PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

सुत्केरी हुँदाको खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक !



रासस

सुत्केरी हुँदाको खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक !

  • अजयकुमार साह -

धनुषा : बच्चा जन्मिएपछि आमाको न्यानो काखमा हुर्कन पाउनु उनको नैसर्गिक अधिकार हो। यहाँका एक जना महिला सुत्केरी त भइन् तर उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा चार दिनदेखि बन्धक बन्नुपरेको छ। अस्पतालमा बन्धक बन्नुपर्दा बच्चाको स्हारसुसार र सहजरुपमा आमाको न्यानो काखमा हुर्कन पाउन समस्या उत्पन्न भएको छ।

जनकपुरधामस्थित आर्या केयर अस्पतालमा धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन चार दिनदेखि बन्धक बनेकी हुन्। ब्यथा लागेपछि यही असार १७ गते खातुन अस्पताल भर्ना भएकी थिइन्। शल्यक्रिया गरी एक छोरा र एक छोरी जुम्ल्याहा बच्चा जन्म दिएकी खातुनलाई असार २१ गते नै अस्पतालले डिस्चार्ज गरेको थियो तर उपचार खर्चबापत रु एक लाख १० हजार बुझाउन नसक्दा उनी चार दिनदेखि बन्धक बनेकी छन्।

अस्पताल प्रशासनले उनलाई जनरल वार्डमा राखेर घर जानबाट वञ्चित गरेको छ। खातुनका ३१ वर्षीय श्रीमान् मोहम्मद समीर नदाफले आफन्त र गाउँमा अस्पताललाई तिर्नुपर्ने पैसा खोजे पनि पूरा रकम व्यवस्था गर्न सकेको छैनन्। लकडाउनका कारण देखाएर ऋण नपाउँदा उनी अस्पतालमा चार दिनदेखि घेरिएको नदाफले बताए।

दैनिक ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएका नदाफको न आफ्नो घर छ, न त काम। उनले भने, 'दैनिक ज्याला मजदूरी गरी हातमुख जोर्ने गरेको हामी, लामो समयसम्म भएको लकडाउनका कारण काम नपाएर छाक टार्न नै मुस्किल भएको बेला अस्पतालको उपचार खर्च कसरी जुटाऔं?' उनले उपचार खर्च तिर्न नसक्दा आफ्ना श्रीमती र नवजात शिशु घर ल्याउनका लागि भनी चारपाँच दिनदेखि गाउँमा चारैतिर चन्दा सङ्कलन गरिरहेको बताए।

'सबैतिर गाउँमा डुलेर श्रीमती र नवजात शिशुलाई अस्पतालको खर्च जुटाउनका लागि चन्दा मागें, अहिले रु ५० हजार जति सङ्कलन भयो तर अझ रु ६० हजार बाँकी छ। सञ्चारमाध्यमबाट उपचार खर्च जुटाउनका लागि सम्पूर्ण मनकारीसँग गुहार मागेको छु,' उनले भने।
उता अस्पताललाई तिर्नुपर्ने बिल बढेकोबढ्यै छ। यता नदाफ भने पैसाको खोजीमा गाउँमा भौँतारिइरहेका छन्। 'एउटा झोला र कापी लिएर हिँडेको छु,' दुःख सुनाउँदै उनले भने, 'कोरोनाको बेला घर नआउनुस् भन्दै कसैले चाहिँ टाढैबाट झोलामा पैसा हाल्दिनुहुन्छ। सबैको नाम र दिएको पैसा कापीमा टिपेको छु।' नदाफले बसोबास गर्ने बस्तीमा पनि प्रायः सबै गरीब नै छन् तर, सकेको सबैले सहयोग गरेका छन्। प्रतिघर रु २० देखि ५०० सम्म सहयोग प्राप्त भएको उनले बताए।
अस्पताल प्रशासनले बिरामीको आर्थिक अवस्था हेरेर केही छुट गर्न सक्ने तर सबै उपचार खर्च मिनाहा गर्न नसकिने बताएको छ। अस्पताल प्रशासनका अनुसार दुवै बच्चालाई आइसीयुमा राखेर उपचार गर्नुपरेकाले खर्च बढेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell