काठमाडौं : नेपाल फुटसल व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई फुटसल सञ्चालनको वातावरण बनाउन भन्दै ज्ञापनपत्र बुझाएको छ। विगत दुई महिनायताको लकडाउनको कारण ठूलो लगानी रहेको फुटसल क्षेत्र चरम आर्थिक संकटमा भएको भन्दै संघले स्वास्थ्य मापदण्ड पूरा गरेर फुटसल सञ्चालनको व्यवस्था मिलाउन भन्दै ज्ञापन पत्र दिएको हो।
सवै वर्ग, समूहका लागि शारिरीक, मानसिक स्वास्थ्यसँग जुटेको फुटसल ठूलो लगानी गरी खोलिएकोले लामो समयसम्म सञ्चालनमा नआएका कारण बैंक ब्याज, कर्मचारीको तलव लगायत विभिन्न आर्थिक ब्ययभार बहन गर्नु पर्नाका कारण ठूलो क्षति ब्यहोर्नु बाध्य भएकोले राज्यले तोकेको मापदण्ड पूरा गरी प्रतिबद्धता सहित फुटसल सञ्चालन गर्न पाउनु पर्ने माग संघका अध्यक्ष राज महर्जन तथा महासचिव मदन कोइरालाले हस्ताक्षर गरेको ज्ञापन पत्रमा लेखिएको छ।
‘विश्वब्यापी रुपमा केही लकडाउन केही खकुलो भएसँगै खेल क्षेत्रमा पनि साबधानी अपनाइ खेल सञ्चालन कार्यविधी निर्माण गरी सञ्चालन गर्न हाम्रा व्यवसायीहरु पूर्ण प्रतिबद्धता ब्यक्त गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ, ‘हामी यस अवस्थामा खेल सञ्चालन गर्दा खेलाडीको तापक्रम जाँच्ने, साबुन पानीको ब्यवस्था, स्यानिटाइजर र व्यवस्थित बाथरुमका साथै खेलको अन्तरालमा कुनै किसिमको भिडभाड नहुने प्रतियोगिता गर्ने किसिमको कर्मचारीको स्वास्थ्यको विशेष ध्यान दिने तथा फुटसल मैदानभित्र १० जनालाई मात्र प्रवेश गर्न दिने प्रतिबद्धता ब्यक्त गर्दछौं।’
