चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले सतवार्षिकी मनाइरहँदा यो सय वर्षमा चीनले हासिल गरेको प्रगतिले विश्वको ध्यान आकृष्ट गरेको छ।
जुलाई १ का दिन बेइजिङमा भव्य समारोह आयोजना गरी सतवार्षिकी मनाउँदै गर्दा विश्वका मिडियाहरुले प्राथमिकताका साथ कार्यक्रमलाई स्थान दिए।
१९२१ को जुलाई २३ का दिन सांघाइको एउटा गाउँमा भएको पहिलो महाधिवेशनबाट अहिलेसम्म आइपुग्दा सीपीसीले लामो संघर्ष र परिवर्तनका विभिन्न कालखण्ड पार गरिसकेको छ।
१९७८ पछिको आर्थिक खुलापन, विज्ञान प्रविधि तथा नवीनतम अन्वेषणको नेतृत्व गर्दै अगाडि बढिरहेको चीनले दिगो विकास लक्ष्यले २०३० को लक्ष्य राखेको गरिवी निवारणलाई २०२१ मै पूरा गरी इतिहास कोरेको छ।
बेइजिङको थियानमन स्क्वार- जहाँबाट सीपीसीका अध्यक्ष माओ जेदोङले आधुनिक चीन- जनगणतन्त्र चीन (पीआरसी) को उद्घोष गरेका थिए। त्यहीँबाट चिनियाँ राष्ट्रपति तथा सीपीसीको केन्द्रीय कमिटीका महासचिवसमेत रहेका चिनियाँ सैन्य आयोगका अध्यक्ष सी चिनफिङले चीनलाई सबै आयामहरुबाट आधुनिक समाजवादी चीन निर्माणको घोषणा गरे।
सबै संघर्ष, बलिदानी तथा रचनाका माध्यमबाट पार्टी एकीकृत भएको र चिनियाँ जनतालाई वितेका पाँच वर्ष नेतृत्व गर्न सफल भएको बताए। यो एकतालाई चिनियाँ राष्ट्रको महान कायाकल्प ल्याउने अन्तिम लक्ष्यले बाँधेको सीले बताएका थिए।
यसबीच चीनले उठेर समृद्धि हासिल गर्दै शक्तिशाली बन्दै अभूतपूर्व परिवर्तन हासिल गरेको छ। र चीनको राष्ट्रिय कायाकल्प एक ऐतिहासिक अपरिहार्यतासमेत सावित भएको सीले बताएका थिए। उनले यो ऐतिहासिक उपलब्धि हासिल गर्ने जनता वास्तविक नायक भएको र उनीहरुले इतिहास रचेको बताए।
यति भन्दै गर्दा राष्ट्रपति सीले चीनको सफलता पार्टीमा टिकेको बताए। 'पार्टीलाई विभाजन गर्ने कुनै पनि प्रयासहरु अथवा जनतालाई पार्टीविरुद्ध प्रयोग गर्ने प्रयास असफल भएका छन्। ९ करोड पचास लाख पार्टी सदस्य तथा एक खर्ब चालिस करोड चिनियाँ जनताले यस्ता प्रयासहरुलाई सफल हुन दिने छैनन्,' उनले थियानमन स्क्वाएयरबाट विश्वलाई सन्देश दिँदै थिए।
उनले मौलिकतामा टेकेर पार्टीको सामर्थ्य चिनियाँ विशेषतासहितको समाजवादको बलले मार्क्सवादले काम गर्छ भन्ने प्रमाणित गरेको बताए।
उनले सीपीसी र अन्य राजनीतिक दलबीचको भिन्नताको सूचक भनेको आत्म सुधार भएको बताए।
उनले त्यहीँबाट बाँकी विश्वलाई एउटा सन्देश र चेतावनीसमेत दिए- 'कसैले पनि आफ्नो राष्ट्रिय सम्प्रभुता र क्षेत्रीय अखण्डताको रक्षा गर्न चिनियाँ जनताको संकल्प, इच्छा र क्षमतालाई कम नआके हुन्छ।'
सीपीसीको नेतृत्वमा चीनले हासिल गरेको विकास र परिवर्तनले विश्व राजनीतिक सिद्धानका क्षेत्रमा नयाँ डिस्कोर्स समेत सुरु भएको छ।
चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाको थिंक ट्यांक 'न्यू चाइना रिसर्च (एनसीआर)' ले पार्टीको सतवार्षिकीको अगाडि अनुसन्धान रिपोर्ट प्रकाशित गर्दै सीपीसीले नयाँ राजनीतिक सिद्धान्तको प्रतिपादन गरेको दाबी गरेको छ।
'पिपल फर्स्ट: पोलिटिकल कमिटमेन्ट अफ सेन्चुरी-ओल्ड कम्युनिस्ट पार्टी अफ चाइना' शीर्षकमा प्रकाशित रिपोर्टले पचास बढी सदस्यबाट सुरु भएदेखि विश्वकै ठूलो राजनीतिक पार्टीको रुपमा आइपुग्दासम्मको प्रक्रिया उल्लेखनीय राजनीतिक घटनाक्रमको रुपमा रहेको उल्लेख गरिएको छ।
'पश्चिमा प्राज्ञहरुको सिद्धान्तले सीपीसीको सफलतालाई व्याख्या गर्न नसक्ने भन्दै नयाँ अनुसन्धान रुपावलीको स्थापना हुनुपर्छ जसले पार्टीको आफ्नै सिद्धान्त र अभ्यासबाट उत्तरको खोजी गर्न सकोस्,' प्रतिवेदनमा भनिएको छ।
तीन अध्यायमा रहेको प्रतिवेदनले चिनियाँ जनताले किन सीपीसीलाई छनोट गरेका छन्?, कसरी सीपीसीले जनताको प्रतिनिधित्व गर्छ? र मानव प्रगतिको लागि सीपीसीले के योगदान दियो? भन्ने प्रश्नको जवाफ दिने प्रयास गरेको छ।
यसबीच सीपीसले आफ्नो संस्थापन लक्ष्यप्रतिको प्रतिवद्धतालाई स्पष्ट पारेको छ। साथसाथै एक परीक्षित प्रजातान्त्रिक प्रणालीको अवलम्वन गर्दै पार्टी र जनताबीचको विश्वासको सम्बन्धलाई निर्माण गरेको प्रतिवेदनले भनेको छ।
त्यति मात्र होइन सीपीसीको सफलताको पछाडि नयाँ राजनीतिक सिद्धान्त -एबीसीडीईले काम गरेको प्रतिवेदनमा भनिएको छ।
चिनियाँ कम्युनिस्ट पार्टीको सफलताको पछाडिको गोप्य सुत्रको रुपमा अंग्रेजी वर्णमालाका पहिला पाँच अक्षरलाई रिपोर्टमा उल्लेख गरेको छ।
ए- अल फर दि पिपल (सबै जनताका लागि)
बी- ब्लुप्रिन्ट ड्रइङ
सी- क्यापासिटी बिल्डिङ
डी- डेभलभमेन्ट सेयर्ड
इ- इफेक्टिभ गभर्नेन्स
यसबीच सीपीसीले १०० वर्षे कार्यकाल जनतालाई प्राथमिकतामा राखेर जनताको सेवामा लगाएको छ। जनताको पक्षमा उभिनु नै सीपीसीको प्रमुख राजनीतिक उद्देश्य रहँदै आएको छ -जसले मार्क्सवादी राजनीतिक दल र अन्य राजनीतिक दलबीचको भिन्नतालाई छुट्याउँछ। सीपीसीले यो १०० वर्ष जति परिवर्तन र प्रयासहरु गरेको छ -ती सबै जनताका लागि रहेको प्रतिवेदनमा भनिएको छ।
त्यतिमात्र होइन सीपीसी यो १०० वर्ष स्पष्ट मार्गचित्रसहित अगाडि बढ्यो। यो सय वर्षको सीपीसी निरन्तरको कठिन परीश्रमकोको इतिहास हो। सीपीसीले यसबीच जनतालाई केन्द्रमा राखेर दीर्घकालीन रणनीतिक योजना निर्माण गर्दै विकासका हरेक चरणमा लक्ष्यहरुलाई निर्धारण गर्दै कोरिएको खाकालाई वास्तविकतामा परिणत गर्दै अगाडि बढ्यो।
यही सय वर्षको बीचमा चीनले राजनीतिक चेत, सैद्धान्तिक क्षमता, सांगठनिक संरचनालाई सुधारका लागि क्षमता अभिवृद्धिलाई जोड दियो। सीपीसीकै यही क्षमताका कारण सीपीसीको राजनीतिक उपलब्धिले विश्वको ध्यान खिचेको छ।
सीपीसीको अर्को विशेषता भनेको साझा विकास हो। समान समृद्धिलाई प्रवर्द्धन गर्ने गरी सीपीसीले आफ्नो रणनीतिक कार्योजना निर्माण गर्दै अगाडि बढेको छ। देशभित्र राजनीतिक रुपमा मात्र नभई आर्थिक तथा सामाजिक विकासका क्षेत्रमा प्रगति हासिल गर्दै विश्वको समान विकासका लागि चीनले बीआरईलगायतका परियोजनामार्फत आफ्नो विकासलाई विश्वका देशहरुसँग साझेदारी गरिरहेको छ।
सीपीसीलाई चिनियाँ जनताले रोज्नुको पछाडि प्रभावकारी शासन नै हो। चुस्त शासन प्रणालीमार्फत सीपीसीले जनतालाई केन्द्रमा राखी शासन प्रणालीको विकास गर्दै विश्वका राजनीतिक दलहरुलाई उदाहरण पेस गरेको छ। मानव विकास, आपतकालीन प्रतिकार्यदेखि दैनिक शासन प्रणालीमा चीनले गरेको प्रगति उदाहरणीय छ। हालै कोभिड-१९ लाई नियन्त्रणमा राख्न सीपीसी नेतृत्वको सरकारले गरेको भूमिका पनि यसैको प्रमुख उदाहण हो। प्रजातान्त्रिक र स्वतन्त्र भनिने देशहरु कोभिड-१९ को कहरमा जुधिरहेका बेला चीनले संक्रमणलाई नियन्त्रणमा राख्दै कोभिड-१९ विरुद्धको लडाईंमा विश्वलाई साथ दिइरहेको छ।
यो सय वर्षको सीपीसीको इतिहासलाई मार्क्सवादको परिस्कृत रुपको रुपमा नयाँ सिद्धान्तसहित परिभाषित गर्नुपर्ने चिनियाँ तथा विदेशी विज्ञहरु बताउँछन्। पश्चिमा राजनीतिक सिद्धान्तको चस्माले हेर्दा 'एकात्मकता/एकदलीय शासन प्रणाली' देखिने चीनको शासन प्रणालीको अध्ययनका लागि मौलिक सिद्धान्तको विकास हुनुपर्ने देखिन्छ। २१औं शताब्तीको चिनियाँ विशेषतासहितको समाजवादी देश निर्माणको दिशामा अगाडि बढेको चीनको विकास 'मानवताका लागि साझा भविष्य' प्रमुख सैद्धान्तिक अन्वेषण भएको प्रतिवेदनमा भनिएको छ।
