PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

लन्डनमा 'पेपो'ले पूरा गर्लान् त आफ्ना बुवा किएजाको अधुरो सपना?



मुकुन्द घिमिरे

लन्डनमा 'पेपो'ले पूरा गर्लान् त आफ्ना बुवा किएजाको अधुरो सपना?
फोटो : UEFA/Getty Images

युरो कप २०२० को फाइनलमा इटाली र इङ्ग्ल्याण्ड आइतवार राति लण्डनस्थित वेम्बली स्टेडियममा आमनेसामने हुँदैछन्। पहिलो पटक युरो कपको फाइनलमा पुगेको इङ्ग्ल्याण्ड र एक पटकको विजेता रहिसकेको इटाली दुवैको लक्ष्य हो : उपाधि।

बलिया प्रतिद्वन्द्वीलाई पन्छाउँदै फाइनल पुगेका दुवै टोलीमा केही यस्ता सक्षम खेलाडी छन् जसले खेलको 'मोमेन्टम'लाई कुनै पनि बेला आफ्नो पक्षमा ढाल्ने सामर्थ्य राख्छन्। 

यसअघिका २७ खेलहरुमा इटालीले इङ्ग्ल्याण्डविरुद्ध ११ जित निकालेको छ। पछिल्लो पटक इङ्ग्ल्याण्ड र इटाली २०१८ को प्रि वर्ल्डकप फ्रेन्डलीमा वेम्बली स्टेडियममै भिडेका थिए। इटाली रसिया विश्पकपमा क्वालिफाइ नै हुन सकेन। तर अहिले इटालीको लय बदलिएको छ। लगातार ३३ खेलमा अपराजित रहँदै इटालीले विश्वकपमा क्वालिफाइ हुन नसकेको दाग मेटाउन प्रयास गरिरहेको छ। सबैभन्दा लामो अपराजित यात्रामा ब्राजिल र स्पेनसँगको कीर्तिमान (३५ खेल) बराबरी गर्न चाहन्छ।

बराबरीसँगै आगामी खेलहरु समेत अपराजित रहँदै जित्ने योजनामा छ इटाली। उक्त योजनामा इटालीलाई सफल बनाउन महत्वपूर्ण भूमिका देखिँदैछन् फेडेरिको किएजा।

+++

कुरा मंगलवार रातिको हो। युरो कपको पहिलो सेमिफाइनलमा इटाली र स्पेनबिच घमासान सेमिफाइनल चलिरहेको थियो। 'टिकिटाका' फुटबल खेल्ने स्पेनको विशेषता नै हो स्पेनको। 'टिकिटाका' अर्थात अधिकांश समय बल आफ्नो नियन्त्रणमा राख्ने युक्ति।

त्यही रणनीतिले इटालीविरुद्ध पनि ७१ प्रतिशत समय स्पेनले बल पोजिसन आफ्नो पक्षमा राखेको थियो। यस्तोमा दबावमा परेको इटालीका लागि उद्धारदाता भएर उदाएका थिए फेडेरिको किएजा। उनले खेलको ६० औं मिनेटमा सिरो इमोबिलको पासमा गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए।

इटलियन क्लब युभेन्टसका खेलाडी उनी त्यसअघि अन्तिम १६ को खेलमा दोस्रो रोजाइको खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए। अझ भनौ अन्तिम १६ को खेलमा पनि अस्ट्रियासँग उनैले इटालीको उद्धार गरेका थिए। खेलको ८४ औं मिनेटमा डोमेनिको बेरर्डीको स्थानमा मैदान प्रवेश गरेका उनले गोलरहित बराबरीमा निर्धारित समय सकिएको खेलको अतिरिक्त समयमा इटालीलाई अग्रता दिलाएका थिए। उनको गोलसँगै खेल तात्यो। लगत्तै खेलमा दुवै टोलीले एक-एक गोल थपे। इटाली विजयी भयो र क्वाटरफाइनलमामा स्थान सुरक्षित गर्न सक्यो। क्वाटरफाइनलमा बेल्जियमलाई हराएको इटालीले सेमिफाइनलमा पनि उनै किएजाको गोलमा इटालीले अग्रता बनायो र पेनाल्टी सुटआउटमा खेल पनि जित्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो।

पछिल्ला तीनमध्ये दुई खेलमा गोल गर्न सफल बनेका उनी अस्ट्रियासँगको खेल अघिका दुई खेलमा पहिलो रोजाइमा परेका थिएनन्। इटाली क्वालिफाइ भइसकेपछिको समूहको अन्तिम खेलमा पहिलो रोजाइमा परेका थिए।

