PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

‘कोभिड फ्रन्टलाइनर’ भित्तेचित्र प्रकरणमा मेयर शाक्य : 'सर्वोच्चको आदेश र महानगरको कानुन उल्लंघन गर्न पाइँदैन'



पहिलोपोस्ट

‘कोभिड फ्रन्टलाइनर’ भित्तेचित्र प्रकरणमा मेयर शाक्य : 'सर्वोच्चको आदेश र महानगरको कानुन उल्लंघन गर्न पाइँदैन'

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाले बनाएको कानुन–नीति र सर्वोच्चको फैसलालाई सबैले पालना गर्नुपर्नेमा बताएका छन्।

नगरसभाको नवौं अधिवेशनको पाँचौं बैठकपछि कुराकानी गर्दै उनले भने, ‘हामी नीति बाहिर जानुहुन्न। सर्वोच्च अदालतको फैसला र महानगरपालिकाको कानुन-नीतिलाई उल्लङ्घन गर्न पाइन्न। जे नीति छ, त्यहीँ नीति कार्यान्वयनमा लाग्नुपर्छ।’

शाक्यले ‘कोभिड फ्रन्टलाइनर’ हरुको सम्मानमा बनाइएका भित्तेचित्र मेयरले मेटायो भनेर बढी नै प्रचार गरेको बताए। ‘कार्टुन बनाएर मेरो प्रचार गरियो। उहाँहरुलाई व्यक्तिगत रुपमा धन्यवाद,’ शाक्यले भने, ‘तर, सर्वोचको आदेश र महानगरपालिकाको कानुन–नीति उल्लङ्घन गरी जथाभावी भित्ते चित्र कोर्न पाइन्न।’

प्रमुख शाक्यले सकारात्मक सुझाव ग्रहण गर्न तयार रहेको बताए। उनले भने, ‘सर्वोच्च अदालतले २०७२ सालमै सहरका घर, पर्खाल, बिजुलीको पोल लगायतमा रहेका पर्चा, पम्पलेट, भित्तेलेखन, होडिङबोर्ड, विज्ञापन बोर्ड हटाउन र थप राख्न नदिन आदेश दिएको स्मरण गराउन चाहन्छु। त्यसैले मेयरलाई देखाइन्छिौ भनेर नीति–नियमको उल्लङ्घन गरी योजनावद्द ढंगले अघि बढ्ने हो भने कोही पनि लक्ष्यमा पुग्न सक्दैनौं।’

०७२ भदौ १६ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगर क्षेत्रका होडिङ बोर्डहरु, भित्ते लेखन, पोष्टर, पम्पेटलगायतका सामग्री हटाउन आदेश दिएको थियो। महानगरपालिकाको निर्देशिका र विज्ञापन नीतिले पनि विज्ञापन तथा प्रचार सामग्री र भित्तेलेखनमा रोक लगाएको छ।

सर्वोच्चको आदेशलाई कार्यान्वयन गर्दै विगतमा पनि त्यस्ता सागम्री हटाउने कार्य गरेको स्मरण गराउन चाहन्छु,’ उनले भने, ‘पैसा तिरेर विज्ञापन राख्छौं भन्दा पनि हामीले सर्वोच्चको आदेश र महानगरपालिकाको नीति पालना गर्दै त्यसो गर्न नदिएको हो। त्यसबाट आयस्रोत त हुन्थ्यो नि हामीले नीति छैन भनेर दिएनौं। त्यसैले सर्वोच्चको आदेश र महानगरको नीति मेयर, उपयमेरले मात्रै होइन वडाध्यक्ष, सदस्य, कर्मचारी सबैले मान्नुपर्छ।’

उनले यस अघि पनि दरबार हाइस्कुल, त्रिचन्द्र कलेज, वीर अस्पताल अगाडि, नेशनल ट्रेडिङलगायतका स्थानका भित्तामा लेखिएका सामग्री हटाएको जानकारी दिए। ‘नीति सबैका लागि बराबर हुन्छ,’ शाक्यले भने, ‘पहिलो पटक रत्नपार्कको भित्तेचित्र मेटाएको जसरी प्रचार भैरहेको छ। त्यो होइन, निधेष गरिएका अन्य ठाउँमा पनि अनुमति नलिइ बनाएका त्यस्ता सामग्री हटाएका छौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell