काठमाडौं : नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरवारमा शुरु भएको छ। आज (बिहीवार) दिउँसो बसेको एमालेको कार्यदलको बैठकले साँझ फेरी बस्ने सहमति गरेको थियो। उक्त सहमति अनुसार सिंहदरवारमा वार्ता शुरु भएको अध्यक्ष केपी शर्मा ओली समूहका तर्फबाट कार्यदलमा संयोजक रहेका नेता सुवास नेम्बाङले जानकरी दिए।
चार दिनदेखि लगातार बैठक बसेको एमाले कार्यदलको चौथो बैठक सहमतिको नजिक पुगेको नेताहरुले बताएका थिए। उनीहरुका अनुसार एकताका लागि सहमतिको मस्यौदा बनेको र त्यसमा सहमति जुटाउन अहिले बैठक बसिरहेको हो।
दिउँसो बसेको बैठकपछि एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल दुवै समूह आन्तरिक गृहकार्यमा लागेका थिए। ओली-नेपालको बुधवार साँझ भएको मेरियट होटलको वार्ता सकारात्मक भएको नेताहरुले दाबी गरेका थिए।
संसद विघटन र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्तालाई राजनीतिक विषय मानेर साझा धारणा बनाउने विषयमा सहमति भइसकेको कार्यदलका नेताहरुको भनाई छ। बाँकी रहेका विषयमा दुवै समूहका नेताहरुको आन्तरिक तयारीपछि नेताहरु वार्तामा जुटेका हुन्।
