PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'कोमा'मा पुग्यो नारायणी अस्पतालको फार्मेसीः निजी औषधि पसल चम्किँदा डुब्दै सरकारी लगानी



राधेश्याम पटेल

'कोमा'मा पुग्यो नारायणी अस्पतालको फार्मेसीः निजी औषधि पसल चम्किँदा डुब्दै सरकारी लगानी

वीरगंजः नारायणी अस्पतालको फार्मेसी 'कोमा'मा पुगेको छ। चार वर्षअघि सरकारले दिएको २० लाख रुपैयाँ पुँजीबाट आफ्नै हाताभित्र अस्पतालले फार्मेसी सञ्चालनमा ल्याएको थियो। तर उक्त फार्मेसी छोटो अवधिमै बन्द हुने अवस्थामा पुगेको छ। दैनिक व्यापारसमेत ४०/५० हजार रुपैयाँबाट पाँच/सात हजारमा झरेको छ।

अहिले अस्पतालको फार्मेसीमा पारासिटामोल पनि पाइन छाडेको छ। चिकित्सकका सुझावअनुसारका प्रायः औषधि फार्मेसीमा पाइँदैनन्।

औषधि व्यवस्थापन नहुँदा फार्मेसी बन्द हुने अवस्‍थामा छ। त्यसको लाभ परिसरका अन्य फार्मेसीले उठाइरहेका छन्।

नारायणी अस्पतालमा उपचारको लागि जाने बिमा गराएका बिरामीहरु समेत निःशुल्क पाउनुपर्ने औषधि पनि पाउन सकेका छैनन्।

‘नाम मात्रको फार्मेसी छ। कुनै बेला कर्मचारी हुँदैनन। कुनै बेला यो औषधि छैन, त्यो औषधि छैन भनेर फर्काउँछन्,’ वीरगंज १२ मुर्लीका विनोद कुशवाहले भने, ‘महङ्गो दाममा अस्पतालबाहिर नै गएर औषधि किन्नुपर्छ भने अस्पतालले किन फार्मेसी चलाएको हो। बन्द गर्नूपर्छ।’

डाक्टरले लेखेको औषधिको नाम नभइ कम्पोजिसन अनुसार फरक औषधि फार्मेसीका कर्मचारीहरुले दिने गरेकाले कतिपयले भने औषधी किन्न डराउने गरेको बताउँछन्।

पर्सा  छिपहरमाई गाउँपालिका ५ भिस्वाका विकाशकुमार पाण्डे फार्मेसीमा औषधि नहुने भएकाले किन्न बाहिरै जानुपर्ने अवस्था रहेको बताउँछन्।

फर्मेसीको कमाइले कर्मचारीको तलबभत्ता पनि नपुग्ने अवस्थ देखिएको अस्पताल प्रशासन बताउँछ।

नारायणी अस्पतालका प्रशासन हेर्ने नायब सुब्बा मुकुन्दकुमार पौडेलका अनुसार फार्मेसीमा ६ जना कर्मचारी छन्। जसमा एक जना फार्मेसी अधिृकत, चार जना फार्मेसी सहायक, एक जना कार्यालय सहयोगी छन्।

कोरोना महमारीमा सरकारले पठाएको स्वास्थ्य जोखिम भत्ताको पैसाबाट दुई वर्षदेखि कर्मचारीलाई तलबभत्ता दिइएको फार्मेसीका इन्चार्ज हरेन्द्रप्रसाद यादव बताउँछन्।

अस्पतालका कर्मचारी भने फार्मेसीका कर्मचारीको लापारबाहीले यस्तो अवस्था आएको दाबी गर्छन्।

‘भित्रको फार्मेसी चल्यो भने बाहिरका पसलहरुको कारोबार सुक्छ,’ अस्पतलाका एक कर्मचारीले भने, ‘भित्रको फार्मेसीमा औषधि छैन भनेर बाहिर पठाइन्छ।’

फार्मेसी इन्चार्ज यादव हाल औषधि व्यवस्था विभागमा दर्ता रहेका १३ सयमध्ये १५० प्रकारका औषधिमात्र स्टक रहेको बताउँछन्। करिब २५ लाखको औषधि स्टक रहेको यादवको भनाई छ। दुई वर्षदेखि कोरोना महमारीका कारण ओपिडी, मेडिकल र सर्जिकल वार्ड प्रभावित भएकोले औषधि बिक्रीमा गिरावट आएको दाबी गरे। चिकित्सक र फार्मेसी कर्मचारीले मिलेर काम गरे दैनिक एक लाखभन्दा बढीको औषधि बिक्री हुनसक्ने दाबी उनको छ। ओषधि सिफारिस गर्दा फार्मेसीको उपलब्धता हेरे सहज हुने उनको तर्क छ।  

तर नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. अरुणकुमार सिंहले डाक्टरले बिरामीलाई कुन औषधिबाट निको हुने हो भनेर मात्र औषधी लेख्ने आफूहरुको धर्म भएको बताउँछन्।

अस्पतालले अगामी आर्थिक वर्षका ४ करोड ९० लाखको औषधि तथा सर्जिकल सामान खरिदको टेण्डर गरेको छ। जसमा शशी श्रीवास्तव सञ्चालक रहेको पर्सा साइन्स इम्पोरियम, राजेश झा सञ्चालक रहेको हस्पिटल सर्भिस, ज्याउल हक सञ्चालक रहेको आमना फार्मेसी वीरगंज, महेश यादव सञ्चालक रहेको महेश मेडिसिन डिस्ट्रीब्युटर रौतहटले अलग-अलग ठेक्का सम्झौता गरिसकेका छन्।

अस्पताले बिमा बोर्डबाट हालसम्म ३० लाख भुक्तानी पाएको छ भने ७० लाख भुक्तानी लिन बाँकी रहेको पनि बताएको छ। अस्पतालबाट पठाइएको बिलहरुमा शंका भएपछि भुक्तानीमा ढिलाइ भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell