PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

अघिल्लो बर्खामा भत्किएको फेवाको ड्याममा यस वर्ष पनि क्षति : कमसल सामग्री प्रयोग, विज्ञको सुझावलाई बेवास्ता



रिना थापा

अघिल्लो बर्खामा भत्किएको फेवाको ड्याममा यस वर्ष पनि क्षति : कमसल सामग्री प्रयोग, विज्ञको सुझावलाई बेवास्ता

पोखरा : फेवा ताल पुरिनबाट जोगाउन बनाइएको सिल्ट्रेसन ड्याम बाढीले भत्काएको छ। निर्माण सम्पन्न भएको २ वर्ष नबित्दै फेवा ताल संरक्षणका लागि निर्माण गरिएको सिल्ट्रेसन ड्याम भत्किएको हो।

वर्षेनी १ लाख २४ हजार मेट्रिक टन गेग्य्रान फेवामा पुग्नबाट रोक्न फेवाताल जलाधार संरक्षण कार्यक्रम अन्तर्गत पोखरा महानगर र प्रदेशले दुई वर्षअघि ड्याम बनाएको थियो। पोखरा महानगर र गण्डकी प्रदेशले २८ करोड १६ लाख रुपैयाँको संयुक्त खर्चमा ताल मुहानका खोलामा ५ वटा सिल्ट्रेसन ड्याम बनाएको छ। पोखरा महानगरपालिकाको २३ र २४ वडा अन्तर्गत पामेको बेत्यानी खोला, लौरुक खोला, हर्पन खोला र अँधेरीखोलामा ड्याम निर्माण गरिएको छ।

बुधवार रातिको अविरल वर्षासँगै आएको बाढीले हर्पन खोलाको सिल्ट्रेसन ड्यामको १५ मिटर भाग बगाएको छ। ड्याम बगाउँदा खोलाले बाटो परिवर्तन गरी १ सय ५० रोपनी रोपाईँ गरेको खेतमा क्षति पुर्‍याएको छ। हर्पन खोलाको बाढीका कारण घाँटीछिना र ठूलाखेतको ६ घर जोखिममा परेको वडा नम्बर २३ का वडाध्यक्ष विष्णु प्रसाद पराजुलीले बताए।

‘ड्याम भत्किएपछि परिवर्तित खोलाको बहावले ६ घर जोखिममा पारेको छ, १ सय ५० रोपनी खेतमा क्षति भयो,’ उनले भने।

अहिले भत्किएको सिल्ट्रेसन ड्याम अघिल्लो बर्खामा पनि भत्किएको थियो। उक्त ड्यामप्रति स्थानीय र जनप्रतिनिधिले सुरुवातदेखि नै कमसल सामग्री प्रयोग भएको भनेर विरोध गर्दै आएका थिए। वडाध्यक्षदेखि जनप्रतिनिधिले ड्यामको विषयमा महानगरलाई ध्यानकर्षण गराएको थियो। महानगरको लापरबाहीले पुनः भत्किएको ड्यामका कारण जोखिम निम्तिएको स्थानीय तह र वडाध्यक्षको गुनासो छ।

‘महानगरले गरेन म भन्दिनँ तर ड्याम निर्माण गर्दापनि राम्रोसँग काम भएन’, वडाध्यक्षले भने, ‘अघिल्लो वर्ष भत्किएको ड्याम मर्मत गर्दापनि लापरबाही भयो महानगरले टेक केयर गरेन।’

स्थानीय सन्तोष पराजुली महानगरले खोला बढ्दा क्षति हुन्छ भन्ने थाहा हुँदा पनि लापरबाही गरेको आरोप लगाउँछन्। फेवा बचाउन निर्माण गरिएको ड्यामले स्थानीयलाई डर र त्रासमा राखेको उनले बताए।

‘खोला बढ्दा खेरि बिगार गर्छ कि भन्ने डर र त्रास हामीलाई भइराखेको छ’, पराजुलीले भने, ‘ड्याम भनेपछि संरक्षण होला भन्ने तरिकारले सोच्यौँ तर भएन। गुणस्तर छैन भन्ने थाहा थियो अहिले बाँध फुट्यो।’

स्थानीयले ड्यामको गुणस्तरमाथि प्रश्न उठाइरहँदा महानगरका इञ्जिनियर विमल आचार्यले पहिरोसहितको बाढीले ड्याम भत्काएको बताउँछन्। ड्याममा जम्मा भएको गेग्य्रान राम्रोसँग निकाल्न नसक्दापनि ड्याममा क्षति पुर्‍याएको उनको भनाइ छ। यस्तै, उनले अघिल्लो वर्ष भत्किएको ड्यामलाई स्थानीयको अवरोधले राम्रोसँग मर्मत हुन नपाएको बताए।

‘त्यहाँ कतिको जग्गाको लालपुर्जा बाँधभित्र स्थानमा परेको छ, अनि डोजर लगाएर मर्मत गर्दा अवरोध भयो,’ उनले भने।

सुरुवातदेखि नै विवादित पीके जेभी

आयोजनाका सम्झौता अनुसार बेत्यानी खोला आयोजना स्याङ्जाको गीता जयनेपाल ईश्वर जेभी, लौरुक खोला, अँधेरी खोला तथा हर्पन खोला गरी ३ वटा आयोजना दाङको खड्का कृष्ण पीके जेभीले निर्माण गर्ने गरी सम्झौता भएको थियो। बिहीवार भत्किएको उक्त ड्याम खड्का कृष्ण/पीके जेभी दाङले निर्माण गरेको हो। ७ करोड ८८ लाख ६२ हजार रुपैयाँमा जेभीसँग ड्यामको निर्माण सम्झौता भएको थियो।

जेभीले आयोजनामा काम गर्न थालेको महिना दिनपछि नै निर्माण कार्यको गुणस्तरमाथि शंका गरिएको थियो। विवादित बनेको जेभीले आयोजना निर्माण गरेर हस्तान्तरण गर्नु अगावै पोखरा-२३ स्थित ठूलाखेत खहरे खोला र हर्पन खोलामा बनाइएको सिल्ट्रेसन ड्याम भत्किएको थियो।

जेभीले निर्माण शुरु गरेको महिना दिन नबित्दै ड्याम भत्किन शुरु गरेपछि स्थानीय र जनप्रतिनिधिले विरोध गरेका थिए। कमसल सामग्री प्रयोग गरेको र बस्ती जोखिममा परेको भन्दै उनीहरुले जेभीको चर्को विरोध गरे। तर, महानगर र प्रदेश भने मौन रहयो। स्थानीयले लगाएको आरोप अघिल्लो वर्ष भत्किएको ड्यामले दुई मत नहुने गरी प्रष्ट्यायो। अहिले पनि प्रदेश र महानगर ड्यामको गुणस्तरमा ध्यान नदिँदा बस्ती जोखिममा रहेको स्थानीय बताउँछन्।

प्राविधिकको अध्ययनलाई बेवास्ता

अघिल्लो वर्षको बाढीले ड्याम भत्काएपछि पोखरा महानगर र गण्डकी प्रदेशले उक्त ड्यामको अध्ययन गरेको थियो। नीति तथा योजना आयोग गण्डकी र पोखरा महानगरका प्राविधिक टोली मिलेर गरेको अध्ययनले उक्त ड्यामलाई मर्मत र सुदृढिकरण गर्नुपर्ने बतायो।

ड्याम मर्मत नगरे यसै वर्षको बर्खामा भत्किने टोलीले बताएको थियो। पोखरा महानगरका वरिष्ठ इञ्जिनियर शारदामोहन काफ्लेसहितको विज्ञ टोलीले गरेको अध्ययनले हर्पन खोला र खहरे खोलाको बाँध अहिलेको बर्षातमा भत्किने प्रतिवेदन दिएको थियो।

उक्त अध्ययनले ड्याममा थुप्रिएको ढुङ्गा, गिटी, बालुवाले असर पुर्‍याउने सुझाएको थियो। थुप्रिएको ग्रेगन निकालेर बिक्री गरी आम्दानीको रकम बाँधको मर्मतमा खर्च गर्नुपर्ने अध्ययने सुझाव दिएको थियो। तर, अध्ययन प्रतिवेदन बुझेको प्रदेश सरकार र महानगरले समयमै मर्मत गर्न तदारुकुता देखाएन।

थुप्रिएको गेग्य्रान बेचेर आम्दानी गर्ने लक्ष्य निजी कम्पनीलाई

गण्डकी प्रदेश र महानगरको संयुक्त लगानीमा बनेको उक्त ड्यामबाट सुरुवातमा महानगर र प्रदेशले आम्दानी गर्ने लक्ष्य राखेको थियो। ड्याममा थुप्रिएको गेग्य्रान बेचेर वार्षिक २३ करोड रुपैयाँ आम्दानी गर्ने महानगरको जिम्मा थियो। तर, अहिले भने उक्त सिल्टेसन ड्यामको जिम्मा निजी कम्पनीलाई दिइएको छ।

महानगरले उक्त ड्याममा सार्वजनिक निजी साझेदारी (सानिसा) योजना अन्तर्गत निजी कम्पनीलाई थमाएको छ। पोखरा महानगरको ४९ औँ कार्यपालिका बैठकले २४ वर्षका लागि नदीजन्य पदार्थ बेच्ने अधिकार ‘फेवा सिल्ट्रेसन प्रालि’ नामक निजी कम्पनीलाई दिने निर्णय पारित गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell