PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बाढीले बगर बनेको मेलम्ची हेर्न २६ दिनपछि बल्ल पुग्दै प्रधानमन्त्री ओली, हेलम्बु पनि जाने



बाढीले बगर बनेको मेलम्ची हेर्न २६ दिनपछि बल्ल पुग्दै प्रधानमन्त्री ओली, हेलम्बु पनि जाने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज बाढीग्रस्त क्षेत्र मेलम्ची जाँदै छन्। असार १ गते भ्रेमाथाङ पहिरोका कारण मेलम्ची नदीमा लेदोसहितको पहिरो आएपछि उक्त हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा ठुलो क्षति पुगेको थियो।

बाढीग्रस्त क्षेत्रमा हेलिमार्फत प्रधानमन्त्री ओली आउने पक्का भएको मेलम्चीका मेयर डम्बर अर्यालले जानकारी थिए। '१० बजे आउनुहुने कार्यक्रम तय भएको छ,' मेयर अर्यालले भने।

प्रधानमन्त्री ओलीका साथमा खानेपानीमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका भौतिकमन्त्री वसन्त नेम्वाङ, पूर्वमन्त्री शेरबहादुर तामाङ पनि उक्त टोलीमा जाँदैछन्।

ओलीको टोली मेलम्चीबाट हेलम्बुमासमेत जाने बताइएको छ। हेलम्बुको गणेशबगरमा प्रधानमन्त्री ओलीले पीडितसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री कुनै ठोस राहत योजना लिएर मेलम्ची आउन लागेका हुन्? जवाफमा मेयर अर्यालले भने, 'यसबारे केही थाह छैन।'

राजधानी नजिकै रहेको मेलम्ची क्षेत्रमा सरकार प्रमुख समेत रहेका ओली नपुग्दा उनको चर्को आलोचना भएको थियो। असार १८ गते वाग्मती प्रदेश सभामा त्यस क्षेत्रका कांग्रेस सांसद निमा लामाले मेलम्ची बाढीमा प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यानाकर्षणसमेत गराएका थिए। 'मेलम्ची बाढीले सरकारमाथि प्रश्नै प्रश्न उब्जिएको छ। राजधानीको तिर्खा मेटाउने मेलम्चीको पीडामा छेवैमा भएको सरकार प्रमुखले वास्ता नगर्दा लाजमर्दो स्थिति पैदा भएको,' लामाले भनेका थिए, 'पानीका लागि तीन हात उफ्रेर हिँड्ने प्रधानमन्त्री केपी शर्मा ओलीले यो दुखमा नाकमुख नदेखाएकोमा आक्रोश व्यक्त गरेका थिए। यो देशकै लागि लज्जास्पद विषय हैन?' यहाँका स्थानीय जनप्रतिनिधि आफ्नो पक्षको नभएकोले ओलीले यस क्षेत्रमा ध्यान नदिएको उनको आरोप थियो।

‘हेलम्बुको स्थानीय सरकार कांग्रेसको र मेलम्ची र पाँचपोखरीको स्थानीय सरकार माधव नेपाल पक्षकै भएको कारण न त प्रधानमन्त्री केपी शर्मा ओलीको प्राथमिकता पर्‍यो न त वाग्मती प्रदेश सरकारको,’ उनले भनेका थिए।

त्यस क्षेत्रमा प्रधानमन्त्री जाने खबर आफूले सुनेको लामाले बताए। 'प्रधानमन्त्री जाने भन्ने कुरा सुनियो। यति दिनपछि केका लागि जान लाग्नुभएको होला?' लामाले प्रश्न गरे। आफू भने प्रदेश सभा बैठकका लागि हेटौंडामा रहेको उनले बताए।

प्रधानमन्त्री त्यस क्षेत्रमा पुग्दा मेलम्ची खानेपानी आयोजनाले गरेको मुल्यांकनबारे बुझ्नुपर्ने उनको तर्क छ। त्यसैगरी उनले दुई स्थानीय तह हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई सडक मार्ग जोड्ने कनेक्टिभिटीका लागि प्रधानमन्त्रीले ध्यान दिन आग्रह गरे।

लामाले भने, 'मेलम्चीजस्तो योजनाको इआइए नै गलत छ कि भन्ने छ। किनभने यति धेरै लगानी गरेको ठाउँमा वातावरणीय मुल्यांकन सही तरिकाले गरेको भए यस्तो बाढीपहिरोबारे पहिल्यै थाह हुने रहेछ। यसमा गलत रिपोर्ट देखाएर आयोजना पास गरेको शंका छ।'

मेलम्ची आयोजनामा लगानी भएको ३ प्रतिशतमात्र क्षतिग्रस्त क्षेत्रमा दिने भए मेलम्ची र हेलम्बु  उठ्ने उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell