काठमाडौं : नेकपा माओवादी केन्द्रले दल दर्ता खारेजी निवेदन दर्ता गरेकोमा निर्वाचन आयोगप्रति आक्रोश पोखेको छ।
केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले विज्ञप्ति जारी गरेर पार्टीसँग सम्बन्ध नै नभएका व्यक्तिले दिएको निवेदन दर्ता गरेको भन्दै आयोगप्रति आक्रोश पोखेका छन्।
विज्ञप्तिमा अनाधिकृत तथा आयोगसँग बेसरोकार निवेदन दर्ता स्वीकृत नगर्न आयोगलाई आग्रह समेत गरिएको छ।
एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुले बुधवार निर्वाचन आयोगमा माओवादी दल दर्ता खारेजीको निवेदन दिएका थिए भने शुक्रवार शीर्ष नेताहरु आफै आयोग पुगेर के कारवाही भयो भनेर जानकारी लिएका छन्।
यो कदममा माओवादी केन्द्रले भनेको छ, ‘हाम्रो पार्टीसंग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता र दल खारेजी सम्बन्धी सामान्य कानूनी प्रक्रिया समेत जानकारी नभएको व्यक्तिले यस्तो हर्कत गर्नु हास्यास्पद देखिन्छ।’
केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनशायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेको माओवादीको टिप्पणी छ। संविधान, कानून, विधि, विधान विपरीत गरिएको दुष्प्रचारको भ्रममा नपर्न माओवादी केन्द्रले सम्पूर्ण अंग नेता कार्यकर्ता, शुभचिन्तकलाई आग्रह समेत गरेको छ। यस्तो कुनियतको दुष्प्रचारलाई माओवादीले खारेज पनि गरेको छ।
