PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

झण्डै २ महिनापछि ब्युँतियो एमालेको कार्यदल, निरन्तर बैठक बस्ने दाबी



पहिलोपोस्ट

झण्डै २ महिनापछि ब्युँतियो एमालेको कार्यदल, निरन्तर बैठक बस्ने दाबी

काठमाडौं : नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक शुरु भएको छ। बैठक केहीबेर अघि सिंहदरवारमा शुरु भएको हो। जेठ २ गते गठन भएको कार्यदलको बैठक जेठ ७ गते बसे पनि त्यसयता बैठक बस्न सकेको थिएन।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबाट कार्यदलको नेतृत्व गरिरहेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले कार्यदलको बैठक भर्खरै शुरु भएको बताए।

‘आज कार्यदलको बैठक भर्खरै शुरु भयो। बैठकहरु निरन्तर हुन्छन्,’ उनले भने।

ओलीले नेपाल समूहका नेताहरुमाथि कारबाही गरेपछि कार्यदल निष्क्रिय भएको थियो। हाल भने उक्त कारबाही ओलीले फिर्ता लिएको निर्णय गरिसकेका छन्।

एमालेको विवाद समाधानका लागि ओली र वरिष्ठ नेता माधव नेपालको सहमतिमा १० सदस्यीय कार्यदल बनेको थियो। उक्त कार्यदलबाट नेपाल समूहबाट उपाध्यक्ष भीम रावलले नेतृत्व गरेका थिए भने घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र रघुजी पन्त सदस्य रहेका थिए। यस्तै, ओली समूहबाट नेम्वाङसहित विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल सदस्य रहेका छन्।

रावलले आइतवार राति बालुवाटारमा भएको भेटमा ओलीलाई कार्यदलबाटै समाधान खोज्न सुझाव दिएपछि कार्यदल ब्युँतिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell