काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बालुवाटारबाटै भर्चुअल माध्यमबाट उद्घाटन गरे। उद्घाटन समारोहमा ओलीले आयोजना बनेकोमा खुसी व्यक्त गरे।
दाउरा र ग्यासका चुल्होलाई विद्युतमा परिणत गर्न आयोजना महत्वपूर्ण हुने उनको भनाइ थियो। नेपालीको बलबुतामा आयोजना सम्पन्न भएको ओलीको भनाइ थियो।
‘हामी हाम्रै बलबुतामा यस्ता आयोजना सम्पन्न गर्न सक्छौँ भन्ने सन्देश दिएको छ,’ ओलीले भने।
ओलीले राष्ट्रिय गौरवको आयोजना भएकाले राष्ट्रिय खुसी भएको बताए। नागरिकको पनि लगानी भएकाले लगानी सफल भएकोमा खुसी हुनुपर्ने उनको धारणा थियो।
ओलीले आयोजनाप्रति खुसी व्यक्त गर्दा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विष्णुप्रसाद पौडेल र मन्त्रालयका कर्मचारीको भने आलोचना गरे। उनले उर्जाको कार्यक्रममा उर्जामै गडबडी भएको भन्दै मन्त्री र कर्मचारीको आलोचना गरेका हुन्। आजको जस्तो गडबडी अब आउन नहुने भन्दै कर्मचारी र मन्त्रीलाई ओलीले सचेत गराएका थिए।
‘आजको जस्तो हुन दिनु हुदैन। उर्जाकै उद्घाटन उर्जाकै गडबडी। उर्जामन्त्री हुनुहुन्छ मेरो दाहिने पट्टी। उर्जा सचिव हुनुहुन्छ मेरो देब्रेपट्टी। प्राविधिक अगाडि हुनुहुन्छ,’ ओलीले भने।
उनले कार्यक्रममा सुरुवात गर्दा उर्जामा गडबडी आएको र त्यसलाई सुधार्नुपर्ने बताएका थिए।
‘एक सय एक निर्माण कम्पनीदेखि लिएर विद्युतका टेक्निसियन हुनुहुन्छ। बनाउनक लागि झुम्मिएको झुम्मिए हुनुहुन्छ। बनाउनु भो धन्यवाद छ। हामीले हाम्रो टेक्नोलोजी रिलायबल बनाउनुपर्छ,’ उनले भने।
