काठमाडौं : आफ्नै माउ पार्टीका नेतासँग विपक्षी ५ दलका विद्यार्थी संगठनले प्रतिवद्धता माग गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रतिवद्धता जनाउन उनीहरुले आग्रह गरेका हुन्।
नेविसंघ, नेपाल निकट अनेरास्ववीयु, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले देउवा, प्रचण्ड र नेपाललाई ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्रमा कक्षा ८ सम्मको शिक्षा नि:शुल्क र अनिवार्य तथा कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्ने माग गरेका छन्।गठबन्धन सरकारमा हुँदा र नहुँदा आफ्ना माग सम्बोधनका लागि सार्वजनिक प्रतिवद्धता जनाइदिन उनीहरुले आग्रह गरेका हुन्।
'नेपालको संविधानको धारा ३१, ३३ र २५ मा कमश: शिक्षा, रोजगारी र स्वास्थ्यको हकलाई मौलिक हकको रुपमा किटानी गरिएको छ । यस अनुसार संविधानतः कक्षा ८ सम्मको शिक्षा निशुल्क र अनिवार्य तथा कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्दछ भने स्वास्थ्य र रोजगारीको हक पूर्ण रुपमा निश्चित हुनुपर्दछ,' ज्ञापन पत्रमा भनिएको छ। संविधानमा भएका व्यवस्था अनुसार दलहरु सरकारमा पुगेपछि कार्यान्वयनमा नलाग्दा शिक्षा र स्वास्थ जस्ता क्षेत्रमा विकृति निम्तिएको उनीहरुको भनाई छ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको नेपाल समूह, जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चा हाल प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको मोर्चामा छ। उक्त मोर्चामा रहेका विद्यार्थी संगठनहरुले ओली विरुद्ध दैनिक प्रदर्शन गरिरेहका छन्। गठबन्धनले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने र प्रतिनिधि सभा विघटन खारेजिको माग राखेर अदालत गएको थियो। असार २८ गते अदालतले मुद्दामा फैसला सुनाउँदैछ।
