PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

देउवाको जिल्लामा नेतृत्वको रस्साकस्सी, मल्ल अघि बढ्दा साख जोगाउन मुस्किल



एम बम

देउवाको जिल्लामा नेतृत्वको रस्साकस्सी, मल्ल अघि बढ्दा साख जोगाउन मुस्किल

कैलाली: नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिएसँगै जिल्ला-जिल्लामा नेतृत्वको दौड सुरु भएको छ। केन्द्रीय महाधिवेशनअघि सबैभन्दा चासोपूर्वक हेरिने अधिवेशन हो जिल्ला अधिवेशन। त्यसमा पनि पार्टीका शीर्ष नेताहरुको गृह जिल्लालाई धेरैले चासोपूर्वक हेर्ने गरेका छन्।

पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लामा के हुन्छ? धेरैको ध्यान केन्द्रित छ। 

आ-आफ्नै खेल

देउवाको गृह जिल्ला डडेलधुरामा उनको इच्छा विपरीतका पात्र कर्ण मल्लले विगत दुई कार्यकाल सभापतिमा बाजी मारे। मल्ल  प्रदेश सभा सदस्य समेत हुन्।

देउवाले नचाहँदा नचाहँदै पनि उनी डडेलधुरामा हाबी भइरहेका छन्। अहिलेको अधिवेशनमा पनि मल्ल र देउवाले छुट्टा-छुट्टै पात्रलाई जिल्ला सभापतिका लागि अघि सारेका छन्। देउवाले परशुराम नगरपालिका मेयर भीमबहादुर साउदलाई अगाडि सार्दा मल्लले वर्तमान उप-सभापति करुणाकर भट्टलाई प्रतिस्पर्धामा उभ्याउने तयारी गरेका छन्।

डडेलधुरामा २०४८ सालदेखिका कुनै पनि चुनावमा पराजय भोग्नु नपरेका शेरबहादुर देउवा पछिल्लो समय कमजोर साबित भइरहेका छन्। जिल्लामा देउवाबाहेक अर्को गुट नभए पनि उनकै गुट उपगुटले नोक्सान पुर्‍याइरहेको छ।

स्वर्गीय नेता खुमबहादुर खड्का निकट मानिने मल्ललाई कांग्रेस प्रजातान्त्रिकले राजावादीको संज्ञा दिएर पार्टीबाट निष्कासन समेत गरेको थियो। आरोप पुष्टि नहुँदा उनी पार्टीमै फर्किएका थिए। देउवा निकटका नेताले असहयोग गर्न थालेपछि एउटै खेमाका नेताबीच पनि गुट उपगुट बनेको हो।

डडेलधुरामा अहिले पार्टी सुदृढीकरणको नाम दिएर थप एक समूह सक्रिय बनेपछि आफ्नै किल्लामा देउवा गुटले घेरिएका छन्।

विगत दुई कार्यकाल देउवाको उम्मेद्वारले हार बेहोर्नु तथा गत स्थानीय तह र प्रदेशको निर्वाचनमा एउटा निर्वाचन क्षेत्र र ३ वटा स्थानीय तहमा हार बेहोर्नुले देउवा झनै कमजोर भएको विश्लेषण गर्ने गरिएको छ। यही आधारमा आफूहरू बढी सशक्त रहेको र कायकर्ता माझ देउवाको लोकप्रियता घट्दै गएको मल्ल प्यानलको दाबी छ।

देउवाकै कारण विवाद : मल्ल

देउवाले पटक-पटक राज्यसत्ता सञ्चालन तथा पार्टीको नेतृत्व गरिरहे पनि जिल्लाबासीका लागि अभिभावकत्व देखाउन नसकेको इतर पक्षको आरोप छ।

मल्ल भन्छन्, ‘पार्टी सभापति शेरबहादुरजीलाई डडेल्धुराबासीले पटक-पटक विजयी गराइसकेका छन्। उहाँले पराजय हैन सम्मानजनक जित जनताबाट प्राप्त गरेकै हो। तर चार̸ चार पटक प्रधानमन्त्री बनाउने जनताका लागि उहाँले अभिभावकको भूमिका खेल्न सक्नुभएन। उहाँकै कारणले कांग्रेसमा विवाद बढेको छ।’

गृह जिल्लामा कांग्रेसलाई एकजुट बनाउनुको सट्टा केही सीमित व्यक्तिलाई काखी च्यापेर गुटको राजनीति गर्न सभापति देउवा व्यस्त रहेको मल्लको आरोप छ। मल्लले देउवा आफूलाई तत्कालीन समयमा सभापति हराउन खुलेरै लागे पनि आफूले भने आफ्नो तर्फबाट विजयी गराउन कहिल्यै पछि नहटेको दाबी गरे। देउवाको प्रमुख स्वकीय सचिवसमेत भएर काम गरिसकेका मल्ल र देउवाबीच पछिल्लो समय आन्तरिक मेल छैन।

मल्लले अघि सारेका सभापतिका उम्मेदवार तथा वर्तमान पार्टी उपसभापति भट्ट जिल्लामा राम्रै छवि बनाएको नेता मानिन्छन्। २०५१ सालमा तत्कालीन पार्टी सभापति मल्लले नेविसंघको साधारण सदस्य दिएपछि उनको सक्रिय राजनीति सुरु भएको थियो। उनी २०७२ सालको जिल्ला अधिवेशनबाट पार्टी उपसभापति बनेका थिए। भट्टसँग अधिकतम समय कार्यवाहक सभापति बनेर जिल्लामा पार्टीलाई हाँकेको अनुभव उनमा छ।

देउवाको रोजाइमा साउद

देउवाले जिल्ला सभापतिमा अघि सारेका साउद २०४९ सालमा जोगबुडा गाउँ विकास समिति अध्यक्ष, ०५४ मा जिल्ला विकास समिति सदस्य हुँदै अहिले परशुराम नगरपालिकाको मेयर छन्। यो प्यानलबाट पूर्व सभापति रघुवर भट्ट, प्रदेश सांसद गोविन्द बोहरा, गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्ल पनि सभापतिको आकाङ्क्षी छन्।

जसमध्ये बोहरा र भट्टले देउवाले अघि सारेका साउदलाई समर्थन जनाएर आफू पछि हट्ने सङ्केत गरिसकेका छन्। यद्यपि आकाङ्क्षीको लहर बढी भएर तथा गुट उपगुटको स्थितिले भने देउवा प्यानल दबाबमा छ।

सभापतिको दौडमा रहेका साउदले भने जिल्लामा अब गुट उपगुटलाई त्यागेर सर्वसम्मत ढङ्गबाट अघि बढ्ने बताए। ‘विगतमा पार्टी के कस्तो भन्ने विषय एउटा रहला तर हामी सबै प्रजातन्त्रका लागि लडेका हौँ। त्यसैले सबैलाई न्यायोचित हुने ढङ्गबाट अघि बढ्नुपर्छ र हामी त्यसरी अघि बढ्ने छौँ’, उनले अगाडि थपे, ‘कसैले कसैलाई कमजोर छ बलियो छ भन्नु गलत कुरा हो पार्टीको चुनावमा जानुपरे पनि क्रियाशील सदस्यहरूले आफ्नो विवेक प्रयोग गर्नुपर्छ र गर्नेछन् भन्नेमा म ढुक्क छु। सर्वसम्मतिको प्रयास सबैलाई समेट्ने रणनीतिमा हामी छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell