PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

चेन ब्रेक नहुँदै, संक्रमित थपिन थाले : अस्पतालमा जटिल विरामी थपिनेक्रम बढ्यो



पी बी खड्का

चेन ब्रेक नहुँदै, संक्रमित थपिन थाले : अस्पतालमा जटिल विरामी थपिनेक्रम बढ्यो

सुर्खेत : दोस्रो लहरको कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न लागू गरिएको निषेधाज्ञा हटेसँगै चौतर्फी भिडभाड बढेको छ। प्रदेशको राजधानी सुर्खेत, त्यसैमाथि असार मसान्त, सरकारी अड्डा होस् या बैंक तथा वित्तीय संस्थाहरु, चहलपल निक्कै बढेको छ। यो चहलपहल हेर्दा निषेधाज्ञा हटेसँगै कोरोनाको जोखिम पनि हराइसक्यो कि भन्ने लाग्न सक्छ। डेढ/दुई महिनाको निषेधाज्ञाले अत्तासिएका नागरिक सामान्य अवस्थामा जस्तै कोभिड १९ को बेवास्ता गर्दै भिडभाड र ओहोरदोहोर गरिरहेका छन्। निषेधाज्ञाका कारण संक्रमण दर घटेको कर्णालीमा जटिल प्रकृतिका विरामीको संख्या भने अस्पतालमा कमी भएको छैन।

'लकडाउन हटेसँगै अहिले सर्वसाधारण नागरिकहरु कोरोना भाइरस नै नभएको भनेजस्तो गरेर भिडभाड र चहलपहल भइरहेको छ,’ प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले भने, ‘अवस्था त्यस्तो हुँदै होइन। जोखिम उस्तै छ। अस्पतालमा पनि सिरियस विरामीहरु भर्ना भइरहनुभएको छ। संक्रमण पुष्टि हुनेदर पनि उस्तै छ।’

पछिल्लो समय निषेधाज्ञा हटेसँगै बजार र कार्यालयमा भिडभाड थेगिनसक्नु चाप छ। चहलपहल र भिडभाडले कोरोना संक्रमण जोखिमको ख्यालै छैन्, कोरोना संक्रमण दरको ग्राफ फेरि उकालो लाग्दैछ।

प्रदेशको केन्द्रविन्दु भएकाले पनि सुर्खेतमा चहलपहल बढी छ नै, संक्रमणदर पनि माथि नै छ। कर्णालीमा बिहीवारमात्रै ३ सय ३१ नमुनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये सबैभन्दा बढी संक्रमित सुर्खेतका छन्। स्वास्थ्य सेवा निर्देशनालयका अनुसार बिहीवार डोल्पा बाहेक नौ जिल्लामा संक्रमण पुष्टि भएको छ। सुर्खेतमा ४१, सल्यानमा २१, रुकुम पश्चिममा १५, जाजरकोट १३, जुम्लामा १२, दैलेखमा ११, मुगुमा ८, कालिकोटमा ५ र हुम्लामा २ जनामा संक्रमण देखिएको छ। प्रदेश बाहिरका थप ५ जनामा संक्रमण देखिएको छ।

निषेधाज्ञा अघि करिव ८० प्रतिशतसम्म संक्रमण दर पुगेको कर्णालीमा निषेधाज्ञा पछि असार ६ गते १० प्रतिशतमा झरेको थियो। तर, निषेधाज्ञा खुकुलो पश्चात संक्रमण दरको ग्राफ उकालो लागेको हो। असार २४ गते अर्थात् बिहिवारसम्म आइपुग्दा संक्रमण पुष्टि हुने दर झण्डै ५० प्रतिशतको नजिक पुगेको छ।

यता, अस्पतालमा समेत विरामीको चापको अवस्था दयनीय छ। विरामी भर्नादर हेर्दा दुई साता अघि दैनिक मुश्किलले तीन/चार जना जटिल प्रकृतिका विरामी आउने अस्पतालमा पछिल्लो साता भने दैनिक ८ देखि १० जना विरामी भर्ना हुने गरेका छन्। यसरी भर्ना हुने विरामीमध्ये ८० प्रतिशतलाई अक्सिजन दिनुपर्ने अवस्था छ।

प्रदेश अस्पताल, कोरोना विशेष अस्पताल वीरेन्द्रनगर र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगायत कोरोना विशेष अस्पतालहरुमा विरामीको चाप बढ्दै गएको छ। त्यस्तै, सरकारले आवश्यक स्रोत, साधन र पूर्वाधारका लागि आगामी आर्थिक वर्षका लागि पर्याप्त बजेट विनियोजन गरिएको सामाजिक विकास मन्त्री यज्ञ बिसीको भनाई छ।

'संक्रमण फैलिए, अहिलेकै स्रोत, साधनले नपुग्ने नै नदेखेर हामीले मन्त्रालयमा भएको ५२ प्रतिशत बजेट कोरोना नियन्त्रणकै लागि छु्ट्टाएका छौं,’ उनले भने, ‘अहिले भइरहेको कोभिड अस्पतालमा लगानी बढाएर, बेड, आईसीयू, अक्सिजन प्लान्ट लगाएको पूर्वाधार कमी नहुने गरी लागेका छौँ।’

कर्णालीको गाउँगाउँमा कोरोना संक्रमणको जोखिम कायमै रहेको हुँदाँ आवश्यक जनस्वास्थ्यको मापदण्ड पालना गर्नु अति नै आवश्यक देखिएको चिकित्सको भनाई छ।

'लकडाउन खुल्यो तर, संक्रमण दरले सावधानी नअपनाए फेरि अवस्था जटिल बन्ने देखिन्छ,’ डाक्टर खड्काले भने, ‘अनावश्यक हिँड्डुल, भिडभाडमा नजाने, स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य रुपमा सबैले पालना गर्ने, आफू पनि बच्ने र अरु घरपरिवार, समाजलाई पनि बचाउन आग्रह गर्दछु।’

कर्णालीमा हालसम्म एक लाख ६५ हजार सात सय ७४ वटा नमुना परीक्षण गरिएकोमा २८ हजार आठ सय ४९ जनामा पुष्टि भएको छ। पुष्टि भएका मध्ये २६ हजार तीन सय ९९ जना उपचारपछि निको भएर फर्किएका छन्। संक्रमण पुष्टि भएका तीन सय ३६ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell