनहुँ १४.८ देखि १८.७ प्रतिशतसम्म संक्रमण पुष्टि भएको थियो। हाल एन्टिजेन परीक्षणबाट २०.२ देखि २३.४ प्रतिशतसम्म पोजिटिभ देखिएको छ ।
पछिल्लो साता औसतमा दैनिक १० हजार ९३० जनाको परीक्षण भएको छ। जसमध्ये औसतमा दैनिक २ हजार ४६८.४ जनामा संक्रमण पुष्टि हुँदै आएको छ। यसबीच दैनिक औसतमा जम्मा ६६६१ जनाको आरटी-पीसीआर विधिबाट कोभिड-१९ को परीक्षण हुँदै आएको छ। जसमध्ये दैनिक औसतमा एक हजार ६०७.७ जना संक्रमित पहिचान हूँदै आएका छन्। त्यस्तै औसतमा दैनिक चार हजार २६८.४ जनाको एन्टिजेन परीक्षण हुँदा ८६०.७ जनामा संक्रमण पुष्टि हुँदै आएको छ।