बुवाको बाटो पछ्याउँदै किएजा

अस्ट्रियाविरुद्ध पहिलो गोल गर्दैगर्दा किएजा आफ्नो बुवा एनरिको किएजाको बाटो पछ्याउँदै थिए। उनका बुवाले सन् १९९६ को युरो कपमा इटालीका लागि गोल गर्दै महत्वपूर्ण भूमिका खेलेका थिए। अब उनीहरु युरो कपमा गोल गर्ने पहिलो बुवा छोरा भएका छन्।

सन् १९९६ मा साम्पडोरियाका उनका बुवा इन्रिको किएजाले इटालीका लागि चेक रिपब्लिकविरुद्ध लिभरपुलमा गोल गरेका थिए। इटालीबाट २२ क्याप जितेका उनको त्यो सात गोलमध्येको एक थियो। फेडेरिको किएजा पनि युभेन्टससँग अनुबन्धित हुनुअघि फिओरेन्टेनियाबाटै करियरलाई दिशा दिएका थिए। जहाँ उनका बुवाले वर्षौं फुटबल खेलेका थिए।

पछिल्लो सिजनमा युभेन्टसका लागि उनले ४३ खेल खेल्दै १४ गोल गरेका थिए।

इङल्याण्डका प्रशिक्षक र किएजाको त्यो नोकझोक

फाइनलमा पुगेको इङ्ग्ल्याण्डका अहिलेका प्रशिक्षक गेरेथ साउथगेट सन् १९९७ ताको इङ्ग्ल्याण्डबाट फुटबल खेल्थे। त्यतिबेला किएजा इटालीबाट। त्यतिबेला रोममा भएको एउटा खेलमा इनरिको र साउथगेट आमनेसामने भएका थिए। खेलको क्रममा इनरिक किएजामाथि साउथगेटले खराब ट्याकल गरेर लडाउँछन् र किएजा उठेर साउथगेटलाई ठेलेर लडाइदिन्छन्। र, रेफ्रीले दुवैलाई पहेँलो कार्ड देखाउँछन्। यो खेलको दुई हप्तापछि फेडेरिको किएजा जन्मिएका थिए। र, तिनै इनरिक किएजाका छोरा फेडेरिको किएजा साउथ गेटका लागि फाइनलमा थ्रेट बन्दैछन्।

युरो कपको फाइनलमा प्रवेश गरेसँगै किएजाले फाइनल खेलका लागि प्रतिस्पर्धी को होला भन्ने भन्दा पनि आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने प्रतिकृया दिएका थिए।

'हामीले यो फाइनलमा पनि आफुमा केन्द्रित हुन आवश्यक छ, जसरी हामी यो प्रतियोगितामा गरिरहेका छौं। त्यसले नै हामीलाई यहाँसम्म ल्याएको हो।' उनले भनेका छन्।  

बच्चैदेखि फुटबलर

सन् १९९७ इटालीको उत्तरी क्षेत्रमा जन्मिएका उनको उपनाम हो: पेपो। इटालीको फ्लोरेन्स शहरमा दिदी एड्रिआना र भाइ लोरेन्जोसँग उनी हुर्किए। बाल्यकालमा नै उनले फुटबल खेल्न सुरु गरेका थिए।

फुटबलमा उनको पृष्ठभूमिको चर्चा गर्दा सायद यहाँ डीएनएको चर्चा सुरु हुन सक्छ किनभने उनका बुवा तत्कालिन समयका चर्चित फुटबलर थिए। उनको फुटबल प्रतिको लगाव एक त 'हेरिडिटरी' थियो भने उनको 'प्यासन'लाई मलजल गरिरहेका थिए उनका बुवा एनरिको किएजाले। र, उनकी आमा उनको बुवाको फुटबल कौशलको फ्यान थिइन्। त्यसैले त उनलाई पनि फुटबलमा आउन कठिन भएन।

विद्यालयमा पढ्न सुरु गरेसँगै उनले स्थानीय क्लब यूएस सेटिङननेसमा फुटबलको ट्रेनिङ थालिहाले। उनले स्थानीय क्लबबाट खेल्दै गर्दा उनका अभिभावकले उनलाई इन्टरनेसनल स्कुल अफ फ्लोरेन्समा पठाए जुन युरोपकै पुरानो इन्टरनेसनल स्कुल मध्येको एक थियो। त्यहीबाट फुटबलमा करियर बन्ने छाँटकाँट बन्न थाल्यो। फ्लोरेन्टिनाबाट करियर सुरु गरेका उनले सन् २०२० मा युभेन्टसमा आबद्ध भए। देशका लागि सन् २०१७ मा यू २१ बाट र २०१८ मा सिनियर टीमबाट डेब्यु गरे।

बाल्यकालदेखि बुट लगाएर फुटबलको पछि कुदेका किएजा अहिले बेलायती भूमिमा घरेलु टोलीलाई नै पराजित गरेर आफ्नो बुवाले पूरा गर्न नसकेको सपना पूरा गर्न चाहन्छन्। त्‍यो हो - युरो वितेजा बन्ने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell