PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

सुजता भण्डारीको रहस्यमय मृत्यु, घटनाको सत्यतथ्य पत्ता लगाउन माग गर्दै चितवनमा प्रदर्शन



पहिलोपोस्ट

सुजता भण्डारीको रहस्यमय मृत्यु, घटनाको सत्यतथ्य पत्ता लगाउन माग गर्दै चितवनमा प्रदर्शन

काठमाडौं : असार ११ गते बिहान करिब ६ बजेतिर साथीको घर जना भनेर हिँडेकी चितवन राप्ती नगरपालिका वडा ३ घर भएकी २३ वर्षीया सुजता भण्डारी आइतवार दिउँसो मृत अवस्थामा फेला परेकी छिन्। स्थानीयले राप्ती नगरपालिका ब्रहमस्थानी जंगलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा पुगेको प्रहरीले शं১का लागेपछि भण्डारीको परिवारलाई बोलाएर सनाखत गराउँदा शव सुजताको नै भएको खुलेको छ। सुजताले असार ११ गते दिउँसो आफ्नी दिदिलाई फोन गरेर आफु अपहरणमा परेको जानकारी दिएकी थिइन्। त्यसपछि उनका परिवारले प्रहरीमा छोरी अपहरण भएको भन्दै उजुरीसमेत दिएका थिए। घटनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पनि हेरिरहेको थियो।

सुजताले फोनबाट आफूलाई अपरहण भएको जानकारी दिएकाले प्रहरीले टेक्निकल रुपमा पनि हेरिरहेको थियो। सुजताको फोन कल र अन्य रेकर्ड हेर्दा फोनबाट कुनै शंकास्पद गतिविधि देखिएको थिएन। त्यसपछि प्रहरीको अनुसन्धान अन्य एङगल तिर नै सोझिएको थियो।

'जघन्य प्रकृतिको अपराध भएको भन्ने जानकारी आएपछि हाम्रो टिम पनि संलग्न भएको थियो। हामीले मोबाइलबाट केही भेटिन्छ कि भनेर हेरेका थियौं। तर मोबाइलमा खासै शंका गर्ने लिड मिलेको थिएन,' ब्युरोकी प्रवक्ता एसपी गंगा पन्तले भनिन्।

आज बिहानै प्रहरी, स्थानीय, जनप्रतिनिधसहितको टोली घटनास्थल पुगेर शव पोष्टमार्टमको लागि अस्पताल ल्याउन पुगेको थियो। तर स्थानीयले हत्यारा पत्ता लगाउन दबाव दिँदै शव लैजान अवरोधसमेत गरेका थिए। अहिले चितवनमा सुजताको न्यायको लागि भन्दै प्रदर्शन भइरहेको छ। प्रर्दशनकारीले 'महिला हिंसा बन्द गर, हत्यारालाई कारबाही गरु लगायतका नाराहरु लगाइरहेका छन्।

प्रर्दशन भएपछि बाक्लो सङख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरीले गम्भीर तरिकाले अनुसन्धान नगर्दा घटना भएको आरोप लगाइरहेका छन्। प्रर्दशनकारीले पर्वपश्चिम राजमार्गमा समेत अवरोध गरेका छन्।

प्रहरीले अहिले जंगलमा सर्च गरिरहेको छ। शव भेटिएको स्थान नजिकै प्रहरीले खाली बट्टासमेत फेला पारेको छ। तर त्यो बट्टा के को हो? कतै पानीले बगाएर ल्याएको हो वा अन्य नै केही हो भन्ने पुष्टि भइसकेको छैन। 

'यो घटनाको हामीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेका छौं। प्रहरीको तर्फबाट कुनै पनि लापरवाही हुँदैन। तर आज शव पोस्टमोर्टमको लागि घटनास्थलबाट ल्याउँदै गर्दा स्थानीयले अवरोध गरे,' वाग्मती प्रदेश प्रहरीका प्रमुख प्रकाश सिंह कार्कीले बताए। 

शव जंगलभित्र भेटिएको हो। झ्याङमा शव अड्किएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै शव सडेको अवस्थामा छ। सुजता जंगलमा कसरी पुगिन्? के उनको अपहरणपछि हत्या नै भएको हो? वा अरु नै कारण हो भन्ने प्रहरीको अनुसन्धानबाट पुष्टि भइसकेको छैन।

'म घटनास्थलमा नै पुगेको छु। १ घण्टा हिंडेर जंगलभित्र पुगेको हो। शव एकदमै सडेको जस्तो देखिएको छ। पानीले बगाएर ल्याएको हो की जस्तो पनि देखिन्छ। अब बाँकी प्रहरीको अनुसन्धानबाट खुल्ला,' राप्ती नगरपालिकाका उपप्रमुख इमान सिंह लामाले भने।

मृतककी दिदीले दिएको जानकारी अनुसार सुजताको अपहरण भएको भन्ने छ। तर अपहरणकारीले कुनै पनि फिरौति रकम मागेको अहिलेसम्म प्रहरी अनुसन्धानमा खुलेको छैन। मृतक भण्डारीको परिवार आर्थिक रुपमा समान्य नै रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell