काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ। होटल मेरियटमा दुई नेताबीच भेटवार्ता भइरहेको हो।
विवाद समाधानका लागि कार्यदल स्तरमा भएको सहमतिलाई अन्तिम रुप दिन दुई नेताबीच भेट भएको हो।
बुधबार कार्यदलमा भएको सहमतिको खाकालाई अन्तिम रुप दिनेबारेमा ओली-नेपालबीच भेट भएको ओली निकट एक नेताले बताए। एमाले कार्यदलका सदस्यहरुले आजै नेताहरुबीच भेट हुनसक्ने बताएका थिए।
एमाले विवाद समाधानका लागि सोमबार, मंगलबार र बुधबार लगातार ३ दिन बैठक बसेको थियो। उक्त बैठक सहमतिको नजिक पुगेको कार्यदलका सदस्यहरुले बताएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्षका २३ सांसदले गरेको हस्ताक्षर फिर्ता र ओलीले गरेको प्रतिनिधिसभा विघटन फिर्तालाई दुबै समूहले शर्तका रुपमा अघि सारेका थिए।
बालुवाटारमा असार १८ र १९ गते बसेको केन्द्रीय कमिटी बैठकले हस्ताक्षर फिर्ताका लागि नेपाल समूहलाई अल्टिमेटम दिएको थियो। तर तोकिएको समयमा हस्ताक्षर फिर्ता भएको थिएन।
विवाद बढ्दै गएपछि अध्यक्ष ओलीले नेपाल समूहका नेता भीम रावललाई बालुवाटारमै बोलाएर छलफल गरेका थिए। भेटपछि कार्यदल स्तरमा विवादबारे छलफल सुरु भएको थियो।
