PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

फुङ्फुङमा फुरुङ्ग : यात्राले बाटोमात्र होइन मान्छे पनि चिनाउँदो रहेछ (ब्लग)



रविन खाकी

फुङ्फुङमा फुरुङ्ग : यात्राले बाटोमात्र होइन मान्छे पनि चिनाउँदो रहेछ (ब्लग)

घुम्नु यहाँदेखि त्यहाँसम्म पुग्नु मात्र होइन। पुगेर फर्कुन्जेल दृश्यहरू हेर्नु, आवाजहरू सुन्नु अनि ती सबैलाई यादमा कैद गर्नु हो, सधैंका लागि।

फुङफुङ झरनासम्म यात्रा तय गर्नु थियो। सम्झनलायक समय बाँच्नु थियो। तर, हिँड्नुभन्दा अघिल्लो दिन 'वेदर फरकास्ट'ले भोलिपल्ट पानी पर्ने बतायो। त्यसो भयो भने योजनामा पनि पानी पर्नेवाला थियो, अघिल्लो साताको जस्तैगरी।

लकडाउनका कारण घरमा थुनिएको महिनौं भइसकेको थियो। त्यसैले पनि घुम्न निस्कनु आवश्यक थियो। दैनिकीलाई फरक ट्र्याकमा चलायमान बनाउनु थियो। कन्क्रिट शहरभन्दा पर, व्यस्तता र अस्तव्यस्तताबाट टाढा – प्रकृति अंगाल्न।

साथीहरूसँग बाइकको लामो यात्रामा निस्कने योजना त लकडाउन सुरु भएदेखिकै हो। तर, टुङ्गो थिएन कहाँ जाने? नजिकको दाइले बताउनु भयो नुवाकोटको सबैभन्दा लामो झरनाको बारेमा। काठमाडौंबाट करिव ४० किलोमिटरमात्र पर रहेछ 'फुङफुङ' झरना। जसको बारेमा इन्टरनेटमा खोज्दा भेटिएका केही फोटो र भिडियोले मन थाम्नै नसक्ने बनायो। त्यतिबेलादेखि नै हो हुत्तिएर त्यहाँ पुग्न मन लागेको। साथी अनिष र उसको दाइ आशिष, सहकर्मी प्रवीण, अस्बिन र साजन मिलेर योजना बनायौं झरनामा रमाउन जाने।

ठ्याक्कै त्यहीबेला सरकारले निजी सवारी साधन चल्न दिने बतायो, जोर बिजोर प्रणालीमा। सवारी साधन ठप्प भएको अवस्थामाभन्दा केही सहज हुनसक्थ्यो। 

तर, रोकिदियो झरीको सम्भावनाले। त्‍यसैले योजना बनेकोभन्दा ठीक एकसाता पछि मात्र तय हुने भयो यात्रा।

त्यतिन्जेल कहाँ सबैकुरा उस्तै रहन्थ्यो र?

साजन दाइको असाइनमेन्ट गर्नुपर्ने भएकाले योजनाबाट बाहिरिनु भयो। निस्किने दिन प्रवीणको पनि अन्तै निस्किनु पर्ने भयो, रिपोर्टिङको लागि। हामी चार जना भयौं। दुई वटा बाइक लिएर हिँड्यौं। सुखद् कुरा के भने झरीको कुनै संकेत पाएका थिएनौं।

बालाजु बाइपास कटेपछि मुड्खु भन्ज्याङ् हुँदै ओशो तपोवन र तीनपिप्ले। तीनपिप्ले पुगेपछि मात्र महसुस भयो – यात्रा त अब सुरु हुँदैछ। किनकि सहज बाटो सकियो, हिलोमा गुडाउनु पर्ने भयो बाइक। बर्खामा गाउँको बाटो त्यति हुनु स्वभाविक पनि थियो। ककनी पुग्नै साढे दुई घण्टाभन्दा बढी लाग्यो।

ककनीको डाँडा उक्लिएपछि त्यहाँ रोकिनु र परपर देखिने हिमाल हेर्नु अनिवार्यजस्तै हो। तर, हामी पुगेको दिन हुस्सु लागेको थियो। दृश्य कम रोमाञ्चक भने थिएन। कहीं माथि उभिएर समुद्रको पानी हेरेजस्तो। त्यहाँ फोटो खिचायौं। र, अघि बढ्यौं। त्यसपछि भेटिने रानीपौवामा रोकिनु थियो, खाजा खानु थियो। योजना अनुसार एक बज्नु अघि नै त्यहाँ पुग्यौं। भोको पेट भरिएपछि फोटो खिचायौं। दृश्य कैद गर्न छुटाउनु हुँदैन थियो किनकि हेरेर पाएको खुशी फर्किएर साट्नु थियो। याद धुमिल बन्दै नजाओस् भन्न पनि सम्हाल्नु थियो, फोटो र भिडियोमा।

गन्तव्यसम्म पुग्ने बाटो थाहा नहुनु हराउनु होइन रहेछ। बरु सम्भावनाहरू खोज्नु रहेछ, बाटो बनाउनु रहेछ। हामी बाटोमा भेटिएकाहरूलाई सोध्दै हिँड्यौं। जहाँ पुग्नु थियो त्यहाँ बाहे अन्त भएका अझै ठूला र मनमोहक झरनाहरूबारे बताए मानिसले। सुझाए, हामी रम्न सक्ने अझै सुन्दर ठाउँहरू। उभिएको ठाउँभन्दा परपर साँच्चै रोचक देखिएका थिए पहाड र थुम्काहरूबाट खसिरहेका पानीहरू। तर, झरनालाई पो खसेपछि कहाँ पुग्छु थाहा हुँदैन। हामीलाई त थाहा थियो पुग्नु पर्ने फुङफुङ झरनासम्म नै थियो।

जिब्रोमा सुकुटी, चिउरा र अण्डाको स्वाद बोकेर लाग्यौं ओरालो। राजमार्ग छोडेर केही तल पुगेपछि आइपुग्यो धन्सार गाउँ। गन्तव्य नजिक पुग्न जति समय लाग्दै थियो त्यति नै चुनौतिपूर्ण बन्दै थियो बाटो। फर्कने कि अघि बढ्ने? अन्यौलता नछाएको होइन तर हामी सबै सजिलै विचलित हुनुहुन्न भन्ने पक्षमा थियौं। गन्तव्य नजिकिँदो छ भन्ने जानकारीले चाहिँ केही राहत दिएको थियो हामीलाई।

बाटोमा भेटियो सानो खोला। ठूलो झरना हेर्न हिँडेको हामीलाई त्यो खोलाले खासै उत्साही बनाएन। तर, प्रकृतिलाई कम नआँक्नु भन्ने पाठ पढायो। किनकि त्यही खोला हाम्रो यात्राको बाधा बनिदियो। पानी, चिप्ला ढुङ्गा र दलदलबाट बाइक कटाउने हम्मेहम्मे पर्‍यो। समय र पसिना बगाएर पारी त पुगियो तर त्यहाँबाट एक किलोमिटर पर नपुग्दै सडक अवरुद्ध रहेछ। पहिरोका कारण छेकिएको बाटोमा पाङ्ग्रा गुड्नु असम्भवजस्तै थियो। हामीसँग पाइला चाल्नुको विकल्प रहेन। 

धन्सारसम्मै फर्कियौं। बाइक राख्न। त्यहाँबाट बाटो सोध्दै हिँड्यौं। तर, आधा घण्टा परसम्म पुग्दा पनि कतातिर मोडिने? कुनै संकेत थिएन। जति अघि बढ्यो जंगल बाक्लिँदो थियो। परपरसम्मै न कुनै झरना देखिन्थ्यो न बस्ती नै। त्यहीँ भेटिएकी एक हजुरआमाले भन्नुभयो – बाबुहरू उ त्याँ परबाट ओरालो लाग्ने हो।

सोच्यौं – ती आमा नभेटिनु भएको भए हामीले बाटो पनि भेट्ने थिएनौं। उनीपनि त्यतै लाग्दै रहेछिन् त्यसैले हामीलाई निर्देशन गरिन्। गन्तव्यसम्मै। हामी एउटै बाटो हिँडिरहेका थियौं। तर, उद्देश्य फरक। हामी रमाउन हिँडिरहेका थियौं। उनी मकैको भारी लिन। हाम्रो रहर पूरा हुँदै थियो उनको बाध्यता।

यात्राले बाटो मात्र होइन मान्छे पनि चिनाउँछ। हरेक पटक शहर छाडेर गाउँतिर पुग्दा साह्रै मिजाशिला र आफ्नोपन महसुस गराउने मानिसहरू भेटिन्छन्। ती आमा पनि त्यस्तै थिइन्। उनी हामीसँग बोल्दै थिइन्। त्यो आवाजमा अर्को आवाज मिसियो। कतैबाट पानी खसेर ढुङ्गामा ठोक्किएको आवाज। हामीले मेसो पायौं गन्तव्य धेरै टाढा छैन भन्ने। हाम्रो खुशीको सीमा रहेन। धन्यवाद व्यक्त गर्दा मिसिएको खुशी, जोश र उत्साहले गर्दा ती आमाले पनि थाहा पाइन् होला त्यहाँसम्म पुग्न हामीलाई कति हतार थियो।

माथिबाट खसिरहेको कञ्चन पानीको फोहोरा देख्दा हाम्रो थकान कहाँ उड्यो उड्यो। हामी एकअर्कालाई बिर्सिएर रमाउन थाल्यौं। रमाउँदा भेउ पाएनौं पानीको छिटाहरूले लुगा भिजाएको। त्यसैले भिज्ने चिन्ता बाँकी थिएन। हामी पानीसँगै मिसियौं। त्यहीँ नुहायौं। करिव दुई सय मिटर माथिबाट खसेको पानीले त दुख्नेगरी हिर्काउँदो रहेछ। 

पानीमा भिजिराख्दा अनौठा कुराहरू खेल्दो रहेछ मनमा। नुहाउँदा नुहाउँदै टाउकोमा पानीसँगै सर्प खस्यो भने? प्रवीन र साजन दाइ पनि आउनु भएको भए कति रमाइलो हुन्थ्यो होला? होइन ठीक छ, यहाँको फोटो र भिडियो देखाएर जलाउनु पर्छ छुटेकाहरूलाई भन्ने समेत भयो।

भिजु र घाम सेलाउँदै जानु एकसाथ भएको थियो। त्यसैले चिसो महसुस भयो। हामीले स्टोभ बोकेर गएका थियौं। त्यसैमा पानी ततायौं, चियाको तलतल मेट्नलाई। यसरी रमाइ रहेका थियौं कि हामीलाई समयको समेत होस थिएन। साँझको करिव ५ बजेपछि सम्झियौं बाटो लामो छ, हिलो र चिप्लो पनि। पानी पर्ने सम्भावना अझै टरेको कहाँ थियो र? अध्यारो बढेपछि जोखिम पनि बढ्थ्यो।

सामान बोकेर बाइक भएतिर लाग्यौं। फर्कदाँ हामीले बाटोलाई चिन्यौं त्यसैले पाइला छिटोछिटो अघि बढ्यो। यात्रा छोटिएको अनुभूति भयो। बाइक स्टार्ट गर्दा ६:१५ भएको थियो। भोक र हतार मिसिँदा हामी केहीबेर अलमलियौं, खाने कि अघि बढ्ने? प्रश्नबिच रुमलियौं। केही भोकसँग भाग्न खोज्यौं केही अध्यारोबाट। दिउँसो खाजा खाएको ठाउँसम्म पुग्ने सल्लाह भयो। त्यसै गर्‍यौं। यो पटक बाटोसँग अलि कम डरायौं। आफू हिँडेको बाटो भएकाले हुनसक्छ केही बढी अपनत्व महसुस भयो। रोक्किँदै, पर्खिँदै, थकाइ मार्दै, भोक मेट्दै यात्रा पूरा गर्‍यौं।

रातको १० बजे घर पुग्दा, आमाले तलदेखि माथिसम्म हेरिन् र सोधिन् – खेत जोत्न गएको थिइस् कि क्या हो?

यतिबेला मैले दिउँसो भेटिएकी आमा सम्झिएँ जो खेततिर लाग्दै थिइन्। रहर होइन बाध्यताले। तर म त रहर पूरा गरेर फर्किएको थिएँ। फुङ्फुङ् झरनाबाट फुरूङ्ग मन लिएर। फेरि एकपटक ती आमालाई सम्झिएँ र मनमनै भने – यात्रासँगै तपाईं पनि सधैं मनमा बस्नुहुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell