PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

देउवाको गृह प्रदेशमा कांग्रेस महाधिवेशन : ९ जिल्ला सभापतिमा ४० भन्दा बढीको चर्चा



पहिलोपोस्ट

देउवाको गृह प्रदेशमा कांग्रेस महाधिवेशन : ९ जिल्ला सभापतिमा ४० भन्दा बढीको चर्चा

कैलाली: नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै जिल्ला अधिवेशनको रौनक सुदूरपश्चिमका जिल्लाहरूमा छाएको छ। पार्टी सभापति शेरबहादुर देउवाकै गृह जिल्लामा उनको इच्छा विपरीतका पात्र हाबी रहनु तथा उनको गृह प्रदेशका अन्य जिल्लामा आकाङ्क्षीको लहर लामो देखिएपछि जिल्ला अधिवेशनको रौनक थप पेचिलो र रोचक बन्दै गएको छ।

१३औँ महाधिवेशनमा सुदूरपश्चिमका ९ जिल्लामध्ये दार्चुला, बैतडी र देउवाकै गृह जिल्ला डडेलधुराबाहेक ६ जिल्लामा देउवा निकट नेता निर्वाचित भएका थिए।

अहिले ९ जिल्ला सभापतिको दौडमा ४० भन्दा बढी नेताको चर्चा छ। सबैभन्दा रोचक पार्टी सभापति शेरबहादुर देउवाकै गृह जिल्लाको अधिवेशन हुने देखिएको छ। त्यसैगरि प्रतिनिधि सभातर्फ ५ वटा निर्वाचन क्षेत्र रहेको प्रदेशकै सबैभन्दा ठूलो जिल्ला कैलालीमा ८ जना जिल्ला सभापति बन्ने दौडमा छन्। जसमा ५ जना स्पष्ट देउवा प्यानलकै रहेकाले जिल्ला अधिवेशन थप रोचक बन्ने देखिएको छ।

शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा उनको इच्छा विपरीतका पात्र हालका प्रदेश सभा सदस्य समेत रहेका कर्ण मल्लले विगत दुई कार्यकाल सभापतिमा बाजी मारे। देउवाले नचाहँदा-नचाहँदै पनि उनी डडेलधुरामा हाबी भइरहे। अहिलेको अधिवेशनमा पनि मल्ल र देउवाले छुट्टा-छुट्टै पात्रलाई जिल्ला सभापतिका लागि अघि सारेका छन्। देउवाले परशुराम नगरपालिका मेयर भीमबहादुर साउदलाई अगाडि सार्दा मल्लले वर्तमान उपसभापति करुणाकर भट्टलाई प्रतिस्पर्धामा उभ्याउने तयारी गरेका छन्।

देउवाले पटक-पटक राज्य सत्ता सञ्चालन तथा पार्टीको नेतृत्व गरिरहे पनि जिल्लाबासीका लागि अभिभावकत्व देखाउन नसकेको इतर पक्षको आरोप छ।

मल्ल भन्छन्, ‘पार्टी सभापति शेरबहादुरजीलाई डडेल्धुराबासीले पटक-पटक विजयी गराइसकेका छन्। उहाँले पराजय हैन सम्मानजनक जीत जनताबाट प्राप्त गर्नुभएको छ। तर चार पटक प्रधानमन्त्री बनाउने जनताका लागि उहाँले अभिभावकको भूमिका खेल्न सक्नुभएन। उहाँकै कारणले कांग्रेसमा विवाद बढेको छ।’

देउवाले जिल्ला सभापतिमा अघि सारेका साउद २०४९ सालमा जोगबुडाको गाउँ विकास समिति अध्यक्ष, ०५४ मा जिल्ला विकास समिति सदस्य हुँदै अहिले परशुराम नगरपालिकाको मेयर छन्। यो प्यानलबाट पूर्व सभापति रघुवर भट्ट, प्रदेश सांसद गोविन्द बोहरा, गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्ल पनि सभापतिको आकाङ्क्षी छन्। जसमध्ये बोहरा र भट्टले देउवाले अघि सारेका साउदलाई समर्थन जनाएर आफू पछि हट्ने सङ्केत गरिसकेका छन्। यद्यपि आकाङ्क्षीको लहर बढी भएर मनमुटावको स्थिति भने देउवा प्यानलमा बढी छ।

डडेलधुरापछि प्रदेशको सबैभन्दा ठूलो जिल्ला कैलालीमा अधिवेशनको रौनक बढी छ। ५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रकाश बम, खेमराज चौधरी, डा.रणबहादुर रावल, नारायणदत्त भट्ट, भीम बडुवाल, कमल शाह, दिनेशराज जोशी, गणेश देउवालगायतका नेताको नाम चर्चामा छ। जसमध्ये शाह र देउवाबाहेक अरू सबै सभापति देउवा प्यानलकै हुन्। यसरी एउटै प्यानलबाट आकाङ्क्षी बढी भएर देउवा प्यानल अन्तर कलहतर्फ बढी केन्द्रित हुने देखिएको छ।

प्रदेशका अन्य जिल्ला कञ्चनपुरमा वर्तमान सभापति हरि बोहरा, बहादुरसिंह थापा, गोपाल गुरुङ, पदम बोगटीलगायतको नाम चर्चामा छ। कञ्चनपुरमा देउवा प्यानलमै केन्द्रीय सदस्य रमेश लेखक र एनपी साउदका प्रतिनिधिबीच प्रतिस्पर्धा हुने गरेको छ।

उता देउवा प्यानलको न्यून उपस्थिति रहेको दार्चुलामा वर्तमान सभापति ललितसिंह बोहरा, विक्रम धामी, पूर्व सभापति जगदीश पाल, उपसभापति अमर धामी, सचिव हर्क विष्टलगायतको चर्चा छ।

बाजुरामा मनबहादुर रावल, कविराज पण्डित, प्रेमबहादुर शाही, रामसिंह रावललगायत चर्चामा रहँदा बैतडीमा वर्तमान सभापति नरेन्द्रसिंह थापा, सचिव वीरबहादुर विष्ट, चतुरबहादुर चन्द बझाङमा वर्तमान सभापति हर्कजंग बहादुर सिंह, पृथ्वीबहादुर सिंह, देवराज शर्मा, जगत जोशी, चेतराज बजाललगायतको चर्चा छ।

डोटीमा वर्तमान सभापति प्रदीप देउवा, नेताहरू सीताराम जोशी, रामप्रसाद उपाध्यक्ष, भूमिराज बडु, दीपक विष्टलगायतको चर्चा छ। अछाममा वर्तमान सभापति भरतकुमार स्वार, नेताहरू मेघराज खड्का, पुष्पबहादुर शाह, गणेशबहादुर विष्ट, रामबहादुर विष्टलगायत चर्चामा छन्। त्यस्तै ध्वजबहादुर कुँवर,टीकाराम खनाल, बलबहादुर कुँवरलगायतको पनि चर्चा छ।

कांग्रेसको गाउँ/नगर वडा अधिवेशन साउन १२ गते, गाउँपालिका/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन २० गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन साउन २३ र २६ गते, प्रदेश अधिवेशन भदौ १ र २ गते हुनेछ। केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell