PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

वाग्मतीमा नीति कार्यक्रममा साथ दिएको माधव समूहको बजेटमा ‘विद्रोह’, एमाले नमिले पारित हुने सम्भावना न्यून



निशा गुरुङ

वाग्मतीमा नीति कार्यक्रममा साथ दिएको माधव समूहको बजेटमा ‘विद्रोह’, एमाले नमिले पारित हुने सम्भावना न्यून

हेटौंडा : वाग्मती प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष ०७८/०७९ को बजेट पारित गर्न समस्या देखिएको छ। नेकपा एमालेभित्रकै आन्तरिक कलह र आपसी विवादका कारण बजेट पास गर्न समस्या देखिएको हो। यद्यपि नीति तथा कार्यक्रम पारितमा भने माधव समूहले साथ दिएको थियो।

विपक्षी दलहरु माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा, नेमकिपा, राप्रपा र स्वतन्त्र सांसद बजेटको विपक्षमा छन्। उनीहरुले प्रदेशसभा अवरुद्ध गर्दै आएका छन्। यसमा माधव नेपाल समूह पनि मिसिँदा मुख्यमन्त्री डोरमणी पौडेलको सरकार संकटमा परेको हो।

प्रदेशमा रहेका एमालेका ५६ प्रदेशसभा सदस्यमध्ये एक जनाले मात्रै विपक्षमा हात उठाए पनि बजेट फेल हुने स्थिति छ। यस्तो अवस्थामा संसदमा बजेट निर्णयार्थ पेस भएको खण्डमा सत्तारुढ एमालेका एक एक मत निर्णायक छ । एमालेको माधव नेपाल - झलनाथ खनाल समूह र केपी समूहबिच माथिल्लो तहमा एकता नभएमा बजेट पारित हुने सम्भावना न्यून छ। ‘केन्द्रमा एक भएमात्र तल बजेट पारित हुन्छ। नत्र हुँदैन,’ माधव समूहका एक सांसदले भने, ‘माथि पेल्ने, अनि तल बजेट पास हुन्छ?’

प्रदेश सरकारले आफूनिकटलाई धेरै र अरुलाई थोरै बजेट दिएको भन्दै सांसदहरु बजेट पास गर्नेबेलामा विभाजित छन्। बजेट पास गर्नकै लागि मुख्यमन्त्री पौडेलेको अग्रसरतामा संसदीय दलको बैठक राखेर छलफल समेत गरेको थियो। असन्तुष्ट पक्षलाई फकाउन एमाले वाग्मती प्रदेश संसदीय बोर्डले नेपाल पक्षका सांसदलाई गरेको कारबाही समेत फुकुवा गरेर बजेटलाई परामर्श दिन कार्यदल समेत गठन भएको छ। तर निरन्तर प्रयासको बाबजवुद पनि नेपाल समूह अझै पनि बजेटलाई पास गराउन पूर्ण सहमत भइसकेको छैन।

प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्मकट्टेलले बजेट प्रदेशवासीको हितमा नभई अपारदर्शी रहेको भन्दै मुख्यमन्त्री पौडेलसँग असन्तुष्टि व्यक्त गरेका छन्। बजेटका विषयमा छलफल नभई बैठक नबस्ने भन्दै संसद अवरुद्ध गरेका थिए।

सबै सांसद सहमत हुनुपर्छ: नेतृ शाक्य

नीति तथा कार्यक्रम पास गराउन साथ दिएकी माधव पक्षकी नेतृ अष्ट लक्ष्मी शाक्ले बजेट पास गराउन सबै सांसहरुको सहमत हुनुपर्ने बताइन्। बजेट न्यायोचित नभएको भन्दै संसद अवरुद्ध गरिहेको बेलामा सांसदहरुले पेश गरेको योजनाहरु समेटेर बजेट वितरण गर्नुपर्ने उनको सुझाव छ। ‘अहिले हामी प्रतिपक्षीको छलफलमै अल्झिएका छौं, हाम्रो छुट्टै बैठक बस्ने तयारी छ। बैठकमा आफ्नो दलसँग कुरा राख्छौं,’ उनले भनिन्।

यस्तै नेकपा माधव पक्षकी सांसद मुनु सिग्देलले सरकारले झुक्याउने काम गरेको बताइन्। ‘संसदीय दलमा कार्यदल बनाएर योजना माग गरियो, अनि दुईवटा किताब छापेर हाम्रो योजना राखेर एउटा किताब हामीलाई दिइयो अर्को किताब बजेट कार्यान्वयन गर्न बनाइयो। यसरी सांसदहरूलाई झुक्याउने काम भयो’, उनले भनिन्। सांसद सिग्देलले यहीँ अवस्थामा बजेट निर्णयार्थ पेस भए पास गर्न नसक्ने प्रतिक्रिया दिएकी छन्।

बजेट पास हुन्छ: मुख्य सचेतक

यता एमाले वाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले कुनै पनि हालतमा बजेट पास गराएरै छाड्ने बताएका छन्। उनले पार्टीभित्र खट्पट् रहेता पनि माधव पक्षका सांसदहरुले पनि बजेट पास गराउन साथ दिने बताए।

सचेतक पाण्डेले वाग्मती प्रदेशका सभामुखले बोलाएको सर्बदलीय बैठकमा बजेटमा भएका सत्यतथ्य विवरण सार्वजनिक गर्ने, प्रतिपक्ष दलले उठाएको सरोकारको विषयमा स्पष्टीकरण दिने सहमति हुँदा हुँदै प्रमुख प्रतिपक्षी दलले उल्लघंन गरेको आरोप लगाए।

‘सदनमा उठेका विषयहरुको सरकार जवाफ दिन तयार हुँदा हुँदै सरकारलाई जवाफ नदिन पटक पटक सदनमा अवरोध गरेको हुँदा हामी कानुनी विचार खोज्न बाध्य हुन्छौं,’ उनले भने। उनले सदनभित्र प्रवेश गरेको बजेट चल्न नदिई प्रमुख प्रतिपक्षी दलले संसद बाहिर जान बाध्य बनाएपछि आफूहरु तयार रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell