PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

यसरी भयो एमाले विवादमा 'कुलिङ पिरियड'को सुरुवात, कार्यदलमा भएको सहमतिलाई ओली-नेपालले स्वीकार गर्लान् ?



प्रकाश भण्डारी

यसरी भयो एमाले विवादमा 'कुलिङ पिरियड'को सुरुवात, कार्यदलमा भएको सहमतिलाई ओली-नेपालले स्वीकार गर्लान् ?

काठमाडौं : नेकपा एमालेको ४ महिना लामो विवाद सहमति उन्मुख पुगेको छ। विवाद समाधानका लागि गठित कार्यदलको लगातार ३ दिन बसेको बैठक सहमति उन्मुख पुगेको हो।

जेठ २ गते प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको सहमतिमा दुवै समूहका ५/५ जना सदस्य रहेको कार्यदल गठन भएको थियो। कार्यदल गठन भए पनि विवाद मिल्नुको साटो कचल्टिएपछि उक्त कार्यदल डेढ महिना निष्क्रिय रहेको थियो। दोस्रो तहका नेताहरुले लगातार एमाले मिलाउने प्रयास गरेपछि नेपालले कार्यदल मार्फत सहमतिको मस्यौदा तयार पार्न सुझाव दिएका थिए।

दुवै समूहका नेताहरुले कार्यदल मार्फत छलफल गर्नुपर्ने बताएपछि ओलीले पनि सहमतिका लागि कार्यदलबाट मस्यौदा बनाउन तयार भएका थिए। आइतवार राति नेपाल समूहका कार्यदल संयोजक रहेका नेता भीम रावललाई ओलीले बालुवाटार बोलाएर छलफल गरेपछि कार्यदलको बैठक बस्ने वातावरण बनेको हो।

सोमवार, मंगलवार र बुधवार बसेको बैठक सहमति नजिक पुगेको कार्यदलका सदस्य गोकर्ण बिष्टले जानकारी दिए। उनका अनुसार कार्यदल झण्डै सहमति नजिक पुगेको छ तर भाषिक विषय मिलाएपछि मात्रै टुंगोमा पुग्ने कार्यदलका सदस्यहरुले बताएका छन्।

यसरी बन्यो सहमतिको वातावरण

एमालेको विवादमा ओलीले एकतर्फ रुपमा गरेको फागुन २८ गतेको निर्णय विवादको 'जड' बनिरहेको थियो। माओवादी केन्द्र परित्याग गरेर रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभू साहा, मणी थापा लगायतका २३ जना नेता एमाले प्रवेश गरेपछि ओलीले उनीहरुलाई समेटेर नेपाल समूहलाई पदमुक्त गरेका थिए। २६४ जनाको १० औं महाधिवेशन आयोजक कमिटी बनाइएकोमा अदालतको जेठ २७ गतेको फैसलाले उक्त महाधिवेशन आयोजक कमिटीको बैधानिकतामाथि समस्या भएको थियो।

त्यसयता ओलीले एमालेलाई २०७५ जेठ ३ गते अघिको अवस्थामा फर्काउन सकिने बताएका थिए। जेठ २३ गते ओलीले ६ बुँदे प्रस्ताव गर्दै एकताका लागि आह्वान गरे पनि नेपाल समूहले भने ओलीमाथि शंका गर्दै अस्वीकार गरेको थियो। एकातिर सहमति र अर्कोतिर नेपाल, भीम रावल लगातयत ११ जना नेतामाथि गरिएको पार्टीबाट निष्कासनको कारवाही कायमै रहेकाले एकताको वातावरण नबनेको नेपाल समूहको निष्कर्ष थियो।

तर, बालुवाटारमा असार १६ गते बसेको बैठकले कारवाहीको खारेजीसँगै महाधिवेशन आयोजक कमिटी भंग गरेपछि भने नेपालमाथि एकताका लागि सकारात्मक हुनुपर्ने दबाब बढ्यो। र, उनी फेरि कार्यदल मार्फत संवाद गर्न तयार भए।

यद्यपि, नेपाल र वरिष्ठ नेता झलनाथ खनाल लगायतका शिर्ष नेताहरुले भने ओली जेठ २ नफर्किएको भन्दै असहमति जनाएका थिए।

असार १८ र १९ गते बालुवाटारमा बसेको एमालेको केन्द्रीय कमिटीको बैठक अघि ओली आफैले नेपाललाई टेलिफोन मार्फत बैठकमा सहभागि हुन आग्रह गरे पनि नेपालले अस्वीकार गरेपछि एमालेको विवाद जटिल मोडमा पुगेको थियो। नेपाल समूह सहभागि नभएपछि आक्रोशित बनेका ओलीले ७२ घण्टाभित्र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता नलिए पार्टी एक नरहने चेतावनी दिए। उक्त चेतावनीले एकताको वातावरण खल्बलिएको भए पनि दोस्रो तहका नेताहरुको सक्रियतामा ओली नेपालबिच फोनमा लगातार संवाद भएको थियो भने आइतवार राति नेपाल समूहका नेता भीम रावलसँग ओलीले बालुवाटारमा ३ घण्टा लामो छलफल गरेका थिए। उक्त छलफलपछि नेपाल समूह कार्यदल मार्फत वार्ता गर्न तयार भएको थियो। जसलाई एमालेका नेताहरुले एमालेको 'कुलिङ पिरियड'का रुपमा व्याख्या गर्दै आएका छन्। एक अर्का विरुद्धको रणनीतिमा केन्द्रित एमालेका दुवै समूह हाल भने युद्धविरामको अवस्थामा पुगेको नेताहरुको दाबी छ।

के-के भयो सहमति?

नेपाल समूहका नेता तथा कार्यदलका सदस्य बिष्टका अनुसार सहमतिको खाका बनिसकेको छ। माओवादी केन्द्र त्यागेरे एमालेमा प्रवेश गरेका नेतारुको एमालेमै व्यवस्थापन र पार्टी २०७५ जेठ २ मा फर्काएर सबै संगठन त्यही अनुसार अघि बढाउन दुवै समूह तयार भएका छन्। बिष्टले एमालेमा देखिएको अविश्वासको खाडल कम भएको बताए।

'सहमति खोज्न हामी नजिक पुगिसकेका छौ। अविश्वासको खाडल कम भएको छ। एकले अर्काको समस्या बुझ्ने र सदभावका साथ अघि बढने कुरा भएको छ,'उनले भने।

अनौपचारिक रुपमा भएका वार्ताका बारेमा पनि बुधवारको बैठकमा छलफल भएको थियो। सोमवार औपचारिकता पाएको कार्यदलको बैठकमा दोस्रो तहमा भएको सहमति बारे नेताहरुले रिपोर्टिङ गरेका थिए। यस्तै, मंगलवारबाट विषयबस्तु केन्द्रित भएर भएको छलफल सहमति नजिक पुगेको हो। तर, सहमतिलाई अन्तिम रुप दिनु अघि दुबै समूहका कार्यदलका सदस्यहरुले आ-आफ्नो पक्षलाई ब्रिफिङ गर्ने भएका छन्।

के-मिलेको छैन्?

बालुवाटारमा बसेको असार १८ र १९ गतेको केन्द्रीय कमिटी बैठक अघि नै दोस्रो तहका नेताहरुले सहमतिको मस्यौदा बनाएका थिए। तर, ओली-नेपालको अडानका कारण उक्त मस्यौदाले अन्तिम रुप भने पाएन। त्यतिबेला देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर र ओलीले गरेको प्रतिनिधि सभा विघटन दुवै कदमलाई राजनीतिक प्रकृतिको मानेर थाति राख्ने र अदालतबाट फैसला आएपछि समान धारण बनाउने सहमति भएको थियो।

एमालेका नेताहरुको अनुसार अहिलेको सहमति पनि त्यसैको वरिपरि भएको छ। नेता बिष्टका अनुसार अहिलेको सहमतिमा अदालतको मुद्दाका बिषयमा सहमति हुन बाँकी छ। केही भाषा मिलायर सहमति हुने उनले बताए।

'अदालतमा परेको मुद्दाका बारेमा सहमति खोज्न हामी नजिक पुगिसकेका छौ। भाषागत कुराहरु मिलाउन बाँकी छ,' उनले भने।

फाइनल भोलि हुने दाबी

तीन दिनको बैठकको नतिजा बिहीवार मात्रै आउने एमालेका नेताहरुको दाबी छ। मंगलवार साढे ३ घण्टा छलफल भए पनि सहमतिको खाका बन्न सकेको थिएन भने विषयकेन्द्रति छलफल भएको थियो।

ओली समूहबाट कार्यदलका संयोजक रहेका नेता सुवास नेम्बाङले सहमतिको खाकाले भोली मात्रै अन्तिम रुप लिने बताएका छन्। उनले ओली र नेपालसँगको छलफल पछि मात्रै अन्तिम रुप लिने बताए। उनले आवश्यक परे ओली-नेपालको भेट हुन सक्ने बताए।

'आवश्यक परेमा भेटने हुन सक्छ। यो सबै काम गरेर भोली फेरि हामी बस्छौ र त्यसमा म चाँही आशावादी छु,' उनले भने।

ओली - नेपालले मान्छन?

दोस्रो तहका नेताहरुका अनुसार एमाले विवादमा दुवै तिरका शिर्ष नेताहरुले अडानलाई समस्याका रपमा देखाउँदै आएका छन्। नेपालले ओलीसँग मिल्न नसकिने भन्दै नयाँ पार्टी खोल्ने विषयमा समेत आफू निकट नेताहरुसँग छलफल गरेका थिए। नेपालले आफूलाई  ओलीले प्रधानमन्त्रीकै लागि अफर गरिरहेको भए पनि ५ दलीय गठबन्धनलाई धोका दिन नचाहेको स्पष्टिकरण दिएका थिए।

यस्तै, दोस्रो तहका नेताहरुले एमाले मिलाउनका लागि पहल गरिरहेको भए पनि ओलीले बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकबाट आफू अब धेरै समय नेपालका लागि नकुर्ने बताएका थिए। उनले नेपाल र उनी समूहका २३ सांसद एमालेको नेता कार्यकर्ता नै नभएको भन्दै नेपाल समूहलाई हस्ताक्षर फिर्ता नलिए पार्टीबाटै निकालिदिने धम्की दिएका थिए।

ओलीको उक्त अभिव्यक्तिले एमाले एकता फुटमा पुगेको थियो। अहिले कार्यदलमा भएको सहमतिलाई पनि ओली नेपालले फाइनल गर्ने भएकाले अब एमालेको विवाद मिल्ने नमिल्ने ओली र नेपालको निर्णयमा भर पर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell