यूईएफए युरो कपमा आज दोस्रो सेमिफाइनलको खेल हुँदैछ। आज हुने खेलमा २५ वर्षपछि सेमिफाइनल पुगेको इङ्ग्ल्याण्डलाई एक पटकको युरो कपको विजेता रहिसकेको डेनमार्कले चुनौती दिनेछ। खेल राति पौने १ बजे लण्डनस्थित वेम्बली स्टेडियममा ६० हजार दर्शकका बीच हुनेछ।
समूह चरणमा सुरुवाती दुई खेल गुमाएर पनि समूह 'बी' को उपविजेता बनेको डेनमार्कले अन्तिम १६ मा वेल्सलाई हराएको थियो। त्यस्तै क्वाटरफाइनलमा चेक रिपब्लिकलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। अर्कोतर्फ समूह 'डी' को विजेता इङ्ग्ल्याण्डले अन्तिम १६ मा जर्मनीलाई हराएको थियो भने क्वाटरफाइनलमा युक्रेनलाई ४-० को फराकिलो अन्तरले हराएको थियो। यो सँगै १९९६ पछि इङ्ग्ल्याण्ड पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको हो। आजको खेल जितेको खण्डमा इङ्ग्ल्याण्ड पहिलो पटक युरो कपको फाइनलमा प्रवेशमा गर्नेछ।
यसअघि पहिलो सेमिफाइनलमा स्पेनलाई हराउँदै इटलीले फाइनलमा स्थान बनाइसकेको छ।
