PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

कोभिसिल्डको दोस्रो डोज लगाउन भारत धाउँदै नेपाली, एउटा खोपको २२ सय रुपैयाँ तिर्न बाध्य



राधेश्याम पटेल

कोभिसिल्डको दोस्रो डोज लगाउन भारत धाउँदै नेपाली, एउटा खोपको २२ सय रुपैयाँ तिर्न बाध्य

वीरगंज :  कोरोना संक्रमणको जोखिम उत्तिकै रहेकोले बेलैमा पूर्ण खोप अहिलेको माग छ। तर सरकारले समयमै खोप ल्याउन नसकेपछि पहिलो डोज लगाएकाहरु समेत अन्योलमा छन्। विषेशगरी कोभिशिल्ड लगाएकाहरु।

पहिलो डोज जुन कम्पनीको लगाएको हो त्यही खोप लगाउनुपर्छ भन्ने मान्यताले गर्दा पर्साका कतिपय व्यापारी तथा सर्वसाधारणले सीमावर्ती भारतीय स्वास्थ्य केन्द्र पुगेर कोभिशिल्डको दोस्रो डोज लगाउन थालेका हुन्।

कोभिडको त्रास कायमै रहेको बेला सरकारले खोपको जोरजाम गर्न सक्ने अवस्था नदेखेपछि आफूहरु रक्सौलसम्म पुगेर खोप लगाएर आएको एक व्यापारीले बताए। निशुल्क पाइने खोप एक डोजको दुई हजार २०० रुपैयाँ तिरेको नाम नखुलाउने शर्तमा ती व्यापारीले भने। ‘कोरोनाको दोस्रो भेरियन्टबाट निकै त्रासको माहोल थियो, त्यसैकारण शुल्क तिरेर भएपनि रक्सौलमा गएर आफू र बाआमालाई पनि खोप लगाएर फर्केको छु,’ ती व्यापारीले भने।

को को जान्छन् खोप लगाउन?

धेरैजसो पहिलो डोज लगाएका नेपाली नागरिक कोभिसिल्डको दोस्रो डोज लगाउन सीमापारी जाने गरेका छन्। तराईका बासिन्दाहरु भारतीय सीमावर्ती बजारमा पहुँच र पैसाको बलमा खोप लगाउन पुगेका छन्। मध्यतराईका पर्सा, बारा, रौतहटका धेरै जनाले भारतीय बजार रक्सौल, घोडासहन, बरगिनियामा गएर दोस्रो खोप लगाइरहेका छन्।

पहिलो खोप लगाएको चार महिनाभित्र दोस्रो डोज नलगाए कोभिसिल्डको प्रभावकारिता समाप्त हुने भएकाले पनि भारतमै कोभिसिल्ड लगाउन जाने गरेको नारायणी अस्पतालका चिकित्सकहरु बताउँछन्। नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहका अनुसार बिचौलियको सहारामा यो धन्दा भइरहेको बताए।

‘यसलाई अपराध भन्ने हो कि बाध्यता? कोरोना संक्रमणबाट बच्न अहिलेसम्म खोपलाई नै विकल्पको रुपमा लिइरहेको छ,’ संयोजक सिंहले भने, ‘सरकारले एक त ल्याउन सकिरहेको छैन, अर्कोतर्फ समय पनि बित्दै छ।’ कोभिसिल्ड लगाउन सीमा पारी जानेहरुको पनि बाध्यता भएकोले उनीहरुले त्यस्तो गरिरहेको उनको ठम्याइ छ। भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लाको रक्सौलमा अहिले पूर्ण खोप नगरपरिषद् पनि घोषणा भइरहेको छ। तर पनि छुटेकाहरुको लागि रक्सौलमा केसिटिसी कलेज, आदर्श टीकाकरणलगायत करिब आधा दर्जन खोप केन्द्रबाट खोप लगाइरहेकै छ।

फर्जी कागजात बनाउने धेरै!

दोहोरो नागरिकता वा परिचय पत्र भएकाहरुले आफू र आफ्नो परिवारको सदस्यलाई सहजै खोप दिलाउन सफल हुने गरेका छन् भने अर्को समूह विचौलियामार्फत खोप खरिद गरी लिने गरेको छ। बिहारमा मृत्यु भएका भारतीय नागरिक, विदेश गएका, रोजगारीको सिलसिलामा नेपालमा बसोबास गर्ने भारतीय नागरिकजस्ता व्यक्तिको अधार कार्डको प्रयोग गरी नेपालीहरुले खोप लगाउने काम गरिरहेको भास्कर दैनिकका संवाददाता राजेश बर्मा बताउँछन्। रक्सौलको बर्माका अनुसार केही स्वास्थ्यकर्मी नै विचौलियको भेषमा काम गरिरहेका छन्। ‘फर्जी कागजातको अधारमा नेपाली नागरिकहरुले भ्याक्सिन लिइरहेका छन्, यसलाई रोक्नु पर्छ,’ उनले भने, ‘कतिपय केसमा रक्सौलबाट कोभिसिल्डको भायल पनि वीरगंजमा लगेर लगाउने गरिएको सूचना पाएका छौं।’ एउटा भायलमा ५ एमल हुने र एक जनालाई ०.५ एमएल भए पुग्ने चिकित्सकहरु बताउँछन्। 'एउटा भायल २२ हजारमा ल्यायो,१० जनाले लगाउँछन्,' बर्माले भने।

वीरगंजका उद्योगी, व्यवसायी तथा भारतमा आफन्तजन हुने परिवार वा भारतमा काम गर्नेहरु यस्तो कार्यमा बढी सक्रिय रहेको उनको दाबी छ। उनले रक्सौलमा टीकाकरण कार्यक्रम अन्तिम चरणमा रहेकोले यो गतिविधि अब केही दिनमै बन्द हुने जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell