यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा इटलीले स्पेनलाई हराएको छ। इङ्ग्ल्याण्डको वेम्बली स्टेडियममा सम्पन्न खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै इटलीले फाइनलमा स्थान बनाएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ६० औं मिनेटमा इटलीले अग्रता बनाएको थियो। सिरो इमोबिलको पासमा फेडेरिको किएजाले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। तर, खेलको ८० औं मिनेटमा स्पेनका अल्भारो मोराटाले ड्यानी ओल्मोको पासमा गोल गर्दै खेल बराबरीमा ल्याउँदा निर्धारित समय १-१ को बराबरीमा रोकियो। त्यस्तै अतिरिक्त समयमा पनि दुबै पक्षले गोल थप्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा इटलीले ४-२ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो। योसँगै इटलीको अपराजित यात्रा ३३ खेलसम्म लम्बिएको छ।
फाइनलमा इटलीले डेनमार्क र इङ्गल्याण्डबीचको विजेतासँग खेल्नेछ। यी दुई टोली दोस्रो सेमिफाइनलमा आज राति पौने १ बजे आमनेसामने हुनेछन्।
