काठमाडौं : इजरायलबाट कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री तथा उपकरण नेपाल आइपुगेको छ।
स्वास्थ्य सामाग्री तथा उपकरण लिन इजरायल गएको नेपाल वायुसेवाको २३५३ ‘चार्टड फ्लाईट’ मार्फत ती सामग्रीसहित आज विहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको इजरायली दूतावासले जानकारी दिएको छ।
विमानस्थलमा परराष्ट्र र स्वास्थ्य मन्त्रालका पदाधिकारीहरु तथा नेपालका लागि इजरायली राजदूत हनान गोडेरसहितको टोली पुगेको र उनीहरुलाई ती सामग्री हस्तान्तरण भएको पनि दूतावासले जानकारी दिएको छ।
‘नेपाल आएका ती स्वास्थ्य सामग्रीहरु इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र, इजरायलीहरु, नेपाली दूतावास परिवार र इजरायलमा रहेका नेपालीहरुबाट सहयोग स्वरुप प्राप्त भएका हुन्,’ इजरायलका लागि नेपालकी राजदूत डा. अन्जान शाक्यले भनिन्, ‘करिब २० करोड रुपैंया जति अनुमानित मूल्य पर्ने उक्त स्वास्थ्य सामग्रीको तौल करीब १८ टन छ।’
राजदूत शाक्यका अनुसार सामग्रीहरुमा ५८ थान भेन्टिलेटर, १ सय २० थान अक्सिजन कन्सन्ट्रेटर, आइसीयुसँग सम्बन्धित उपकरण, औषधि, पीपीई, थर्मल गनलगायतका कोरोनाको उपचारसँग सम्बन्धित छन्।
जसमा ‘कोभिड—१९ सँग सम्बन्धी इजरायलले अपनाएको उपचार पद्धतिका बारेमा नेपाललाई सहयोग गर्न नेपाल सरकारसँगको समन्वयमा ‘स्मार्ट कोभिड कमाण्ड कन्ट्रोल रुम’ स्थापना गर्न सफ्टवेयर तथा आवश्यक उपकरणहरु समेत पठाएको राजदूत डा. शाक्यले जानकारी दिइन्।
सामग्री नेपाल पठाउन इजरायलको विमानस्थलमै राजदूत शाक्य, इजरायली परराष्ट्र मन्त्रालयका आर्थिक महाशाखा हेर्ने प्रमुखलगायत पुगेका थिए।
