PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

स्थानीयको सहयोग पाएपछि कोरोना महामारीमा नै निर्माण सम्पन्न भएको खानेपानी आयोजना, जसबाट २ हजार परिवार लाभान्वित भए



पहिलोपोस्ट

स्थानीयको सहयोग पाएपछि कोरोना महामारीमा नै निर्माण सम्पन्न भएको खानेपानी आयोजना, जसबाट २ हजार परिवार लाभान्वित भए

काठमाडौंः कोभिड-१९ महामारी सुरु भएपछि धेरै विकास निर्माणका आयोजना अलपत्र अवस्थामा छन्। कतिपय आयोजनामा कामदार अभावले कामै सुरु हुन सकेको छैन्। कोभिडले साना र ठूला गरेर धेरै आयोजना वर्षौपछि धकेलेको छ।

तर कोभिडकै बीच पनि केही आयोजनाले भने समयमै काम सम्पन्न गरेका छन्। ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर- ५ को खानेपानी आयोजना जुन ग्राउण्ड ब्रेकिङ गरेको केही समयमै कोभिड महामारीको चपेटामा पर्‍यो।

१३ करोड रुपैयाँ लागतमा राधाकृष्ण खानेपानी तथा सरसफाई समितिले निर्माण गरेको खानेपानी ट्यांकी कोभिड महामारीकै बीचमा सकिएको छ। यो ट्यांकी निर्माणको ठेक्का पाएको भीमेश्वर ड्रिलिङ प्रालिले महामारीका बीच पनि मजदुर र निर्माण सामाग्रीको व्यवस्थापन गरेर केही दिन अघि मात्रै समितिलाई ट्यांकी हस्तान्तरण गरेको छ।

कम्पनीका संचालक सहदेव खड्काले कोभिडका कारण मजदुर र निर्माण सामाग्री व्यवस्थापन गर्न समस्या भए पनि स्थानीयको सहयोगले समयमै सम्पन्न गर्न सकेको बताए। ‘खानेपानी समितिले निरन्तर सहयोग गरेकै कारण हामीले समयमा निर्माण गर्न सकेका हौं,’ उनले भने, ‘महामारीका बीचमा पनि निर्माण सक्दा हामीलाई हौसला समेत मिलेको छ।’

समितिका सचिव महेश्वर घिमिरेले नयाँ ट्यांकी निर्माण भएपछि दुई हजार घरपरिवार लाभान्वित हुने बताए। ‘पहिला हामीसँग साढे दुई लाख लिटर अट्ने मात्रै ट्यांकी थियो। त्यो अपुग भएपछि दोस्रो फेजमा साढे चार लाख लिटरको ट्यांकी निर्माण सुरु भएको थियो,’ उनले भने, ‘हामीले एक दिन बिराएर खानेपानी वितरण गर्न सक्छौं।’

समितिका अध्यक्ष सुमनकुमार केसीले समन्वयकारी भूमिका निर्वाह गर्दा जस्तोसुकै कठिन परिस्थितिमा समेत काम गर्न सकिने प्रमाणित भएको बताए। ‘आयोजना सुरु गरेको केही समयमै कोभिड महामारी सुरु भयो। त्यो बेलामा मजदुरलाई काम गराउन सकिने अवस्था थिएन। कामलाई निरन्तरता दिन स्थानीयलाई समेत कन्भिन्स गराउनुपर्ने थियो,’ उनले भने, ‘पहिलो लहरको कठिन अवस्था र दोस्रो लहरमा मृत्युदर नै बढी हुँदा मजदुरलाई काम लगाउन निर्माण कम्पनीलाई समेत गाह्रो थियो। तर हामीले निरन्तर निर्माण कम्पनीलाई ढाड्स दिएर काम सक्न प्रेरित गर्‍यौं।’

 

ट्यांकी निर्माणका लागि प्रदेश सरकारले अनुदान रकम दिएको थियो। प्रदेशसभा सदस्य माधव पौडेलको संक्रियतामा यो आयोजनामा बजेट विनियोजन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell