PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

युरो कप सेमिफाइनल: स्पेन र इटली भिड्दै



पहिलोपोस्ट

युरो कप सेमिफाइनल: स्पेन र इटली भिड्दै
Photo: UEFA

यूईएफए युरो कपमा आज राति हुने पहिलो सेमिफाइनल खेलमा स्पेन र इटली आमनेसामने हुँदैछन्। इङ्ग्ल्याण्डको वेम्बली स्टेडियममा राति पौने एक बजे खेल सुरु हुनेछ।

समूह 'ई' को उपविजेता स्पेनले प्रतियोगिताका सुरुवाती दुई खेलमा बराबरी खेल्दै निराशाजनक सुरुवात गरेको थियो। यद्यपि त्यसपछिका दुई खेलमा भने बिपक्षीको पोस्टमा समान ५/५ गोल गर्‍यो।

अन्तिम १६ को खेलमा ८ गोलको 'थ्रिलर' मा क्रोएसियालाई ५-३ गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो। त्यस्तै क्वाटरफाइनलमा स्वीजरल्याण्ड लाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेनले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो।

त्यस्तै पछिल्ला ३२ खेल यता अपराजित समूह 'ए' को विजेता इटलीले अन्तिम १६ मा अस्ट्रियालाई २-१ ले हराउँदै इटलीले क्वाटरफाइनलको यात्रा तय गरेको थियो। क्वाटरफाइनलमा विश्व वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमलाई हराउँदै इटलीले सेमिफाइनलमा स्थान बनाएको थियो।

क्वाटरफाइनलमा जर्मनीको म्युनिखस्थित एलिनाज एरेनामा सम्पन्न खेलमा इटलीले बेल्जियमलाई २-१ गोलअन्तरले हराएको थियो।

युरो कपमा यी टोली सातौं पटक आमनेसामने हुँदैछन्। जसमध्ये पछिल्लो पटक स्पेनले सन् २०१२ को फाइनलमा ४-० ले जित निकालेको थियो। त्यस्तै इटलीले २०१६ मा अन्तिम १६ मा २-० ले हराएको थियो।

त्यस्तै स्पेनले चौथो युरो कप जित्न लागि परेको छ भने सन् १९६८ मा युरो कप जितेको इटली दोस्रो पटक उपाधि जित्न चाहन्छ।

आज हुने खेलमा इटली र स्पेनका समर्थकको उपस्थिती न्युन हुने सम्भावना छ। इङ्ग्ल्याण्डस्थित वेम्बली स्टेडियममा सम्भावित ६० हजार दर्शकका बीच क्वारेन्टिन लगायतका नियमका कारण दुबै देशका समर्थकको उपस्थित न्युन हुने बताइएको छ।

इटलीको फुटबल एसोसिएसनका अध्यक्ष गाब्रिएल ग्राभिनाले आफूहरुलाई १२५ टिकटमात्र प्राप्त भएको बताएका छन्।

'इटली र स्पेनकै समर्थकहरु त्यहाँ नहुनु अन्याय हुन्छ,' इटलीका प्रशिक्षक रोबेर्टो माचिनीले भनेका छन्, 'तर, केही मानिसका अघि मात्र खेल्नु भन्दा अन्य समर्थककै अघि भए पनि खेल्न राम्रो हुनेछ।'

अर्कोतर्फ स्पेनका प्रशिक्षक लुइस इनरिक्वले युकेमा बस्ने इटली र स्पेनका मानिसहरुको उल्लेखनीय उपस्थिति हुने अपेक्षा गरेका छन्।

'यो एउटा अनौठो अवस्था भयो। मलाई लाग्छ इङ्ग्लिस समर्थक भन्दा धेरै स्पेन र इटलिका समर्थक छन्। तर, केही करा छन, जसलाई हामी नियन्त्रण गर्न सक्दैनौ,' उनले भनेका छन्, 'यसमा म शक्ती खर्च गर्न चाहन्न। हामीलाई आशा छ यो अवस्था फरक छ तर हामीले यसलाई स्वीकार्नु पर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell