काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध राष्ट्रिय सभामा विरोध भएको छ। नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले सोमबारको बैठकमा बिरोध जनाएका हुन्। उनले बिरोध स्वरुप कालो क्याप देखाएका थिए। उनले कालो झण्डा देखाउने अवस्था नभएकाले क्याप देखाएको बताए।
'कालो झण्डा देखाउने अवस्था नरहेकाले अध्यक्षज्यू मार्फत प्रधानमन्त्रीको कदमको विरोधमा कालो झण्डा स्वरुप यो क्याप देखाएको छु,' रायमाझीले भने।
उनले आफूले कहिल्यै पनि सदनमा कालो क्याप लगाएर नआएको भए पनि सोमबार बिरोधकै लागि कालो क्याप लगाएको बताए।
'म यो सदनमा ढाका टोपी लगाए हुँला। तर, आज कालो क्याप लगाएर प्रवेश भएको छु। मैले मोरङमा बस्दा पनि क्याप लगाएको थिइन,' उनले भने। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन विरुद्ध लाखौ मानिस सडकमा आउनुपर्ने भए पनि विपक्षी गठबन्धनका सुझबुझका कारण नआएको उनको दाबी छ। कोरोना माहामारीका कारण सडकमा प्रदर्शनका लागि आउनु उपयुक्त नभएको उनको भनाई थियो।
'लाखौ मान्छे सडकमा कालो झण्ड बोकेर आउनुपर्ने थियो। तर, पाँच दलको सुझबुझका कारण कोरोना माहामारी बढाउन सडकमा आउन हुँदैन भनेर आएनन्,' उनले भने।
