PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

सडकमा सवारीको चाप, साना सवारीमा यात्रु सिट छुटाउन प्लास्टिकको बार

सडकमा सवारीको चाप, साना सवारीमा यात्रु सिट छुटाउन प्लास्टिकको बार

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौंः आजबाट काठमाडौं उपत्यकाभित्रका सबै सवारी साधन चलेका छन्। लामो समयदेखि बन्द रहेका सवारी साधन सडकमा गुड्दा चाप बढेको छ।

देशभर कोरोना संक्रमण बढ्दै गएपछि वैशाख १६ गतेबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो। त्यसपछि सबै सवारी साधन ठप्प भए। निषेधाज्ञाको ५४ दिनपछि सार्वजनिक सवारी साधनलाई जोरबिजोरको आधारमा चल्न दिने निर्णय भयो। तर २५ सिट भन्दा कम क्षमता भएका सवारी साधनलाई भने चल्न दिएन।

तर आजबाट भने साना ठुला, सार्वजनिक तथा निजी सबै प्रकारका सवारी साधन गुडेका छन्।

काठमाडौं उपत्यकाभित्र दैनिक ८ लाख भन्दा बढी सवारी साधन गुड्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्कले देखाएको छ।

काठमाडौं उपत्यकाभित्रको कोटेश्वर, जमल, जाउलाखेल, कलङ्की लगायत क्षेत्रमा सवारी चाप बाक्लो देखिएको छ। सफा टेम्पु तथा माइक्रो पछाडि तेस्रो सिटमा ४/४ जनाको दरले ८ जना र चालक छेउमा १ जना गरी कुल ९ जना यात्रु भन्दा बढी राख्न पाइने छैन। सवारीको मध्य भागमा दुईतर्फी यात्रुहरू छुटाउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्ने भएकाले प्लास्टिक लगाएर चलाइएको पाइएको छ। त्यस्तै सेनिटाइजर समेत झुन्डियाइएको छ।

तर चालक भने यात्रु कम भएको बताएका छन्।

सवारी साधनसँगै अन्य व्यापार व्यवसाय तथा सरकारी कार्यालयहरू सञ्चालनमा आउँदा मानिसको भिडभाड सडकमा देखिएको छ। काठमाडौंको सवारी व्यवस्थापनको लागि १ हजार भन्दा बढी ट्राफिक प्रहरी सडकमा खटिएका छन्।

तर काठमाडौं उपत्यकामा निषेधाज्ञा भने जारी नै छ। तर काठमाडौं उपत्यकाभित्र छिर्ने नाकामा भने कडाइ गरेको छ। आवश्यक कामले उपत्यकाभित्र प्रवेश गर्न परेमा सम्बन्धित जिल्लाको अनुमति लिएर मात्र प्रवेश गर्न व्यवस्था गरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell