काठमाडौं : चितवनमा केही दिनदेखि कर्फ्यु लगाइको छ। राप्ती–१ लोथरपुलदेखि राप्ती–४ डडुवासम्मको राजमार्ग क्षेत्रको दायाँबायाँ ५०० मिटर भित्रसम्मको क्षेत्रमा कर्फ्यु लगाइएको हो। कर्फ्यु लगाउनुको कारण बन्यो- सुजिता भण्डारी रहस्मय मृत्यु प्रकरण।
सुजिताको हत्या भएको भन्दै स्थानीयले हत्यारा पत्ता लगाएर कारबाही गर्न दबावस्वरुप प्रदर्शनमा उत्रिएपछि स्थिति सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो।
असार ११ गते बिहान ६ बजेतिर राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारी साथीकहाँ जाने भन्दै घरबाट निस्किएकी थिइन्। तर अबेरसम्म पनि उनी घर फर्किनन्। त्यही दिन मध्यान्हतिर उनकी दिदीलाई सुजिताले फोनमार्फत आफू अपहरण परेको सुनाएकी थिइन्।
भण्डारी परिवारमा बज्रपात आइलाग्यो। सुजिता अपहरणमा परेको भन्दै प्रहरीमा उजुरीसमेत पर्यो प्रहरीले अनुसन्धान सुरु गर्यो। सुजिताले बताएको ठाउँ र मोबाइलबाट फोन गर्दा देखिएको लोकेसन प्रहरीले ट्र्याक गर्यो। तर फोनमा बताइएको लोकेसन र मोबाइलको लोकेसनमा फरक देखियो।
सुजिताले चलाउने फेसबुकदेखि मोबाइलको टेक्निकल पक्ष हेर्यो। अधिकांश अपहरणको घटना फिरौतीकै लागि हुने गरेको प्रहरीको नजिरलाई टेक्दै प्रहरी फिरौति कल कुरेर बस्यो। तर प्रहरीको कुराई व्यर्थ भयो।
९ दिनपछि सुजिता मृतावस्थामा फेला परिन्। गत आइतवार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा उनको शव फेला परेको हो। शव नजिकै बोतलमा सेतो पदार्थ भेटिएको थियो। सुजिताको हत्या वा आत्हत्या के हो खुलेको छैन। फिरौतिको कल नआएकोले अपहरण हुने कुनै पनि एङ्गल प्रहरीले फेला पारेन।
समयमै हराएको भन्दै उजुरी दिए पनि खोजी नगरेको भन्दै परिवार तथा स्थानीय प्रहरीमाथि आक्रोशित छन्। यता प्रहरीले भने उजुरी परेदेखि नै खोजीमा लागेको दाबी गर्दै आएको छ। अहिले पनि गहन रुपमा घटनाको अनुसन्धान भइरहेको वाग्मती प्रदेश प्रहरी प्रमुख इश्वरजंग कार्की बताउँछन्।
'प्रहरीले कुनै पनि कसुर छोडेको छैन। प्रहरी गम्भीर रुपले नै अनुसन्धानमा लागि रहेको छ,' डिआइजी कार्कीले भने।
सुजिता हराएको तीन दिनपछि चितवनबाटै एक युवती हराइन्। उनी अझै वेपत्ता छिन्। नवलपुर गौडाकोट ४ की २१ वर्षीय विना सापकोटा हराएकी हुन्। साथीकोबाट केही समय नै आउँछु भनेर निस्किएकी विना घर पुगिन्। उनका एक युवक साथीले नै विना हराएको भन्दै परिवारलाई खबर गरेका थिए।
प्रहरीले विनाका प्रेमी भनिएका एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। तर विना कहाँ गइन् भन्ने अझैं प्रहरीको अनुसन्धानले लिड लिन सकेको छैन। सुजिताको शव भेटिनु र विना अझैसम्म फेला नपर्नुले प्रहरीलाई चुनौति थपिदिएको छ।
'प्रहरीले लापरबाही गरेको छैन। हामी लागि परिरहेका छौं। हराएको उजुरी आएपछि नै प्रहरी सक्रिय हुन्छ। हराएको धेरै घटनामा प्रहरी सफल भएको छ। हामी प्राविधिक पक्षदेखि अन्य पक्षबाट पनि खोजी गरिरहेका हुन्छौं,' नेपाल प्रहरीका एसएसपी वसन्तबहादुर कुँवरले भने।
घटना चर्चामा आएपछि अहिले प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो लगायतको टोली परिचालन गरेर खोजी गरिरहेको छ। तर कुनै क्लु हात पारेको छैन।
सुजिता र विना एक प्रतिनिधि पात्रमात्र हुन्। देशमा प्रत्येक वर्ष १० हजारभन्दा बढी मानिस हराउने गरेका छन्। अनि हराएकामध्ये आधा पनि फेला परेका छैनन्।
+++
'संक्रमणकालिन अवस्थामा समाजका विभिन्न अंगलााई हाम्रो प्रणालीले रेगुलेट गर्न सकेको छैन। जसले गर्दा मानिस हराउने क्रम बढेको छ,' समाजशास्त्री टिकाराम गौतमले भने।
समाजशास्त्री गौतमको कुरालाई नेपाल प्रहरीको तथ्याङकले झनैं पुष्टि गरिदिएको छ। देशमा राजनीति अस्थिरता र भद्रगोल व्यवस्था बढ्दै जाँदा मानिस हराउने सङख्या पनि बढेको भेटिन्छ। पछिल्लो चार वर्षलाई हेर्दा मानिस हराउने सङ्ख्या प्रत्येक वर्ष थपिदै गएको छ।
चालु आर्थिक वर्षको आठ महिनामा मात्र १० हजार ४ सय १८ जना मानिस हराएका थिए। यसरी हराएका मानिस मध्ये ४ हजार ४ सय १२ जना मानिस फेला परेका छन्। बाँकी मानिस अझैं हराइ नै रहेका छन्। यसरी हराउनेहरुमा महिलाको सङ्ख्या सबैभन्दा धेरै हुने गरेको छ। त्यसपछि बालिका हराउने गरेका छन्।
चालु आर्थिक वर्षको आठ महिनामा ४ हजार ९ सय २० जना महिला हराएको देखिएको छ। जसमा २ हजार १ सय ३९ जना फेला परेका छन्। त्यसपछि २ हजार ६ सय ९ जना बालिका हराएका छन्। तर भेटिने बालिकाको सङ्ख्या १ हजार १ सय ६४ रहेको छ। पुरुष २ हजार १८ जना र बालक ७ सय ९८ जना हराएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए। पुरुष भने ७ सय ४१ र बालक भने ३ सय २१ जना फेला परेका छन्।
प्रहरीको तथ्याङ्क हेर्दा चालु आर्थिक वर्षमा हराएकामध्ये ४२ प्रतिशतमात्र मानिस भेटिएका छन्। बाँकी ५८ प्रतिशत मानिस अझै हराइरहेका छन्। तर नेपाल प्रहरीका प्रवक्ता कुँवर भने भेटिने सङ्ख्या उल्लेखीय नै भएको दाबी गर्छन्।
'बेवारिसे अवस्थाबाहेक धेरै हराएको केसमा भेटिएका छन्। तर भेटिएपछि खबर नगर्ने र प्रहरीमा समेत भेटिएको डाटा कमै राख्ने प्रणालीले गर्दा पनि भेटिएको कम देखिएको हो।
आठ महिनाको तथ्याङकलाई हेर्दा महिनामा १३ सय मानिस हराउने गरेका छन्। दैनिक हिसाव गर्दा औसतमा ४३ जना मानिस हराइरहेका छन्।
चालु आर्थिक वर्षमा मात्र होइन अघिल्ल वर्षमा पनि मानिस हराउने सङ्ख्या कम छैन। आर्थिक वर्ष २०७६/७७ मा ८ हजार ६ सय ९८ जना मानिस हराएका छन्। जसमा फेला पर्नेको सङ्ख्या ४ हजार ३ सय ९७ रहेको छ। यसरी हेर्दा अझैं ५० प्रतिशत मानिस हराइरहेका छन्। यस वर्ष पनि महिला नै बढी हराएका छन्। ४ हजार ६२ जना महिला हराए, बालिका १ हजार ८ सय ९८, पुरुष १ हजार ८ सय ६८ र बालक ३१ रहेका छन्। ३९ जना ज्येष्ठ नागरिक समेत रहेका छन्।
आर्थिक वर्ष २०७५/७६ मा ११ हजार ६ सय ८२ जना मानिस हराएको देखिन्छ। यो समयमा ४ हजार ६ सय ३४ जना भेटिए। अर्थात हराएकामध्ये झन्डै ६० प्रतिशत मानिस अझै बेपत्ता भएका छन्। यस समयमा हराउने महिलाको सङ्ख्या हरएका मध्ये ५० प्रतिशत रहेको छ। अर्थात ५ हजार ८ सय ५२ जना महिला हराएका छन्। जसमा पुरुष २ हजार ४ सय ४, बालक १ हजार ५१,बालिका २ हजार ३ सय ७१ रहेको छ। सो समयमा ज्येष्ठ नागरिक भने हराएको देखिदैन।
चालु आर्थिक वर्ष २०७४/७५ मा ८ हजार २ सय ७७ जना मानिस हराउँदा २ हजार १ सय ९४ जनामात्र फेला परे। यस वर्ष १ हजार ६ सय ८६ पुरुष, ४ हजार २ सय ६१ जना महिला, ९ सय २३ बालक, १ हजार ४ सय ७ बालिका हराएका हुन्। भेटिने सङ्ख्यामा पुरुषको ३ सय ७२, महिलाको ८ सय ५, बालकको ४ सय ७ र बालिकाको ६ सय १० रहेको छ।
हराएको ९ दिनपछि सुजिता मृत फेला पर्ने र १० दिनदेखि विना हराइरहनुले प्रहरी खोजी गर्न देखाएको सक्रियता र अनुसन्धानमाथि ठाडो प्रश्न गरेको छ। के प्रहरीको हराएका मानिस खोज्न उदासिनता देखाएकै हो त?