PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

सकियो ओलीले माधव नेपाललाई दिएको ७२ घण्टे अल्टिमेटम, के अब एमाले फुटछ त?



प्रकाश भण्डारी

सकियो ओलीले माधव नेपाललाई दिएको ७२ घण्टे अल्टिमेटम, के अब एमाले फुटछ त?

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपाललाई दिएको '७२ घण्टे अल्टिमेटम'को समयसीमा सकिएको छ। नेता नेपाल समूहलाई दिएको हस्ताक्षर फिर्ताको समयसीमा सोमवार ५ बजे सम्म थियो। उक्त समय सीमाभित्र नेपाल समूहले हस्ताक्षर फिर्ता लिएन।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका थिए। उक्त हस्ताक्षर ७२ घण्टाभित्र फिर्ता लिनुपर्ने नभए एमाले एकता नहुने ओलीले शनिवारको केन्द्रीय कमिटीको बैठकमा चेतावनी दिएका थिए। ओलीको दबाबका बाबजुत २३ जनाले हस्ताक्षर फिर्ताको निर्णय गरेनन्।

ओलीले नेपाललाई भेटन प्रस्ताव गरेर वार्ताका लागि दोस्रो तहका नेतालाई खटाए पनि नेपालले भने ओलीको प्रस्ताव अस्वीकार गरेका थिए। एमालेमा अहिले जेठ २ गते फर्कनुपर्ने माग भन्दा पनि कमिटीको बैधानिकतामाथि प्रश्न उठेको छ। ओलीले २०७५ जेठ २ गतेको एमालेको केन्द्रीय कमिटी कायम भएको बताए पनि नेपाल समूहले उक्त कमिटी अवैधानिक भएको दलील पेश गर्दै आएको छ। 

माओवादीसँग एकता पूर्व एमालेको केन्द्रीय कमिटी २४१ थियो भने हाल ओलीले भनेको केन्द्रीय कमिमटी २६४ जनाको छ। जसमा माओवादी परित्याग गरेका रामबहादुर थापा बादल सहितका २३ जना नेता थपिएका छन्। उक्त विषयलाई पनि नेपाल समूहले आफ्नो एजेण्डाका रुपमा अघि बढाएको छ। सबै विवाद 'प्याकेजमा' सहमति गर्नुपर्ने नेपाल समूहको अडान छ। अडानकै बाबजुत ओली समूहले नेपालमाथि दबाब बढाएको छ।

के भयो ३ दिनमा?

शनिवारको केन्द्रीय कमिटीको बैठक सुरु हुनुअघि ओलीले नेपाललाई फोन गरेका थिए। ओलीको फोन उठाउन मन नलगाएका नेपालले स्थायी कमिटी सदस्य तथा आफ्नो पक्षका नेता घनश्याम भुसालको मोबाइलबाट कुराकानी गरेका थिए। यद्यपि, कुराकानी भने सकारात्मक हुन सकेन।

ओली समूहका नेता सुवास नेम्बाङका अनुसार नेपालले बैठक रोकेर वार्ता गर्न आग्रह गरेका थिए भने ओलीले बैठकमै आएर आफ्नो कुरा राख्न आग्रह गरेका थिए। तर, कुरा नमिलेपछि ओलीले बैठक रोकेनन्। अघिल्लो दिन पनि ओली नेपालबिच कुराकानी भएको थियो। केन्द्रीय कमिटीको पहिलो दिनको बैठक शुक्रवार सुरु हुनुअघि पनि ओली-नेपालबिच भेट गराउन दोस्रो तहका नेता सक्रिय भएका थिए। उक्त प्रयास पनि सफल हुन सकेन।

नेपालले लगातार ओलीको प्रस्ताव अस्वीकार गर्न थालेपछि ओलीले आइतवार राति उनी निकट नेता भीम रावललाई बालुवाटार बोलाएका थिए। नेपाललाई मनाउन रावलले मात्रै सक्ने दोस्रो तहका नेताहरुको सल्लाहापछि ओलीले रावललाई बालुवाटार बोलाएका थिए। ओली-रावलबिच ३ घण्टासम्म भएको संवादमा ओलीले हस्ताक्षर फिर्ता लिन दबाब दिएका थिए। ओली निकट नेताका अनुसार रावलले भने वार्ताका लागि कार्यदल सक्रिय बनाउनुपर्ने र उक्त कार्यदलको प्रस्ताव अनुसार मात्रै नेता ओली-नेपाल भेटन सुझाव दिएका थिए।

बालुवाटारको शनिवार सम्पन्न केन्द्रीय कमिटीको बैठकले विभिन्न ५ निर्णय गरेको थियो। जसअन्तर्गत महाधिवेशनको मिति तोक्नेदेखि नेताहरुलाई जिम्मेवारी दिनेसम्मका निर्णय भएका थिए।

उक्त निर्णयलाई भने नेपाल समूहले अवैध भन्दै ओलीले एमालेको विवाद बढाउने काम गरेको आरोप लगाएको छ।

'ओलीको चेतावनी, फेरि कारवाही'

ओलीले भने 'अल्टिमेटम' भित्र नेपाल समूहले हस्ताक्षर फिर्ता नलिए कारवाही हुने चेतावनी दिएका थिए। उनले सोमवारसम्म हस्ताक्षर फिर्ता नलिए प्रतिनिधि सभा विघटनको मुद्दा अदालतबाट फैसला भएकै भोलिपल्ट केन्द्रीय कमिटीको बैठक बोलाएर कारवाही गर्ने चेतावनी दिएका थिए। शनिवारको केन्द्रीय कमिटीको बैठकमा वार्ताका लागि अब पर्खन नसक्ने ओलीले बताएका थिए।

'वार्ताका लागि २ जना मानिस लगाइदियो अनि पुतला जलायो। वार्ताका लागि हामीले पर्खिएर बैठक रोक्न पर्ने?,'ओलीले भनेका थिए। यसअघि नेपाल समूहका नेपाल सहितका ११ जनालाई कारवाही गरेपछि वार्ताको वातावरण खलबलिएको थियो। सहमतिका लागि ओलीले महाधिवेशन कमिटी भंग र कारवाही फिर्ताको निर्णय गरेका थिए।

नेपाल समूहले भने उनको चेतावनीको बेवास्ता गर्दै आएको छ। ओलीले आफू थप लिचिलो हुन नसक्ने केन्द्रीय सदस्यलाई ब्रिफिङ गरे पनि नेपालसँग भेटका लागि भने लगातार प्रयास गरेका थिए।

के एमाले फुटछ त?

'अल्टिमेटम' सकिएको भए पनि एमालेको दोस्रो तहका नेताहरुले पार्टीलाई विभाजनबाट रोक्नका लागि अझै संवाद गरिरहेका छन्। ओली समूहका नेता नेम्बाङले एकताका लागि लागिरहेका नेताहरुबिच टेलिफोनमा कुराकानी भइरहेको बताए।

'हामीहरुको बिचमा कुराकानी भइरहेको छ। एकताका लागि लाग्नेहरु लागि पनि रहेका छौ। विभाजनका लागि पनि गतिविधि भइरहेकै छन्,' नेम्बाङले भने।

उनले एकताका लागि ठोस खाका भने बनिनसकेको बताए।

ओली र नेपाल आआफ्नै अडानमा कायम रहेकाले वार्ता निर्णायक अवस्थामा पुग्न नसकेको हो। त्यसो त एमालेको नेताहरुले शुक्रवार र शनिवारको बैठक अघि एकताको मस्यौदा बनेको भए पनि अन्तिममा भाडिएको बताएका थिए। केही शब्दहरु मिलाउन बाँकी रहेकाले ओलीले केन्द्रीय कमिटीको बैठक राखेर निर्णय गरेपछि सहमतिको वातावरण भाडिएको नेपाल समूहका नेताहरुको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell