PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

ज्याठाको एउटा होटेलभित्र चिनियाँ गिरोहको आपराधिक अखडाः वन्यजन्तुको छाला तस्करीदेखि मिनी क्यासिनोसम्म

ज्याठाको एउटा होटेलभित्र चिनियाँ गिरोहको आपराधिक अखडाः वन्यजन्तुको छाला तस्करीदेखि मिनी क्यासिनोसम्म

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : सोमबार राति साढे १० बजेतिर प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर १७ ज्याठामा रहेको च्याङक्हु खाचान होटेलमा छापा मार्‍यो। महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले संयुक्त रुपमा छापा मारेको थियो। सात दिनअघि वृत्तको इन्चार्ज बुझेका डिएसपी दुर्गा दाहालको नेतृत्वमा टोली होटेल पुगेको थियो।

होटलको दोस्रो तलमा प्रहरीले शङ्कास्पद गतिविधि भएको जानकारी पाएको थियो। त्यसैको आधारमा प्रहरी त्यहाँ पुग्दा अबैध रुपमा जुवाको सट्टेबाजी भइरहेको भेट्यो। चिनियाँ नागरिकले जुवा खेल्न प्रयोग गर्ने दुई वटा विद्युतीय टेबल नै प्रयोग गरेर मिनी क्यासिनोको रूपमा खेल भइरहेको थियो।

क्यासिनोको शैलीमा नै चिनियाँ भाषामा माजुङ भनिने गोटी राखेर खेल भएको थियो। तर खेल खेल्न धेरै मानिस भने थिएनन्। चार जना चिनियाँ नागरिक मात्र होटेलमा फेला परे। प्रहरीले होटेलको अन्य ठाउँ पनि सर्च गर्‍यो। दोस्रो तलामा अवैध सट्टेबाजीका सामाग्री मात्र भेटिएन दुर्लभ वन्यजन्तुका अङ्ग र छाला समेत भेटिए।

झन्डै ७ फिट लामो पाटे बाघको छाला, गाईको जस्तो देखिने छाला, कस्तुरीको विना २० थान भेटियो। प्रहरीले अहिले यस घटनाको अनुसन्धान गरिरहेको छ। यसमा अन्य मानिसको पनि संलग्नता हुने आशङ्का गरिएको छ। वन्यजन्तुको छाला फेला गर्नुले नेपालीहरूको पनि संलग्नता देखिएको छ। होटेलमा भेटिएको बाघको छाला नेपाली बाघको नभएर अन्य देशबाट ल्याएको हुनसक्ने आशङ्कामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले जानकारी दिए।

'होटेलभित्र यसरी धेरै प्रकारको अपराध भएको देखिएको छ। त्यसैले पनि कोही न कोही लोकल मानिसको संलग्नता हुनुपर्छ भन्ने हो। थप अनुसन्धान गरिरहेका छौँ,' एसएसपी सिंहले भने।

प्रहरीले होटेलबाट नेपाली रुपैयाँ ८ लाख ८९ हजार १ सय ५५ रुपैयाँ, बुद्धचित्ता ९ सय थान, रुद्राक्ष २० केजी समेत बरामद गरेको छ। त्यस्तै तेजपत्ता, दालचिनी, सिलाजित लगायतका सामाग्री समेत बरामद गरेको हो।

होटेल पाँच वर्षदेखि चिनियाँ नागरिक वेनलोङ सिले सञ्चालन गर्दै आएको खुलेको छ। प्रहरीले सञ्चालक सी लाई भने पक्राउ गरेको छैन। उनी बिरामी भएर चीनमा रहेको खुलेको छ।

'होटेल सञ्चालक अहिले नेपालमा नभएको खुलेको छ। केही समय अघि उपचार गर्न भन्दै चीन भएको जानकारी पाएका छौँ,' महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी दुर्गा दाहालले भने।



ट्रेन्डिङ पोस्ट

Ncell